छिमेकीसँग रहेका मतभिन्नता उपयुक्तस्तरमा वार्ताद्वारा अन्त्य गर्नुपर्छ : नेपाल

भदौ १९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुख माधवकुमार नेपालले छिमेकी मुलुकसँग रहेका मतभिन्नता उपयुक्त तहमा लगेर शान्तिपूर्ण तवरले अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल इस्टिच्युट्स अफ इन्टरनेशनल रिलेशन्स (एनआइआइआर) र चाइना सेन्टर फर साउथ एशियन स्टडिज, सिचुहान युनिभर्सिटीको संयुक्त आयोजनामा आज यहाँ भएको वेबिनारमा उहाँले भारत वा चीन दुवै छिमेकी मुलुकसँग कुनै विषयमा फरक मत देखिए पनि तथ्यका आधारमा वार्तामार्फत समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्री नेपालले पञ्चशीलका सिद्धान्तमा सबैसँग सुसम्बन्ध राख्ने र असंलग्न अभियानको शुरुआत गर्ने मुलुक भएकाले सोहीअनुसार अगाडि बढ्ने र कुनै पनि देशबीचको द्वन्द्वमा सहभागी नहुने बताउनुभयो । नेपाल शान्तिका लागि निरन्तर पहल गर्ने र कहीँ कतै द्वन्द्व भए वा देखिएमा त्यसलाई वार्ताका माध्यमबाट शान्तिपूर्ण तवरले समाधान गर्न चाहने उल्लेख गर्दै उहाँले आफ्नो देशको असंलग्नताको सिद्धान्तलाई निरन्तरता दिइने स्पष्ट पार्नुभयो । असल सम्बन्धको प्रवद्र्धन र सहकार्यका लागि निरन्तर प्रयास गर्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले विशेष गरी छिमेकी मुलुकले पनि सहकार्यबाट अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

तुलनात्मक लाभका क्षेत्रका केन्द्रित गरेर पर्यटन, कृषि र जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी प्रवद्र्धन गरेर नेपाल अगाडि बढ्न चाहेको उल्लेख गर्दै उहाँले त्यसका लागि उच्चतम प्रविधि प्रयोग गरेर अगाडि बढ्न चाहेको बताउनुभयो । नेता नेपालले भारत र चीनसँग फलदायी सहकार्य गरेर अगाडि बढ्न चाहेको उल्लेख गर्दै त्यसका लागि दुवै देशको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल–भारत सम्बन्धमा विभिन्न तहमा विभिन्न तर्क हुने गरेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धमा जिम्मेवार भएर लेख्न र आफ्ना विचार प्रवाह गर्न आग्रह गर्नुभयो ।

चीनको इस्टिच्युसन फर साउथ एशिया स्टडिजका निर्देशक प्रा डा हु सिसाङले चीन, नेपाल र भारतबीच सहकार्य हुनुपर्नेमा जोड दिँदै त्यसका लागि द्विपक्षीय विषयलाई तेस्रो पक्षले सहयोग गर्नुपर्ने बताउनुभयो । ट्रान्स–हिमालय मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्कको प्रभावकारिता र चीन–भारतबीचको सम्बन्धले पनि नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले आगामी दिनमा नेपालको दक्षिण एशियामा महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्नुभयो । भारतको सिक्किम विश्वविद्यालयका उपकुलपति प्रा डा महेन्द्रपी लामाले नेपाल–भारतबीचको सम्बन्धमा सबल पक्ष रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्ध चाँडै सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

‘साँप पनि मरोस्, लौरो पनि नभाँचियोस्’ भन्ने अर्थमा नेपालको कूटनीति अगाडि बढ्नुपर्ने बताउँदै उहाँले सन्तुलित कूटनीति अपनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । लामाले भारत–चीनले नेपालमा वर्षौँदेखि काम गरिरहेको उल्लेख गर्दै यस अर्थमा कुनै पनि द्वन्द्व नरहेको बताउनुभयो । वेबिनारका अध्यक्ष तथा सिचुहान युनिभर्सिटीका कोअर्डिनेटर प्रा डा हुवान युसङ र एनआइआइआरका उपाध्यक्ष युवराज चौलागाईँले चीन र भारतबीच सुसम्बन्ध हुँदा नेपालसहित दक्षिण एशियाकै समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.