नयाँ राष्ट्रकविको खोजी

राष्ट्रकवि माधव घिमिरको तेह्रौँ पुण्यतिथिका अवसरमा आयोजित भानुप्रतिष्ठानको शोकसभामा साहित्यकार रमेश शुभेच्छुद्वारा घिमिरे विषयक दिएको श्रद्धाञ्जली मन्तव्य

रमेश शुभेच्छु समकालीन पुस्ताका सक्रिय स्रष्टा एवम् द्रष्टा हुन् । उनको कलम समीक्षा र सिर्जनाका क्षेत्रमा समानान्तर ढंगले चलिरहेको छ । आज राष्ट्रकवि माधव घिमिरको तेह्रौँ पुण्यतिथिका अवसरमा उनले भानुप्रतिष्ठानको शोकसभामा दिएको घिमिरे विषयक श्रद्धाञ्जली मन्तव्यलाई यहाँ आंशिक सम्पादन गरी प्रस्तुत गरिएको छ । सम्पा.

कार्यक्रमका अध्यक्ष एवम् भानु प्रतिष्ठानका अध्यक्ष डा. ब्रतराज आचार्यज्यू,
आदरणीय कोशराज न्यौपानेज्यू, कवि नवराज लम्साल ज्यू,
प्रतिष्ठानका उपाध्यक्ष प्रल्हाद पोखरेल ज्यू,
महासचिव डी.पी अर्याल ज्यू,
कवि प्रभा भट्टराईज्यू एवम् संस्थाका सहस्यहरु,
सहभागी कवि एवम् भानुप्रतिष्ठानका र माधव घिमिरेका पनि सुभचिन्तक बन्धुहरु
सबैमा हार्दिक न्यानो अभिवादन ।

आज राष्ट्रकवि माधव घिमिरेको तेह्रौँ पुण्यतिथि । अग्रजको पुण्यतिथिमा भानु प्रतिष्ठानले श्रद्धाञ्जली सभा गरेर राम्रो काम गरेको छ । उहाँ यस संस्थाका सल्लाहकार र संरक्षक हुनुहुन्थ्यो । यस संस्थाले गठन गरेको आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक मूल समारोह समितिका अध्यक्ष हुनुहुन्थ्यो । उहाँलाई उहाँको साहित्यिक सांस्कृतिक योगदानको कदर स्वरुप गत वर्ष समभिनन्दन पनि यसै संस्थाबाट गरिएको थियो । आज उहाँलाई हामीले सम्झनै पथ्र्यो । सम्झियौँ । घिमिरे नेपाली काव्यफाँटका धरोहर हुनुहुन्थ्यो । घिमिरेको निधनबाट यस संस्थाका साथै सिङ्गो राष्ट्र, नेपाली जाति र साहित्य जगत्मा अपूरणीय क्षति भएको छ । त्यस क्षतिलाई पनि सम्झँदै यस समारोहमा सर्वप्रथम तः घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली ।

मलाई महासचिवज्यूले राष्ट्रकविबारे बोल्नुपर्छ है भनेपछि म केही तयारीमा लागेँ । उहाँका विषयमा के बोल्ने भन्ने सोचमा परेँ । मैले उहाँको निधन भएकै दिन र पछि पनि केही लेखेर अभिव्यक्ति दिइसकेको छु । आज बोल्नुपर्छ भनेपछि मैले अरुले नबोलेको पक्ष बोल्नुपर्छ भन्ने लाग्यो । यो मेरा गुरु ब्रतराज आचार्यले दिएको जिम्मेदारी पनि हो । म निकैबेर यो बोल्ने विषयमा भौतारिएँ पनि । अन्ततः आज मैले बोल्ने विषयलाई मोटामोटी तीनवटा बुँदामा समेटेको छु ? ती बुँदाहरू हुन्ः

  •  घिमिरेको जीवन संघर्षका अभिप्रेरक पक्ष,
  • राष्ट्रकवि उपाधिको पात्रता र
  • घिमिरेको गद्यकारितामा ।

मैले बोल्नका लागि केन्द्रित गरेका बुँदाको विषय केही नौलो हुन्छ भन्ने मेरो विश्वास हो । यहाँहरूलाई पनि केही नौलो अवश्य लाग्ने छ ।

पहिलो पक्षः  घिमिरेको जीवन संघर्ष र अभिप्रेरक पाटो
पश्चिम नेपाल, गण्डकी अञ्चल, लमजुङ जिल्लाको पुस्तुनमा वि.सं. १९७६ असोज ७ गते मङ्गलबार, औँसीका दिन जन्मनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा २ भाद्र (०७७) कुसे औँसीको अघिल्लो दिन काठमाडौँमा देहावसान भयो । उहाँको जन्म र मृत्युका यी दुईटा औँसीका बिचको चन्द्रमासलाई खोज्यो भने उहाँ दुई सय वर्ष पुगेर बित्नुभयो भन्ने लाग्छ । यो पक्षको खोजी त्योतिषीहरूले गर्लान् । कोशराज सरहरूले यसको विमर्श गर्न सक्नुहुन्छ । उहाँ एक सय दुई वर्षे उमेर बाँच्ने नेपाली साहित्य परम्पराका जैविक रुपमा र सिर्जनामा पनि दृर्घजीवी स्रष्टा हुनुहुन्छ । एक त सिर्जनाले मानिसको जीवनलाई दीर्घजीवी र कुण्ठामुक्त बनाउँछ भन्ने प्रमाण हुनुहुन्छ घिमिरेज्यू ।
घिमिरेको जीवनलाई हे¥यो भने, उहाँकै कविता कालीगण्डकीको शालिग्रमा जस्तै देखिनु हुन्छ । अनेक सुखदुःख र घामपानीका भोक्ता देखिनुहुन्छ । उहाँकै पापिनीआमा काव्यको अंशअनुसारको ढुङ्गाको कापमा उम्रिएको पिपल देखिनुहुन्छ । एउटा मानिस कसरी सफल र अमर कृतिका साथ बाँच्न सक्छ भन्ने पक्षलाई घिमिरेलाई हेर्न र सिक्न सकिन्छ ।
काल्पनिक उपन्यासभन्दा कम छैन उहाँको जीवन । बाल्यावस्था (अढाई वर्षको उमेर) मा मातृवियोगको असीम पीडा आइलाग्यो । मातृवियोगबाट खुसी खोसिएको बाल्य जीवनमा मातापिता दुवै बनेर हुर्काइरहेका पिताको माया पनि रहिरहन सकेन । बाल्यबयमै पितृवियोगको अर्को पीडा सहनु प¥यो । पितृवियोगको पीडा पनि बाल्यवस्थामै आइप¥यो । युवावस्था (२८ वर्षको उमेर) मा पत्नीवियोग सहनु प¥यो । संघर्षपूर्ण पढाई, विभिन्न ठाउँको शिक्षक, प्राध्यापक, सम्पादकलगायत बहुमुखी जागिर आदि हुँदै चलेको जीवन, विभिन्न ठाउँको बसाइँ र डेरासराइको आरोह अवरोहबाट उठेको प्राज्ञिक व्यक्तित्व आफैम संघर्षपूर्ण छ । आफैमा अभिप्रेरक छ ।
हाम्रो नेपाली समाज सक्ता वा पादमा हुनेहरूको विरोध गर्ने समाज हो । यो हाम्रो मात्र होइन संसारकौ स्वभाव पनि हो । घिमिरे लामो समय एकेडेमीमा रहनुभएकाले र त्यसको नेतृत्वमै रहेर काम गर्नुभएकाले उहाँका विरोधीहरू अवश्य छन् । मलाई लाग्दैन उहाँले ती पदमा रहेर पदको दुरुपयोग गर्नुभयो । मलाई लाग्दैन उहाँले ः स्वार्थबस कोही अयोग्यलाई योग्य बनाउनुभयो । जति कोणबाट हेरे पनि यस्तो कमजोर व्यक्तित्व उहाँमा थियो भन्ने लाग्दैन । उहाँले जहाँ रहँदा पनि संस्था, समाज र राष्ट्रका लागि नै काम गर्नुभयो भन्ने लाग्छ । बरु उहाँले नै कालकुट पिइ पिइ बाँच्नु प¥यो भन्ने पक्ष उहाँका जीवनका घटनाहरूमा भेटिन्छन् ।
घिमिरेले नेतृत्व गरेका बेलाको एकेडेमी संयुक्त एकेडेमी थियो । सबै कलाकार, लेखक, वैज्ञानिक, इतिहासकार, दार्शनिकको साझा एकेडेमी थियो । त्यस साझा संस्थाका स्थापनादेखि सेवा गर्दे चार दशकपछि उपकुलपति हुँदै कुलपति हुनु कुनै ठुलो कुरा होइन । चार दशक त उहाँले एकेडेमीमा मात्र सक्रिय रहेर यस मुलुकको प्राज्ञिक सेवा गर्नुभएकोछ । त्यस सेवाको कदर आजीवन सदस्यका रुपमा हुनु, उहाँलाई सम्मानित व्यक्तिका रुपमा राष्ट्रकवि मान्नु स्वाभाविक देखिन्छ । उहाँलाई हेरेर मात्र पनि हामी जस्ता नयाँ पुस्तालाई अभाव, भोक, शोक, समस्या लालोचनाबाट सिर्जनाकोे र लक्षको बाटोबाट विचलित हुनु हुँदैन भन्ने पक्ष सिक्न प्रेरणा मिल्छ । निरन्तर लागि परेर बनेको सालिग्राम जीवन अमर हुन्छ भन्ने अभिप्रेरणा मिल्छ । ढुंगाका काप कापमा पनि आफ्नो सिर्जन सामथ्र्य फुलाउनु फलाउनुपर्छ भन्ने अभिप्रेरणा मिल्छ ।

दोस्रो पक्षः राष्ट्रकविको उपाधि

राष्ट्रकवि माधव घिमिरे राष्ट्रकवि हुन थालेको यो शताब्दीको आरम्भतिरै हो । उहाँको राष्ट्रझन्डा कविता २००४ सालमै राष्ट्रिय चेतनाकै कारण पुरस्कृत भएको थियो । उहाँ पछि निरन्तर राष्ट्रिय महत्वका प्राकृतिक, सांँस्कृतिक र समाजिक विषयमा कलम चलाएर नै राष्ट्र्रकवि बन्नुभएको हो । उहाँका सयअधिक बालकवितामा नेपाली बालखेल, नेपाली संस्कृति र बहुमुखी राष्ट्रयताको स्वर छ । उहाँका पाँच दर्जन जति कविताको मूल स्वर नेपाल राष्ट्र र राष्ट्रियताका बिचमा रहेको देखिन्छ । उहाँका राष्ट्रनिर्माता, धर्तिमाता, राजेश्वरी जस्ता काव्यमा राष्ट्रीयता नै छ । हिमालपारि हिमालवारि जस्ता गीति नाटकहरू राष्ट्रीयताका गीत गाउँछन् । उहाँका किन्नरकिन्नरी गीतसङग्रहका अधिकांश रचनाहरू राष्ट्र र राष्ट्रियताका विषयसँग सम्बन्धित छन् । उहाँका गद्य रचनामा पनि देशको इतिहास, संस्कृति र समाजको बहुमुखी सुगन्ध छ । राष्ट्रकवि उहाँलाई राजाले दिएको पदवी भए पनि राष्ट्र्रप्रमुखका हैसियतले दिएको पदवीबारे आज आएर विवाद गरिनु कत्ति पनि सान्दर्भिक छैन । मैले श्यामलको एउटा सन्तुलित लेख पढेको थिएँ । त्यस्तै राजकुमार बानियाँको अर्को सन्तुलित लेख पढेको थिएँ । उहाँको पात्रता त्यस समयसम्म सही थियो । त्यो पनि उहाँले पचहत्तर वर्षको ज्येष्ठ उमेर र श्रेष्ठ चेतनाका लागि प्रदान गरिएको थियो ।

विश्व सन्दर्भमा हेर्दा राष्ट्रकविलाई विश्वकविसमेत मानिएको देखियो । कुनै कविलाई राष्ट्र्रले उच्चतम आदर नगरुन्जेल अरु मुलुकका लेखक कवि, समीक्षक, इतिहासकार आदिले खोजीनीति पनि गर्दा रहेनछन् । कतिपय मुलुकमा राष्ट्रकवि र महाकवि पदवीलाई पर्यायवाचीका रुपमा प्रयोग गरेको पनि पाइयो । एउटै मुलुकमा एकभन्दा कढी कविहरू राष्ट्रकवि भएको पनि पाइयो । अब यो बहस र प्रयोग नेपालमा पनि हुन आवश्यक छ ।

विश्वकविको पहिलो सर्त नै राष्ट्रकवि हुनु हो भन्ने मत र प्रयोग पनि अभ्यासमा रहेको पाइएको छ । राष्ट्रकवि घोषित भएपछि नै कुनै विशिष्ट कविलाई अन्तराष्ट्रिय जगत्ले खोजी र अध्ययन, विश्लेषण गर्न थाल्ने गरेको पाइयो । यस अर्थमा राष्ट्रकविको घोषणा गर्नुलाई आफ्नो भाषासाहित्य र प्रतिभाको अन्तराष्ट्रीयकरण गर्नु पनि देखिन्छ । जसले राष्ट्रभित्रको अन्तर्राष्ट्रिय तत्वलाई वाणी दिएको दिन्छ । यस दृष्टिले तत्कालीराजा ज्ञानेन्द्रको नभई गीतकार जी शाहको कवि व्यक्तित्वको चेतना राष्ट्रले पायो भन्नु उपयुक्त हुन्छ बरु । राष्ट्रिय मुद्धा र सांस्कृतिक मुद्धामा हामीले छाती फराकिलो बनाउन पनि सक्नुपर्छ । कणतान्त्रिक मुलुकले यस चेतनालाई अझ विस्तारित बनाएर लैजान सक्नुपर्छ जस्तो लाग्छ ।

हामीले उदारहण खोज्न टाढा गइरहनु पर्दैन । भारतमा जातीय र भाषिक समुदायको ऐतिहासिक साझा व्यक्तित्वका रुपमा राष्ट्रकवि मानिएको देखिन्छ । शब्दकोश पल्टाउँदा राष्ट्रकवि शब्दका नेसनल पोयट, महाकवि (ग्रेट पोएट) र पोयट लरेट समानार्थी पदहरू फेला पर्छन् । सूक्ष्म दृष्टिले हेर्दा ‘राष्ट्रकवि र ‘पोयट लरेट’ मा केही फरक पक्ष पनि भेटिन्छन् । जस्तो कि ‘राष्ट्रकवि पोयट लरेट हुने नै भए तर सबै पोयट लरेटले राष्ट्रकवि बन्ने सामथ्र्य राख्दैनन् ।’ महाकाव्य लेख्ने कवि पनि पोइट लरेट नहुन सक्छन् र नलेख्ने पनि सम्पेष्यता र गुणवत्ताका आधारमा पोयट लरेट हुन सक्छन् । नेपालमा पोयट लरेट देवकोटाको एकल पदवी भयो ।

तिमेकी मुलुक भारतमा अहिलेसम्म आठ जना कविले राष्ट्रकविको पदवी पाएका छन् । उनीहरू सुब्रमण्य भारती, एम गोविन्दा पै, मैथिलीशरण गुप्त, रामधारी सिंह दिनकर, कुवेम्पु, कवि प्रदीप, हरिवंश राय वच्चन र जीएस शिवरुद्रप्पा हुन् । भारत धेरै ठुलो भाषाभाषीको देश हो । यस मुलुकका पहिलो राष्ट्रकवि सुव्रमण्य भारती तलिमभाषी स्रष्टा थिए । भारतीय हिन्दी प्राध्यापक सत्यप्रकाश तिवारीका अनुसार कन्नड कवि शिपरुद्रप्पाको मृत्यु भएपछि राष्ट्रकविका रपमा कुनै कविलाई पनि घोषित गरिएको छैन । यस अर्थमा सन् २०१३ देखि भारतमा कसैलाई राष्ट्रकवि घोषणा गरिएको छैन । कर्णाटक सरकारले उनलाई सन् २००६ मा राष्ट्रकवि पदवी दिएको थियो । पछि त्यो पदवी पाउने कविको अभाव देखियो वा के भयो भन्न सकिने अवस्था छैन । यो शून्यता भारतको सांस्कृतिक विकासको शून्यता पनि हुन सक्छ ।

पोयट लरेट र नेसनल पोयटको अन्तर हामी भारतमा विशिष्ट साहित्यकारलाई दिएका उपाधिबाट पनि बुझ्न सक्छौँ । उनीहरू बाल्मीकि, वेदव्यास, कालिदास, तुलसीदास, रवीन्द्रनाथ टैगोर आदिलाई महाकवि मान्छन् । उनीहरूलाई अङ्ग्रेजीमा अनुवाद गर्दा पोइट लरेट भनेको पाइन्छ । उनीहरू विश्वकवि पनि हुन् र भारतवर्षका गौरवपूर्ण कवि पनि हुन् । उनीहरू देवनारी लिपिका साझा कवि पनि हुन् उनीहरूलाई राष्ट्रकवि भनेको देखिएन । राष्ट्रकवि नभनिए पनि उनीहरू विश्वकविका रुपमा पूज्य छन् ।

मेरो छोटो अध्ययनका आधारमा रुमी अफगानिस्तानका राष्ट्रकवि हुन् । उनी त्यस मुलुकका राष्ट्रकवि भएकले विश्वले चासो लिएर पढ्छ । हाम्रो अर्को छिमेकी मुलुक बंगलादेशका राष्ट्रकवि काजी नजरुल इस्लाम हुन् ।  नेपाली कवि मदन रेग्मीका अनुसार चिनियाँहरू आफ्ना कविहरूमध्ये डुफु, लिबेइ, लु सुनलाई राष्ट्रकवि मान्छन् । कवि रुमी अफगानिस्तानका राष्ट्रकवि हुन्,।  अर्को छिमेकी मुलुक बङ्गलादेशका कविमध्ये काजी नजरुल इस्लाम राष्ट्रकवि हुन् ।  एसियाली मुलुकहरूमध्ये जापानमा मात्सुओ बासो, कोइजुमी याकुमो र मुरासाकी शिकिबु राष्ट्रकवि हुन् ।  अलि परका उदाहरण खोज्दा लेबनानमा खलिल ज्रिबान, सइद अकललाई राष्ट्रकविका रुपमा आदर गरेको पाइन्छ । उनीहरू विश्व कविका रुपमा पनि चिनिन्छन् ।
हामी अंग्रेजी साहित्य पढ्दा बेलायतका जेफ्री चौसर, विलि यम ब्लेक, विलियम सेक्सपियर विलियम वर्डस्वर्थ र कलरिजलाई राष्ट्रकविका रुपमा पढ्छौँ  अमेरिकाका वाल्ट ह्विटम्यान, इमिली डिकिन्सन, रोबर्ट फ्रस्ट, ल्याङ्स्टन ह्युज, माया एन्जेलु राष्ट्रकविका रुपमा पढ्छौँ ।  फ्रान्सको इतिहासमा कवि र आख्यानकारसमेत राष्ट्रकविका रुपमा सम्मानित छन् । त्यहाँका भिक्टर ह्युगो, चार्लस बोद्लेयर राष्ट्रकविका रुपमा सम्मानित छन् । उनीहरू विश्वप्रसिद्ध साहित्यकारका रुपमा पनि देखापर्छन् ।

मेरो सीमित अध्ययनले भेटिएका यी केही सीमित देश र भाषाका राष्ट्रकविका इतिहासका आधारमा हेर्दा अघोषित रुपमै नेपालका भानुभक्त, देवकोटा, लेखनाथ, सम आदि पोयट लरेटका उचाइका कवि देखिन्छन् । हामीले आजसम्म भानुभक्त र देवकोटालाई विश्व कविका रुपमा चिनाउन सकेका थियौँ । अब राष्ट्रकविको उपाधिले नेपालको राष्ट्रकविका साथै विश्वकविका रुपमा विस्तार भएको जस्तो लाग्छ । मेरो यो अभिव्यक्तिका विषयमा मेरै साथीहरूले प्रश्न पनि उठाउन सक्नुहुन्छ । उहाँहरू घिमिरे र इच्छुकलाई तुलना पनि गरिरहनुभएको छ तर यहाँ बुझ्नु पर्नेकुरा के छ भने राष्ट्रकविको उचाइदिन मिल्ने माधव घिमिरे जतिको अर्को कवि पात्र हामीसँग को थियो ? आज अर्को कविलाई घोषित गर्ने हो भने को छ ? यी प्रश्न निकै पेचिला छन् । यो विषयमा आधिकारिक विश्वविद्यालयका प्राध्यापकहरू, एकेडेमीका प्राज्ञहरू बोल्नुपर्ने बेला पो आएको छ ।
मैले अघि भनेँ घिमिरेलाई कसैले दिएर मात्र उहाँ राष्ट्रकवि बन्नुभएको होइन । घिमिरे २००४ सालमा पुरस्कृत राष्ट्रिय झन्डा कवितादेखि विकसित हुँदै आएर छ दशक लामो थप अथक निस्वार्थ साधना र समर्पणबाट राष्ट्र्रकवि बन्नुभएको हो । उहाँको राष्ट्रकवि सामथ्र्यमाथि, पात्रतामाथि आलोचना गर्नु कमजोरी हो । मलाई कवि प्रतिभा भएका साथीहरूले आलोचना गर्न सक्नुहुन्छ भन्ने लाग्दैन बरु अब माधव घिमिरे मन नपर्नेेले अर्को राष्ट्रकवि खोजी गर्नुपर्ने बला भएको छ । घिमिरेजतिकै राष्ट्रलाई केन्द्रमा राख्ने अनेक राष्ट्रगानका गायक खोजी गर्न आवश्यक छ । त्यस्तो गायक नेपाली मातृभाषी नै हुनुपर्छ भन्ने केही छैन । उसका रचना पढ्दा घिमिरेको भन्दा कम दम नहोस् बस् ।

त्यसो भयो भने अब राष्ट्रकविको पदवी पाउने कवि भेटिएपछि हिजोसम्मका राष्ट्रकविको गरिमा अझ चुलिने छ । यो पदवी महाकवि, कवि शिरोमणि आदि पदवी जस्तै सधैँभरि माधव घिमिरेकै हुन्छ या नयाँ कवि नियुक्त हुन्छ ? यो प्रश्न अब वहसमा आउने नै छ । यसका लागि सरोकारवाला निकायहरूले सोच्ने छन् । वास्तविक इतिहासकार, लेखक, प्राध्यापक, अनुसन्धाताहरू बोल्ने छन् ।  वास्तवमा नेपालीहरूलाई यस्ता सांस्कृतिक मूल्य र गरिमाको बोध कम पनि छ । हामी टोलटोलमा आइएनजिओका अफिस खोलेर मुलुकको विकास हुने चेतनामा हुुर्किएका छौ । अर्को कवि राष्ट्रकवि त बन्नुहुने छ तर अब नेपालमा घिमिरेकै उचाइका बालकदेखि वृद्धसम्मका प्रिय कवि भेटिन्छन् कि भेटिँदैनन् ? अन्य मातृभाषा भएका कविमध्ये घिमिरेलेभैm राष्ट्र्रलाई छातीमा बोकेर हिँड्ने कवि छन् कि छैनन् ? यो पक्ष अब बहसमा आउनुपर्छ । मलाई च चिन्ता छ ।

बहस भए पनि नभए पनि राष्ट्रकवि पदवी घिमिरेकै पदवी भएर रहने सम्भावना पनि छ । प्रधानमन्त्री राष्ट्रपतिका सल्लाहकारले सही सल्लाह दिन सके यो पदवी अरु कविमा सर्दै जाने सम्भावना पनि छ । त्यो सम्भावनाका लागि राज्यमा बुझ्ने मान्छे हुन आवश्यक छ । नयाँ राष्ट्रकवि नियुक्त हुँदा पनि राजयलाई भार परिहाल्ने होइन । राष्ट्रराष्ट्रकविले त्यस पदवीका लागि पाएको भक्ता पालिकाका उपप्रमुखसँग दाँज्दा पनि कम थियो । सचिवालय, सुरक्षा, यातायात खर्च केही थिएन । वरु पत्रपत्रिकाहरूले उहाँलाई निशुल्क आफ्ना प्रकाशन पु¥याइदिएर एक किसिमको सम्मान जनाएका थिए । त्यस पदवीले दिने राष्ट्रिय पहिचान भने उच्च थियो । यो विषयमा राज्यको ध्यान जाओस् । अरु अरु कवि नियुक्त भए पनि घिमिरे अमर हुनुहुन्छ र नभए पनि घिमिरे नेपालको राष्ट्रकवि र नेपाली भाषाको विश्वकविका रुपमा एसियाका रवीन्द्रनाथ ठाकुर र कालिदासका नयाँ संस्करण का रुपमा अमर नै रहनुहुनेछ । यो उहाँलाई कसैले दिएर मात्रभन्दा पनि उहाँले संघर्षबाट पाएको पदवी थियो । त्यो पदवीलाई थप आदर र अभिवादन ।

तेस्रो पाटोः घिमिरेको गद्यकारिता
घिमिरेका बारे आजसम्म जेजति अध्ययन भए, ती सबै कविता काव्य केन्द्रित देखिए । उहाँका नाटकको र गद्य लेखनको जेजति चर्चा हुनुपर्ने हो त्यति हुन सकिरहेको देखिएन । उहाँका आफ्नो बाँसुरी आफ्नै गीत (२०४९) र चारु चर्चा (२०५८) जस्ता दुई ओटा निबन्धसङ्ग्रह प्रकाशित छन् । मनचिन्ते मुरली (२०५७) आख्यानात्मक गद्य कृति पनि प्रकाशित छ । आफ्नो बाँसुरी आफ्नै गीत निबन्धसङ्ग्रहको सर्वप्रथम प्रकाशन २०३० सालमा भएको देखिन्छ ।

यसपछि २०५७ सालसम्मका निबन्धहरू चारु चर्चा (२०५८) मा सङ्कलित छन् । चारु चर्चामा भाषा, सङ्गीत, कला, दर्शन, संस्कृति जस्ता विषयका निबन्धहरू सङ्कलित छन् । उहाँले लेखेका विभिन्न कृतिका भूमिका, सम्पादकीय, अन्तर्वार्ता तथा साहित्यिक र शैक्षिक संस्था तथा सांस्कृतिक अवसरमा व्यक्त गरिएका मन्तव्यहरू पनि सङ्कलन गरिएको कुरा सङ्कलनकर्ताले यसको भूमिकामा उल्लेख गरेका छन् । यसबाहेक घिमिरेका २०५७ देखि यता लेखिएका निबन्ध पनि छन्, जस्को संकलन गरिन र प्रकाशन भएर पढ्न पाउन आवश्यक छ ।

आफ्नो बाँसुरी आफ्नै गीत’ का चार ओटा संस्करण प्रकाशन भएका आधारमा उहाँका चिन्तनका पाठक नै नभएका भने होइनन् । यस कृतिका निबन्धहरू ‘इन्द्रेनी’ र ‘कविता’ पत्रिकाका सम्पादकीय र तिनको परिमार्जित र यथा रूपमा प्रकाशित भएका छन् । यसमा जम्मा एघार ओटा निबन्धहरू सङ्कलित छन् । यी सबै निबन्ध रचनाहरू हरू आकारले छोटा छोटा छन् तर खँदिला छन् ।

आज मैले यहाँ उठाउन खोजेको कुरा माधव घिमिरे प्रखर कवि, गीतकार, गीतिनाटककार मात्रै नभई कुशल आत्मपरक र वस्तुपरक निबन्धकार, आख्यानकार र अनुवादक पनि हुनुहुन्थ्यो भन्ने कुरा बिर्सनु हुँदैन भन्ने हो । उहाँकोे पद्य लेखन जस्तै गद्य लेखन पनि सारभूत, खँदिलो, स्वादिलो, विम्बात्मक र प्रभावकारी छ । उहाँको ‘आफ्नो बाँसुरी आफ्नै गीत’ निबन्धसङ्ग्रहमा समेटिएका र अन्य निबन्धहरू विविध विषयका भए पनि ती सबैको उद्देश्य आनन्द प्राप्तितर्फ, सौन्दर्य पहिचानतर्फ र आर्यसभ्यताका मूल्य अन्वेषणतर्फ केन्द्रित छन् । यी निबन्धबाट मानव जातिमा सकारात्मक सोच र जीवनवादी, समन्वयवादी र राराष्ट्रिय चेतनाकै सन्देश दिएको पाइन्छ । घिमिरेको एउटा निबन्ध कृतिको शीर्षकको ‘आफ्नो बाँसुरी’ को तात्पर्य साहित्य लेखनको कच्चा पदार्थ हाम्रो आफ्नो देश, वातावरण,हाम्रो भोगाइ, अनुभव चेतनासँग सम्बन्धित हुनुपर्छ, हाम्रो चिन्तन हाम्रै लोक र शास्त्रीय चिन्तन निकटबाट विकसित हुनुपर्छ र हाम्रो सिर्जना पनि हाम्रै लोक र शास्त्रीय परम्परा निकटबाट हुनुपर्छ भन्ने देखिन्छ ।

घिमिरेको गद्यकारिताको विचार र विषयवस्तु उल्लेख्य छ । भाषाको प्रयोगमा पनि उहाँ कविता सिर्जनामा जतिकै सचेत देखिनुहुन्छ । प्राय गद्य रचनाका शब्दचयन, बिम्वयोजना, र प्रतीकीकरणलगायतका रुपक सामथ्र्य मौलिक र प्राञ्जल देखिन्छ । प्राय नेपाली भाषाका र नेपाली परिवेशका विषयवस्तुलाई समेटेको देखिन्छ । यी निबन्धले घिमिरेको स्रष्टा र द्रष्टाचेतनालाई बुझ्न पनि सघाएका छन् । घिमिरे दर्शनकै विद्यार्थी भएकाले पूर्वीय दर्शन, चिन्तन, नेपाली मौलिक दर्शन, साहित्य तथा नेपाली लोकसाहित्य, संस्कृति र भाषासँग सम्बन्धित विषयको छनोट गर्न मनपराउनुहुन्छ । राष्ट्रवादी र जीवनवादी सन्देश सञ्चार गरिहनुभएको हुन्छ । घिमिरेको दृष्टिकोण नै छ ः
क) “सफल साहित्यकारले ठिक ठाउँमा प्रयोग गरेका शब्द र वाक्यहरू जुनेली रातमा टल्कने पात जस्तै, निर्मल पानीमा तैरने माछा जस्तै भावमा बहिरहेका हुन्छन् । ‘साहित्यको समाधि बिलाउनको निम्ति हैन, पलाउनको निम्ति हो”(घिमिरे, २०४९, पृ.१)
ख) “शैलीको भावविना मूर्त हुँदैन, भावविनाको शैली निर्जीव हुन्छ” (घिमिरे, २०४९, पृ.२)

घिमिरेका साहित्य र विज्ञान जःता निबन्धमा फरक आध’निक चेतन पनि पाइन्छ ।  म यहाँभन्दा बढी नबोलूँ । मेरो विचार अब घिमिरेको गद्य भाषाको पनि अध्ययन विश्लेषण हुनुपर्छ । उहाँको गद्यभाषा र उहाँका विचारहरूबाट पनि नेपाली साहित्यिक जगत् नेपाली दर्शनको जगन् लाभान्वित हुनुपर्छ भन्ने मेरो दृष्टिकोण हो । यो पक्ष नाट्य विधाका क्षेत्रमा पनि छ । उहाँका सबै नाटक गीति वा काव्य नाटक हुन् । तिनको मञ्चन र अध्ययन विश्लेषण हुनुपर्छ भन्ने लाग्छ ।  घिमिरे आफ्ना जीवनमा सबैभन्दा सम्मानित र प्रतिष्ठित कवि पनि हुनुहुन्थ्यो । उहाँले प्राय उच्च प्रतिष्ठापूर्ण पुरस्कार पाइसक्नुभएको थियो । उहाँका नामममा जीवन कालमा पनि केही पुरस्कार प्रकाशन भएका छन् । राज्यले पनि उहाँका नाममा देवकोटा रिमाल पुरस्कार जस्तै पुरस्कार राख्नुपर्छ । त्रिभुवन विश्वविद्यालयले उहाँलाई महाविद्यावारिधि उपाधि दिएर उहाँको शैक्षिक योगदान र समग्र साहित्यिक व्यक्तित्वको मूल्याङ्कन ग¥यो । उहाँ काठमाडौँ विश्वविद्यालय गानका रचयिता पनि हुनुहुन्थ्यो । त्यो विश्वाविद्यालयले पनि केही सोच्ला । अन्तराष्ट्रिय साहित्य समाजले दुईलाख राशिके पुरस्कार घोषणा गरिसकेको छ । झापामा साहित्य चौतारीले पनि एउटा कोश राखिसकेको सुनिएको छ । उहाँ जन्मिएका भूगोलको प्रदेश सरकारले पनि केही गर्नुपर्छ, उहाँको पालिकाले पनि केही गर्नुपर्छ ।

घिमिरे भानु प्रतिष्ठानका संरक्षक, सल्लाहकार हुनुहुन्थ्यो । हामीले गतवर्ष उहाँलाई अन्तराष्ट्रिय स्तरको समभिनन्दन ग¥यौँ । समभव हुन्छ भने हाम्रो संस्थाले पनि उहाँका विषयमा केही नियमित काम गर्ने गरी सोच्ता हुन्छ । उहाँ भानुभक्तीय काव्य परम्पराकै पछिल्लो धुरी हुनुहुन्थ्यो । नेपाल सेनको सहायक रथि पदवी पनि सेनाको राष्ट्रिय जिम्मेवारीअनुसार स्वाभाविकै हो भन्ने लाग्छ । उहाँ जीवनकालभन्दा अब सम्मानित हुने देखिन्छ । उहाँका केही कमजोरी भए पनि ती उहाँका गुण र सिर्जनाका रासमा हराउँछन् ।  घिमिरेका जीवनी व्यक्तित्व र कृतित्वबारे जति पनि बोल्न सकिन्छ । यहाँ प्राय मभन्दा अग्रज, दिग्गज स्रोता सहभागिता छ । म यहाँभन्दा बढी नबोलूँ । घिमिरेप्रति पुनः श्रद्धाञ्जली । यो श्रद्धाञ्जलीसभा आयोजना गर्ने संस्था भानु प्रतिष्ठानप्रति आभार धन्यवाद ।

– रमेश शुभेच्छु ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.