डिग श्रेष्ठ,
भदौ ७, काठमाडौँ । सिराहा जिल्ला गोलबजार नगरपालिका वडा नं. ३ स्थित ड्राईभर गाउँले परिचित जमनटोकीको स्वरुप फेरिदै गएको छ । कुनै जमानामा त्यस ठाउँका मानिसहरु रोजगारीको शिलशिलामा ड्राईभर पेसा अपनाएर आएको र पछिल्लो समयसम्म रिक्सा, ट्याक्टर, टेम्पो, बस लगायत सार्वजानिक सवारी साधनका चालक भएर जीविकोपार्जन गर्दै आएका कारण ड्राईभर गाउँको नामले चिनिएको हो ।
तन्नेरीदेखि प्रोढसम्मका व्यक्तिले चालकको पेसा अपनाउँदै आफ्नो जीवनयापन गर्नेको संख्या बढेपछि त्यस ठाउँका प्रया सबै जसो ड्राईभर बन्ने होडबाजी चलेको थियो । नेवार बस्ती रहेको त्यस ठाउँमा सवारी चालकको पेसा अपनाए पनि आफ्नो गाउँमा सडक विकास तथा स्तरोन्तीको हिसावले पछि परेकोले आफ्नो सवारी साधन ल्याउन समेत सकस हुन्थ्यो । अहिले भने लकडाउनकै बीच त्यस ठाउँको विकासमा जुटेका छन् ड्राईभर गाउँबस्ती ।
गोलबजार नगरपालिका ३ स्थित जमनटोकीमा लकडाउनको समयमै युवाहरुको सक्रियतामा बस्तिको बाटो मर्मत तथा निर्माण कार्यमा व्यस्त छन् । नेवार समुदाय बसोबास रहेको त्यस बस्तीका युवा तन्नेरीदेखि वृद्धसम्म ड्राईभर (चालक) को पेसामा आवद्ध छन् । सवारी चालक पेसा नै त्यहाँका मूख्या रोजगारी तथा आम्दानीका स्रोत मानिन्छन् । परम्परागत शैलीमा निर्माण भएको माटोको भित्ता, टायल तथा जस्ताले छाएको घरले जमनटोकी अर्थात् ड्राईभर गाउँलाई थप सुन्दरता प्रदान गरेको छ । बस्तीमा एकै परिवारका ७ जनासम्म सवारी चालक छन् ।
त्यस बेला उचित शिक्षाबाट बञ्चित भएर अन्य पेसा गर्न नपाएपछि चालक पेसामा लागेर परिवार पाल्ने मेसोमा लागेको गाउँलेहरु बताउँछन् । अहिले भने समयको माग अनुसार आफ्नो बालबच्चाहरुलाई पढाउने र शिक्षित समाज निर्माणतर्फ लागेको त्यहाँका बासिन्दाहरु बताउँछन् । गाडी चलाएरै बस्तीका घरैपिच्छे रोजगारी छन् । त्यही रोजगारीबाट बस्तीका अधिकांशले घरखेत जोड्न थालेका छन् भने आफ्ना बालबच्चालाई शिक्षामा अग्रसर गराउन थालेका छन् । विद्यालय, बजार, बिजुली, बाटोघाटोलगायत आधारभूत आवश्यकताको पहुँच भए पनि शैक्षिक अवस्था कमजोर ठहर गरी बालबालिकालाई विद्यालय पठाउन थालेको छ ।
सवारी चालककै रोजगारीको कमाइले बस्तीमा पक्की घर पनि बन्न थालेका छन् । ड्राइभर गाउँको उपमा लिन थालेको जमनटोकीमा वरपरका कुनै पनि सवारी धनीलाई चालक चाहिएमा यही गाउँ आउने गर्छन् । गोलबजार आसपास चल्ने धेरै ट्याक्टर चालक यही बस्तीका छन् । सुरुवातीका दिनहरुमा दुःख गरेका चालकहरु अहिले आफै गाडी मालिक समेत बनेका छन् । बस्तीमा ठूला ट्रक, ट्रिपर, बस, कारदेखि र ट्याक्टर चलाउनेसम्मका चालकहरू छन् । नयाँ पुस्तालाई शिक्षामा जोड दिएपछि अहिले त्यस बस्तीका युवाहरु सरकारी सेवा, डिजाईनर, पत्रकार, शिक्षक पेसामा रहेका छन् । तीनै युवाहरुको सक्रियतामा बस्तीको विकासमा समेत निकै परिवर्तन ल्याएको छ ।

