पशुपतिलगायत देशभरका मुख्य शिवालय सुनसान

भदौ ५, काठमाडौं। कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो।

भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका हुन्थे। प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहान पशुपति क्षेत्रमा लाखौँ बर्तालु महिला देवादिदेव महादेवको पूजा आराधना गर्न पुग्थे। यस वर्ष कोरोनाको महामारीका कारण पशुपतिनाथ मन्दिर क्षेत्र सुनसान छ। काठमाडौँ उपत्यकालगायत देशभरका मुख्य शिवालयमा पनि नित्य पूजा बाहेक सबै गतिविधि बन्द गरिएको छ। कोरोनाको महामारी नभएको पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवम् कर्मचारीलाई तीजको मेला व्यवस्थापनका लागि बिहानैदेखि पशुपति क्षेत्रमा सक्रिय हुनुपथ्र्यो।

पशुपतिनाथको मूल मन्दिर चैतदेखि नै बन्द रहेको र परिसरमा पनि निषेधाज्ञाका कारण भक्तजन आउन नसक्ने भएकाले मेला व्यवस्थापनका लागि यस वर्ष तयारी नगरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा बताउँछन्। पशुपति क्षेत्रमा तीजको मेला लाग्दा तिलगङ्गाबाट चावहिलसम्मको चक्रपथको मूल सडकसमेत प्रभावित हुने गरेको थियो। चावहिलका ८१ वर्षीय वृद्ध श्यामसुन्दर केसी आफ्नो जीवनकालमा पहिलोपटक तीजको व्रतका दिन पशुपति क्षेत्र सुनसान देखेको बताउँछन्। साउनमा भने धेरै भक्तजनले पशुपतिमा परिसरसम्म पुगेर बाहिरबाटै दर्शन गरी फर्किएका थिए।

पशुपतिमा जस्तै राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर पनि साउनदेखि नै बन्द गरिएको छ। पशुपतिनाथ मन्दिर चैतदेखि बन्द भएपछि धेरै भक्तजन साउनको सोमबार गोकर्णेश्वरमा भेला हुन थालेपछि कोरोनाको महामारी फैलने डरले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले साउनदेखि नै मन्दिर बन्द गरेको थियो। गोकर्णे औँसी भनिने बाबुको मुख हेर्ने दिन पनि यस वर्ष गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको थियो।

कोरोनाबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा, देशका धेरै जिल्लामा बन्दाबन्दी जारी गरिएकाले यस वर्ष तीजका बर्तालुले घर घरमै देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाउँदैछन्। आजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्ने फलाहार व्रत बस्ने गरेका छन्। प्रायःजसो बर्तालु महिला नै हुन्छन्। धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम भने पारिवारिक कल्याण, सुखमय दाम्पत्य जीवनको कामना, मनोकाङ्क्षा पूरा गर्ने कामनाले महिला, पुरुष दुवै व्रत बस्नुपर्ने बताउँछन्। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन्। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन्। यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका ९तीज० को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ।

बर्तालुले बिहीबार राति दर खाएर व्रतका लागि शक्ति सञ्चय गरेका थिए। आज निराहार व्रत बसी महादेवको पूजा आराधना गरिन्छ। भाद्र शुक्ल चौँथीका दिन तीज व्रत समापनका लागि गोदान, पूर्णपात्र गरी गणेश चतुर्थीका अवसरमा विघ्न विनाशक गणेशको पूजा आराधना हुन्छ। आइतबार अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरेपछि चार दिने तीज पर्व समाप्त हुन्छ। रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.