जुम्ला घटनाको छानबिनका लागि डीआईजीको टोली खटियो

साउन ७, काठमाडौँ । नेपाल प्रहरीले गत बिहीबार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटना छानबिनका लागि प्रदेश नम्बर ६ का डिआईजी सुुरेशविक्रम शाहको नेतृत्वमा आन्तरिक छानबिन समिति गठन गरेको छ ।

समितिमा डिआईजी शाहसहित एसपी केदार रजौरे र डिएसपी चूडामणि बूढाथोकी सदस्य रहेका छन् । टोलीका संयोजक डिआइजी शाहले घटनाको सत्यतथ्य बुझेर प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन बुझाउने बताउँदै टोली अहिले जुम्लामा नै रहेको बताए । टोलीले बिहीबार भएको घटनाको वस्तुगत अवस्थाको विश्लेषण, गोली चले–नचलेको लगायतका विषयमा जानकारी लिनेछ । जुम्लामा अनसनरत डा। गोविन्द केसीलाई सरकारले उपचारका लागि जवरजस्ती काठमाडौं ल्याउन खोजेपछि अस्पताल परिसरमै केसी समर्थक र प्रहरीबिच झडप भएको थियो ।

झडपको क्रममा प्रहरी जवान कमल आचार्य गम्भीर घाइते भएका छन् । उनलाई प्रहरीले गोली हानेको सञ्चारमाध्यमले दाबी गरेपनि प्रहरी प्रधान कार्यालयले भने गोली नै नचलेको दाबी गर्दै आएको छ । आचार्यको काठमाडौंमा उपचार भइरहेको र उनको अवस्था स्थिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.