साउन ७, काठमाडौं । आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आज देखि भगवान विष्णु क्षीरसागरमा सुत्नु हुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान विष्णुको स्वरुपका रूपमा लिइन्छ ।
प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिना सम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गे गर्ने शास्त्रीय परम्परा रहेको छ । हरिबोधनी एकादशीका दिन भगवान विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।
चतुर्मास समेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
यस अवधिमा पर्ने आठ वटा एकादशीमा भगवान विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको उनले जानकारी दिए । आज बिहान देखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिर लगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्छ ।
आजैदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशी मध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ । यसैबीच पुडासैनी मैत्री समाजले आज हरिशयनी एकादशीका दिन पाशुपत क्षेत्रमा १० हजार तुलसी वितरण गर्ने भएको छ । समाजले राम तुलसी र कालो तुलसी गरी १० हजार तुलसीका बिरुवा निःशुल्क रुपमा वितरण गर्ने जनाएको छ । पशुपतिनाथ मन्दिरको पश्चिम ढोकामा बिहान ७ बजे देखि साँझ सम्म तुलसीका विरुवा उपलब्ध गराइनेछ ।
रासस