एसइइको नतिजालाई आधार मानेर मास्टरसम्म पुग्ने विद्यार्थी ज्यादै कम देखिएका छन्– रमेश शुभेच्छु

रमेश शुभेच्छु नेपाली शिक्षा र साहित्य क्षेत्रमा सुपरिचित व्यक्तित्व हुनुहुन्छ । उहाँले अढाइ दशक लामो शिक्षण सेवा र डेढ दशक लामो प्राध्यापन सेवाबाट शिक्षा क्षेत्रका बहुमुखी अनुभव सम्हाली सक्नुभएको छ । उहाँ युवा समाज एवम् संस्कृति विश्लेषक पनि हुनुहुन्छ । उहाँका दर्जनौ पाठ्यपुस्तक र साहित्यिक पुस्तकहरुका साथै खोज अनुसन्धानमूलक कृति प्रकाशित छन् । यसपटक उहाँसँग भरखरै प्रकाशित एसइइको रिजल्ट केन्द्रित शिक्षा र समाजका विविध पक्षलाई समेटिएको कुराकानीलाई  प्रारम्भ खबरले यस साताको विशेष वार्ताका रुपमा प्रस्तुत गरिएको छ ।

भरखरै एसईईको परीक्षाफल प्रकाशित भएको छ । यो परीक्षा फललाई यहाँले कुन रुपमा लिनुहुन्छ ?
यो परीक्षा फलको प्रकाशन एउटा प्रक्रिया पुरा गरिएको मात्र हो । यो रिजल्टबारे विद्यार्थी, अभिभावक र शिक्षकहरु पहिला नै जानकार थिए । यस परीक्षालाई मैले विशेष परिस्थितिमा परीक्षार्थी र अभिभावकसमेतको मनोविज्ञान विग्रन नदिएको एउटा स्वाभाविक प्रक्रियाका रुपमा मात्र लिएको छु ।

यो परीक्षा फल पारदर्शी भएन भन्ने कुराहरु पनि बाहिर आउन थालेका छन् । के पूर्णङ्क दिनेहरुले मनोमानी गरेकै हुन सक्ला ?
केही त तलमाथि भएकै छ । तल नहोला माथि नै भएको छ । हामीले इतिहासलाई हेर्यौँ भने सबैभन्दा बढी जिपिए फोर यसै साल आएको देखिन्छ । यसमा विद्यालय र शिक्षकहरुले आफ्नो हात जगन्नाथ गरेकै छन् । शिक्षाको व्यापारीकरणका स्वार्थ पनि जोडिएका छन् । एउटा इमान्दार शिक्षक भएर सम्झँदा त शिक्षकले सही मूल्यांकन गर्छ भन्ने लाग्छ मलाई । आखिर बोर्डले परीक्षा लिए पनि मूल्यांकन गर्ने त शिक्षक नै हो नि । यसमा विश्वास गर्ने झिनो आधार टेस्टलाई पनि मान्न सकिन्छ । यस पटकको परिस्थितिअनुसार धेरै टिकाटिपणी गर्न आवश्यक छैन । यो विश्वमा विशेष परिस्थितिमा हुँदै आएको अभ्यास पनि हुँदै हो ।

यहाँले चाहिँ आफ्नो एसइइलाई कसरी सम्झनु हुन्छ ?
हाम्रो पाला एस. एल.सी भनिन्थ्यो । म खाजा सातु बोकेर एक दिनको बाटो हिँडेर डेरा गरेर एस.एल. सी. दिएको मान्छे । त्यसबेला हामी जस्ता दुर्गम जिल्लाका विद्यार्थीका लागि एस. एल.सी फलामे ढोका थियो । उत्तीर्ण हुनु मात्र पनि ठुलो कुरा थियो । म कक्षाका अगुवा विद्यार्थीमध्येमा एक थिएँ । मेरो सेन्टअपको रिजल्ट राम्रो आएकाले फेल हुने चिन्ता थिएन तर फस्ट डिभिजन पुग्ला कि नपुगला भन्ने चिन्ता थियो । हामीले पढेका बेलाका दुःखका कुरा नगरौँ कुरा पनि केके केके । अनेक दुःख थिए । अनेक समस्या थिए । न प्रयाप्त किताब, न राम्रा शिक्षक, न घरायसी वातावरण । न पढ्ने फुर्सद ।

अहिलेको एसइइ परीक्षाका बारे अनेक टिका टिप्पणी सुनिन्छ नि ?
परीक्षा नदिइ निस्किएको रिजल्टका आधारमा यो टिक्का टिपणी हुनु पनि स्वाभाविकै हो । तर मेरो सामान्य अनुरोध कलिला किशोर किशोरीको मनमस्तिष्कमा नकारात्मक टिप्पणीको विषाक्त काँडा नरोपूँ । ‘कोरोना ब्याच’ नलेखी पास, नलेखी फोर जिपिए जस्ता ट्याग झुण्ड्याएर समग्र परीक्षार्थीलाई नै होच्याउने खाले टिप्पणी नगरौँ । यो बाध्यात्मक विशिष्ट अवस्था थियो र हो ! उनीहरुलाई जाँच्ने ठाउँ कक्षा ११,  १२ र महाविद्यालयका परीक्षा पनि छँदैछन् । अनेक परीक्षा लेख्नै छ । यो अब पहिला हाम्रा पालाको स्कुल शिक्षाको कक्षा ८ जस्तो मानिदिए हुन्छ ।

एस.इ.इको आरम्भ भएपछिकै धेरै जिपिए फोर ल्याएर उत्तीर्ण भएको देखियो नि ?
स्वाभाविक हो । यसमा विद्यार्थीको दोष छैन । दोष भए किक्षकको छ । कसैको ३.९५ वा ४.०० ग्रेड आयो भने त्यसमा मलाई केहि भन्नु छैन । तर यो क्रममा दुई जना पाउनु पर्नेले पायो र दश जना पाउनु नपर्नेले पनि पायो भने साँच्चिकै राम्रा योग्य ती दुईमाथि अन्याय भयो । यहाँ प्रश्न विद्यार्थिमाथि गर्ने होइन, ’शिक्षाका ठेकेदारमाथि उठ्नुपर्छ । यति हो भोलि कमजोर विद्यार्थी कठिन विषय पढ्ने भएर मानसिक रोगी नबनून् । महत्वकांक्षाका शिकार नबनून् ।

आन्तरिक मूल्यांकनले पार्ने फरक के हो ?
आन्तरिक मूल्याङ्कनमा शिक्षकलाई विद्यार्थीले प्रभाव पार्न पनि सक्छ र शिक्षक पनि विद्यार्थीको प्रभावमा पर्न सक्छ । व्यापारिक उद्देश्य पनि पूर्ति हुने मौका हुन्छ । उच्च शिक्षा (स्नातक र स्नातकोत्तर) तहमा पनि आन्तरिक मुल्यांकनका आधारमा ग्रेडिङका लागि लबिङ चर्को रुपमा सुरु भइसकेको छ । यो विद्यार्थी नियमित गराउने विधि हो, वस्तुगत मूल्यांकन गर्ने विधि हो तर नेपालमा दुरुपयोग हुने सम्भावना देखिँदैछ । हाम्रामा शिक्षालाई हेर्ने, यसको नीतिनियम बनाउने चेतना नै पुगेन भन्या ।

आफ्ना विद्यार्थी र छोराछोरीले यति उति जिपिए ल्याए भनेर फोटो टाँस्नु के यस्तो परीक्षामा उपयुक्त छ ?
तपाईँको आशय नतिजामा उत्तिर्ण आफ्ना छोराछोरी, भाइबहिनीले प्राप्त जिपिए र सफलतालाई खुसी व्यक्त गरिएका पोस्टहरूप्रति होला । ती पोस्तहरुप्रति केही असहिष्णु प्रतिक्रियाहरू देखिए पनि । एसइइलाई लिएर अझै पनि शिक्षक, अभिभावक र आम मानिसमा धेरै भ्रम छ । त्यो भ्रमलाई चिर्न यो पटक सरकारलाई अवसर थियो, तर सरकारले त्यो भ्रमलाई मलजल गर्ने काम नै गर्यो । अबको शिक्षा प्रणालीमा दश कक्षा विद्यालय स्तरको अन्तिम वर्ष होइन । यो त केवल माध्यमिक शिक्षाको दोस्रो वर्ष हो । यो तहको शिक्षालाई बढाइचढाइ महत्व दिनु पर्ने कुनै जरुरी छैन । आफ्ना सन्तान र शिष्य शिष्याको सफलतामा अभिभावक र शिक्षक खुसी हुनु र खुुसी साट्नुलाई नै अन्यथा बुझ्नुहुँदैन ।

हिजो र आजको फरक अवस्था चाहिँ के त ?
सोझो भाषामा भन्दा हिजो १० कक्षा पास गर्नु रोजगारीको ढोका खुल्नु थियो । त्यसका लागि युद्धस्तरमा प्रयास गरिरहेको हुन्थ्यो व्यक्ति र समाज एस. एल.सी पास गर्न । त्यस बेला कतिपय जागिर र रोजगारीमा “दश पास“ वा “दशसम्म पढेका“ को माग हुन्थ्यो । आज विद्यालय उत्तीर्ण कक्षा दश होइन । रोजगारीको ढोका पनि कक्षा दश होइन । यो नयाँ शिक्षानीतिलाई समाजले स्वीकार गरिनसकेको समय हुँदा त्यसो भएको हो ।

विश्व सन्दर्भमा विद्यालय शिक्षा कस्तो छ ?
विश्व सन्दर्भमा विद्यालय शिक्षा कक्षा १२ सम्म नै हो । हाम्रामा ११,१२ पठन पाठन गर्ने वातावरण नबन्दै उच्च मा.विका नाममा ११ र १२ को छुट्टै शिक्षा दिइयो । यसलाई कलेज भनियो र यता विश्वविद्यालयले दिँदै आएको प्रमाणपत्र तह खारेज गरी व्यापारको अखडा पनि बनाइयो । यी दुवै कक्षा एउटै स्कुलमा पठन पाठन हुनुपर्थ्यो । अलि ढिला गरी राज्य त्यही नीति लागू गर्न खोज्दैछ तर अझै पनि ११ र १२ लाई कलेज भन्ने चलन र व्यवहार हटिसकेको छैन । यसले सीमित मानिसलाई फाइदा पु¥यायो । आम मानिसलाई फाइदा भन्दा वेफाइदा पु¥याईरहेको छ ।

यो वर्ष एस. इ.इ नहुनुको कारण र फाइदा वेफाइदालाई यहाँले कसरी हेर्नुभएको छ ?
यस विषयमा मैले थुप्रै बोलेर र लेखेर विचार व्यक्त गरिसकेको छु । यस वर्ष कोरोनाभाइरसको प्रकोपको कारण तोकिएको एसइइ परीक्षा समयमा हुन पाएन। ढिलो गरेर सरकारले परीक्षा नलिने तर विद्यालयको मूल्याङ्कनलाई आधार मानेर नतिजा प्रकाशन गर्ने निर्णय गर्यो। अनि विद्यालयहरूले  आ–आफ्नो  ढङ्गले मूल्याङ्कन गरेर केन्द्रीय बोर्डमा पठाए। बोर्डले त्यसलाई तालिकीकरण गर्ने, ग्रेडिङ गर्ने र कम्पाइल गरेर प्रकाशित गर्यो । राष्ट्रिय मिडियामा प्रकाशित भए पनि यो हिजो विद्यालय आफैले पठाएको नतिजाको प्रशोधित रूप हो । “फलामे ढोका“ को मिथलाई कायम राख्ने सरकारी र समाज मनोविज्ञानका कारण आज अघि तपाइँले भनेको खुसी साटासाट भइरहेको छ तर यो कुरा पहिला नै थाहा भइसकेको कुरा हो । यो विशेष परिस्थिति हुँदा यसलाई स्वाभाविक रुपमा लिनुपर्छ । अब एस. इ. इ केन्द्रबाट नलिने नजिर बन्न पनि सक्छ वा जिल्ला प्रदेश वा पालिका तहमा हुने चलन पनि बन्न सक्छ । यसले फाइदा त विद्यार्थीलाई भएको छ तर यसको निरन्तरता यो रिजल्टको उचाइ निरन्तरताको पाटो गम्भीर प्रश्न बनेर आएको छ ।

यहाँले पनि भन्नु भयो । अरुले पनि एस. इ.इलाई “फलामे ढोका“ भन्छन् । यो मिथको अर्थ के ?
मैले अघि नै भने नि । यो मिथकको कारण विद्यालय शिक्षाबाट मुक्ति भन्ने हो । यसलाई यो वर्षबाट भत्काइदिन सकिन्थ्यो। विद्यालयको नतिजा नै मान्य हुने भएपछि यो राष्ट्रिय तामझामको कुनै आवश्यकता थिएन । सरकारले बुद्धि पुर्याएर यस वर्ष एकीकृत नतिजा प्रकाशित गरे पनि आगामी वर्षबाट क्रमशः विद्यालयकै मूल्याङ्कनलाई स्वीकार्ने र विद्यालयले नै नतिजा प्रकाशित गर्ने वातावरण मिलाउँदै जाने गरेर यस मिथकको अन्त्य गर्न सक्छ । तर सरकारले त्यसो गर्न सकिरहेको छैन ।

गणितीय अंकको हिसावमा हेर्नुपर्दा सामुदायिकभन्दा निजी शैक्षिक संस्थामा अध्ययन गरेका विद्यार्थीहरुको पूर्णङ्क बढी आएको पाइन्छ नि ?
यो स्वाभाविक हो । निजी विद्यालयको प्रयत्न रिजल्ट राम्रो बनाउने पक्षमै केन्द्रित हुन्छ । उनीहरुले विद्यार्थी र अभिभावकलाई अकर्षित गर्ने आधार पनि यही हो । केही निजी विद्यालय वास्तवमै दक्ष शिक्षकसहित राम्रा पनि छन् । म यसलाई स्वाभाविकै मान्छु । तरतलब, भौतिक सुविधा र राज्यको लगानीका आधारमा त्यसो हुनु नहुने हो । यहाँ शिक्षा क्षेत्रमा जागिर खाने साथीहरुले पनि राजाको काम कहिले जाला घाम बनाइदिने गल्ती गरिरहेका छन् । यो पक्ष निकै गम्भीर छ । राज्यले स्थानीय तहलाई शिक्षा जिम्मा दिने प्रयत्न गर्दैछ । यसले सामाजिक चेतना बढाउला कि भन्ने लाग्छ ।

कोभिड–१९ कै कारण यसपालिको शैक्षिक सत्र त खारेज हुने संकेत देखियो नि त ? यस विषयमा सरकारले कस्ता खालाको खाका ल्याउनु पर्ला ?
११ कक्षा पढ्ने हकमा अलि ढिला भएर केही बिग्रँदैन । मैले अघि अर्को प्रश्नको जवाफमा पनि भनिसकेँ कि योे परिस्थितिको परिणाम हो । हामी आत्तिइहाल्नु पर्दैन । समस्या कक्षा १२ को हो । त्यो पनि आत्तिनु पर्दैन । परीक्षा भएपछि रिजल्टमा हतार गरे भइहाल्छ ।

वर्तमान परिस्थितिले त शिक्षण संस्थाहरुलाई कोमामा पु¥यायो नि ?अव शिक्षण संस्थाहरुलाई सञ्चालनमा मूर्तरुप दिन के गर्नुपर्ला ?
यस्ता महामारी, विश्वयुद्ध, गृहयुद्ध, आनदोलन आदिले ल्याउने घटनागत परिस्थिति हुन् । यी परिस्थितिको असर दीर्घकालीन बन्ने भए पनि विस्तारै समयका घाउ पुरिँदै जान्छन् ।

शिक्षा क्षेत्रमा बढ्दै गएको विसंगति हटाउन यहाँको सुझाव के छ ?
छोटकरीमा भन्दा शिक्षालाई सेवाको दायरामा राख्ने नै हो । शिक्षालाई अधिक व्यवसायीकरण गर्नु गलत थियो र भोलि पनि यही समस्याले हामीलाई थप समस्यामा पुर्याउँछ । यो होटल वा पर्यटन व्यवसाय जस्तो व्यवसायको आकर्षण हुनुहुने थिएन । यस क्षेत्रमा घरैपिच्छे स्कुल खुलेर सहर केन्द्रित व्यापार गरिने वातावरण बन्नुहुने थिएन । फेरि त्यसो भन्दैमा राज्यका निकायमा विधिवत दर्ता भएका शैक्षिक संस्थालाई बन्द गरिहाल्न पनि मिल्दैन । अब राज्य र शिक्षा व्यवसायीहरुबिचमै कुनै निकास खोजिन आवश्यक छ ।

नियमित कक्षा सञ्चालन नहुँदा विद्यार्थीको अध्ययन क्षमतामा कस्तो खालको प्रभावपर्ला ?
यहाँले अहिलेको अवस्थालाई प्रश्नको केन्द्रमा राखेझैँ लाग्छ । अहिलेको परिस्थिति विशेष परिस्थिति हो । यस बेला कक्षा हुनुपर्थ्यो भन्ने पक्षमा म छैन । दुर्गम गाउँहरुमा चाहिँ शिक्षक साथीहरुलाई परिचालन गरेर केही प्रयत्न गर्न सकिन्थ्यो । इन्टरनेट पुग्ने ठाउँमा इन्टरनेटकै माध्यमबाट दिनमा एक घन्टा भए पनि विद्यार्थी र शिक्षक जोड्ने काम गर्न सकिन्थ्यो । दूरशिक्षामा राज्यले गरेको प्रयत्न ठिक्क किसान अभिभावकका बालबच्चाले पनि काम गर्ने बेला पर्यो । त्यसलाई अनुगम नर्ग गराउन आवश्यक छ । तर राज्यले त्यस पक्षलाई महत्व दिन सकेन । अहिलेको अवस्था भने विद्यार्थीमा पर्ने असर भन्दा पनि कोभिडबाट बच्ने प्रयत्न ठुलो हो ।

विद्यालय तह जस्तै विश्वविद्यालयका विद्यार्थीहरुको पनि त्यही स्थिति छ अव शैक्षिक सत्र खेर हुनबाट बचाउन राज्यले केही उपाय अपनाउनु पर्ला कि ?
उच्च शिक्षाका कक्षाहरु अनलाइनबाट प्रायः भइरहेका छन् । हामी डिग्री र स्नातक तहका कक्षा पढाइरहेका छौँ । उनीहरुको शैक्षिकसत्र खेर जाँदैन । विद्यालयको शैक्षिकसत्र पनि खेर जान दिनुहुँदैन । अहिले नै नआत्तिँदा हुन्छ । समय परिस्थिति अनुसार एस.इ.इ त व्यवस्थापन भयो भने अरु पक्ष पनि व्यवस्थान हुने नै छ । समस्या कक्षा १२ को परीक्षा अलि टढ्कारो देखिँदैछ । स्नातक र स्नातकोत्तरका अन्तिम वर्ष बाहेकका परीक्षापछि एकैचोटि गराउने गरी दोस्रो, तेस्रो सेमेस्टर पढाउँदा हुन्छ । परीक्षालाई फरक ढंगले गर्न पनि सकिन्छ । परीक्षाका फरक–फरक मोडलहरु प्रविधिमैत्री रुपमा विकास भइसकेका छन् । कक्षा ११ को परीक्षाको कार्यविधि बनि नै सकेको छ । आत्तिइहाल्नु हुँदैन । विश्वाविद्यालयका शिक्षकहरुलाई अनुसन्धानका विषयमा केन्द्रित गरे हुन्थ्यो प्राज्ञिक उन्नयनका लागि भन्ने देख्छु ।

फेरि एसइइ बारे अर्को प्रश्न, यस पालिको एस. इ.इ. रिजल्टको सामाजिक प्रभाव के हुन सक्छ ?
एक वर्षदेखि दैनिक १४–१८ घन्टा खटेर तयारी गरेका बिध्यार्थी थिए । जसका लागि बिहानको खाना र दिउँसोको खाजा स्कूलमा पु¥याउन दौडिएका अनि आफुले खाइ नखाइ फि तिर्न बाध्य भएका अभिभावक थिए । पहाडका विकट ठाउँमा सातु सामल बोकेर परीक्षा केन्द्र पुगेर त्यसै फर्किनुपरेका विध्यार्थी थिए । तिनको परीक्षा स्थगित हुँदा र समाजमा अघि मैले भनेको फलामे ढोकाको मिथक जीवितै हुन्दा कहिलेसम्म स्थगनको मनोवैज्ञानिक चाप थेग्ने भन्ने समस्या थियो । रिजल्ट गर्दा पनि भीडभाडको डर थियो अब यो दुवै पक्ष हल भएको छ । अब परीक्षा हुने कि नहुने अन्यौलमा महिनौँसम्म रहन बाध्य भएका बच्चा र अभिभावकको विक्षिप्त मानसिकता भोग्नेलाई मात्रै थाहा हुन्छ । त्यो मानसिक समस्याको पनि हल भएको छ । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ ।

यसको सामाजिक प्रभाव सकारात्मक मात्र रहन्छ भन्ने पक्षमा पनि म छैन । जीवन नै परीक्षा हो जसरी तयारीमा बसेका बच्चालाई परीक्षा दिन नपाउँदा सम्हाल्नै गाह्रो भएको पक्ष त समाधान भयो तर अब उनीहरुले पाएको अंकलाई हेर्दा उनीहरुको महत्वकांक्षा व्यवस्थापन हुन कठिन हुन सक्छ । यसो हुनमा न बिध्यार्थी दोषी थिए न अभिभावक न शिक्षक । यो परिस्थितिको कुरा थियो । अहिले आएर स्कूलको आन्तरिक परीक्षाको नतिजालाई जोडेर यो परिणाम सार्वजनिक हुनुलाई सकारात्मक माने पनि यो नै जीवनको अन्तिम खुट्किलो होइन । यो पाटो चाहिँ समाजले, अभिभावकले र विद्यार्थीले बुझ्न सकेका छैनन् । यो समस्या हो । समस्या अरु पनि छन् ।

अहिले आएको जिपिए फोरको संख्या आलोचित छ नि ?
यसलाई सकारात्मक रुपमा पनि लिन सकिन्छ । पहिले पहिले असी प्रतिशत कटेका बोर्ड फर्स्ट भइहाल्थे । कारण नौ र दश कक्षाको कोर्स कभर गरेर प्रश्न सोधिन्थ्यो । कहिलेकाहीँ बोर्डभित्र आउनेको असी भन्दा पनि कम पनि हुन्थ्यो । बाहिर जिल्ला जिल्लामा ७० प्रतिशत कटेको एकाध विद्यार्थी फेला पर्थ्यो । फस्ट डिभिजन मूल महत्वको विषय बन्थ्यो । कतिपय ६० प्रतिशत नआउँदा बच्चाहरू डिप्रेसनमा जाने, आत्महत्या गर्ने भन्ने सम्मका खबर पनि आए । अहिले त्यो नब्बेमा पुग्यो । यसको कारण १० कक्षाबाट मात्र प्रश्न सोधिनु पनि कारण हो । आजका बालबालिकाको मस्तिस्क सञ्चार र अन्य कारणले तेज भएको मान्न पनि सकिन्छ तर एसइइको नतिजालाई आधार मानेर मास्टर सम्म पुग्ने विद्यार्थी ज्यादै कम देखिएका छन् । यो चाहिँ समस्या हो ।

यहाँले अघि भन्दै हुनुहुन्थ्यो १० कक्षाको परीक्षा नै अन्तिम परीक्षा त होइन ? तर किन यति धेरै महत्त्व ?
महत्व त स्कुल लिभिङ सर्टिफिकट मिल्ने भएर नै हो । वास्तवमा दश कक्षाको परीक्षामा कम नंबर ल्याउँदैमा व्यक्ति कमजोर र अयोग्य हुने होइन। हाम्रो सामाजिक राजनीति यता ढल्किएको छ । यसैको प्रतिविम्ब हो अहिले ४.० जिपीए “ल्याउने“ को सङ्ख्या एकदम बढी भयो भनेर हङ्गामा भएको।

अहिले एस. इ. इ उत्तीर्ण विद्यार्थी भाइबहिनीलाई के सल्लाह दिनुहुन्छ ?
हाम्रो समाज ढोंगी छ । तपाईँहरुले अभिभावकले आफ्ना अपूर्ण सपना पुरा गर्न तपाईँलाई डाक्टर र ईंजिनियर बन्न कर गर्छन् । डक्टर ईन्जिनियरबाहेक पनि अरु पेसा ब्यवसाय छन् । भोलिको समाजलाई वकिल पनि चाहिन्छ । असल नेता पनि चाहिन्छ । शिक्षक झन् असल र विद्वान् चाहिन्छ । लेखक, कलाकार पनि चाहिन्छ । कुशल व्यवस्थापक पनि चाहिन्छ । उद्योगपति र व्यापारी पनि चाहिन्छ । यहाँहरुले विषय छनोट गर्दा विचार पुर्याउनुपर्छ । तपाई डक्टर भए पनि डक्टरलाई पढाउने प्रोफेसर डक्टर भएका दिन मात्र सफल हुनुहुन्छ । यो अवस्था जहाँसुकै लागू हुन्छ ।

हाम्रो देशको न्याय प्रणाली कमजोर छ । कुनै ब्यक्ति दोषी या निर्दोष भन्न अदालतका न्यायधिशसंग कुन तहको निर्णायक क्षमता हुनुपर्छ हामी त्यतातिर उचित जनशक्ति नभएको महसुुस गरिरहेका छौँ केही अव्वल बिद्यार्थी यता लाग्न आवश्यक छ ।अरुको करले भन्दा आफुलाई मनपरेको बिषय पढ़नाले पढाइमा तनाब हुँदैन । म साहित्य पढ्न पाउँदा रमाउँछु र मलाई पढ्ने काम बोझ हुँदैन । पढ़ाई खुद्रा पसल र कपड़ा पसलको ब्यापार होइन । ती पसलमा बाबुआमाले गरेको पेसा छोराछोरीले सम्हाल्छन् तर यसमा आफ्नो रुचिअनुसार विषय छान्न र पेसा गर्न सकिन्छ सकिन्छ ।

मैले भनेको पक्षलाई खण्डन गर्ने सूत्र पनि छ । हाम्रामा अभिभावकको पेसा कमजोर देख्ने चलन छ । यो पनि घातक छ । तपाईको बाबा वकिल हुनुहुन्छ भने तपाईँ पनि वकिल बन्नुहोस् उहाँका सामग्री र प्रसिद्धि ( फेम) दुवै तपाईँलाई सम्पत्तिका रुपमा प्राप्त हुन्छ । त्यस्तै डक्टरको सन्तान डक्टर हुँदा, अंग्रेजी वा नेपाली साहित्यको विद्वान्को सन्तान सोही साहित्यको स्कलर्स बन्दा वेफाइदा भन्दा बढी फाइदा हुन्छ । यसो गर्दा कुनै विषयकेन्द्रित घराना बनाउन सकिन्छ । विश्वमा यस्ता उदाहरणहरु धेरै छन् । नेपालमै पनि छन् । भारतमा अमिता बचनको परिवारलाई हामी नमुना मान्न सक्छौ ।

अन्त्यमा विद्यार्थी, अभिभाव र शिक्षकहरुलाई के शन्देश दिनुहुन्छ ?
आज नतिजा आएका विद्यार्थीलाई बधाइ भन्छु । अघिल्लो प्रश्नमा मैले जानेको सल्लाह दिइसकेको छु । रुचिको विषय पढेर अगाडि बढ्नु राम्रोहुन्छ । पढेर सकिँदैन । अहिले जुन ग्रेड आए पनि तपाईँको जीवन बनउने र ग्रेड बनाउने ठाउँ छ ।
दोस्रो नम्बरमा अभिभावकहरुलाई हामी एस. इ. इ भन्दा तल्लो कक्षामा बालबच्चालाई जति महत्व दिन्छौँ, पढपढ भन्छौँ त्यति माथिल्ला कक्षामा भन्दैनौँ र आजको युवा पुस्ता गैरजिम्मेवार बन्यो कि जस्तो लाग्छ । आफ्ना सन्तानले एस इ इ भनिने कक्षा १० को जाँचपास गर्दा जस्तै कक्षा ११ र १२ र स्नातक पास गर्दा पनि अभिभावकहरू उत्तिकै खुसी भएको बेहोरा देख्न पाउँ भन्ने लागिरहेको छ । अभिभावकत्व आजको पुस्तालाई हिजो भन्दा बढी आवश्यक देखिएको छ । अभिभावकको हौसला सन्ततिको विकासको मूल आधार हो । शिक्षक एक छिनको सहयोगी हो तर अभिभावक सदाबहार गुरु र सहयोगी पनि हो ।

शिक्षक साथीहरु यस बेला धेरै समस्यामा हुनुहुन्छ । आज उहाँहरुसँग बसेका विद्यार्थीका तस्बिर विद्यालयले सामाजिक सञ्जालमा राखेर सेयर गरे पनि धेरै शिक्षक साथीहरु व्यवहारत ती विद्यालयबाट वेरोजगार बन्नुभएको छ । निजी शैक्षिकसंस्थाले शिक्षालाई सेवा बनाउन सकेका छैनन् । शिक्षकको गरिमालाई धान्न पनि सकेका छैनन् । शिक्षण कर्म पेसा भन्दा पनि सेवा हो । यहाँहरु नआत्तिनुहोस् । संसारमा समाजलाई डोर्याउने पहिलो व्यक्ति शिक्षक हो ।
वकिलमध्ये सफल प्राध्यापक वकिल मात्र हुन्छ, डक्टरमध्ये सफल प्राध्यापक डक्टर मात्र हुन्छ । ईन्जिनियरमध्ये सफल प्राध्यापक ईन्जिनियर  मात्र हुन्छ । पाइलटमध्ये सफल प्राध्यापक पाइलट मात्र हुन्छ । यहाँहरुको मिहिनेतले नै आज विद्यार्थी र अभिभावकका मुहारमा खुसी छाएको छ । यहाँहरुको पेसा ऋषिमार्गी पेसा हो । अविकसित मुलुकमा मूल चेतनाको पक्ष नचिन्नु स्वाभाविकै हो भन्छु । कामना गरुँ डक्टरहरुले शिक्षकको जति नै तलब पाउँ भन्ने दिन आओस् ।
महत्वपूर्ण समय र गहन विचारका लागि धन्यवाद ।

यहाँले अन्तर्वार्ताका लागि योग्य देखेर यतिका प्रश्न गर्नुभयो । यहाँ र यहाँको सञ्चारमाध्यमलाई धन्यावद र शुभकामना पनि ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.