नेकपा काठमाडौँ संयोजकलाई पार्टी विधान विपरीत गएको आरोप

मदन भण्डारी फाउन्डेसनका नाममा समानान्तर गतिविधि

साउन २८, काठमाडौँ । नेकपा पार्टीलाई एकिकृत र संगठीत बनाउन पार्टी सदस्यता नवीकरण सहितको कामको निर्देशन आए पनि काठमाडौँ जिल्ला संयोजक एवम् क्षेत्र नं. ३ का अध्यक्ष कृष्णबहादुर राई भने पार्टीको विधान विपरीत गुटको काममा सक्रिया भएर लागेको आरोप छ ।

गत पुस १३ गतेको नेकपा सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमले तयार पारेको संगठनात्मक कार्ययोजना पारित गरी ०७६ चैत मसान्तभित्र पार्टी सदस्यता नवीकरणको काम सक्न मातहतका कमिटिहरुलाई सर्कुलर तथा परिपत्र पठाए पनि काठमाडौँ जिल्ला कमिटिले भने काम गर्न नसकेको सोही कमिटिका जिल्ला सचिवालय एक सदस्यले बताएका छन् । संगठनको निर्देशन–सर्कुलर अनुसार काठमाडौँ जिल्ला कमिटिले माथिल्लो कमिटीको निर्देशनअनुसार हुनुपर्ने सदस्यता एकीकृत र नवीकरणको काम गर्न छाडेर मदन भण्डारी फाउन्डेसनका नाममा समानान्तर गतिविधिमा सक्रिय रहेको उनी बताउँछन् ।

संयोजक कृष्ण राईले पार्टी जिल्लाको संयोजकको रुपमा नेतृत्व भन्दा पनि मदन भण्डारी फाउण्डेशनको अध्यक्षता गरी विभिन्न गतिविधिमा सक्रिया रहदै आएको ती नेताको आरोप छ । जिल्लाका विभिन्न स्थानमा ओली निकटका व्यक्तिहरु जम्मा गरेर फाउण्डेशनको नाममा पत्रकारिता तालिम, सरसफाई तथा विविध विचारगत विषयमा छलफल गर्दै सिंगो पार्टी कमिटिको अस्तित्वलाई ओझेलमा पार्दै गैरजिम्मेवारी तरिकाले अघि बढेको खुलासा गरेका छन् ।

उपत्यका बाहिरका जिल्लामा पनि फाउन्डेसनको गतिविधि ह्वात्तै बढ्न थालेको नेकपाका नेताहरू बताउँछन् । पार्टीभित्रको अन्तरविरोध चर्किइहेका बेला ओली समूहले फाउन्डेसनलाई विचार प्रवाह गर्ने थलो बनाएको उनीहरूको ठहर छ । बुधबार काठमाडौं जिल्ला कमिटीका संयोजक राईको अगुवाइमा जोरपाटीमा त्यस्तै भेलाको तयारी भइरहेको छ । पूर्वी क्षेत्रको गोकर्णेश्वर, कागेश्वर मनहरा र गोकर्णेश्वर तीन नगरपालिका समेटेर एकै ठाउँमा भेलाको तयारी भईरहेको पनि सूचना छ ।
“बुधबार जोरपाटीको वागमती किनामा शङ्करापुर, कागेश्वरी मनहरा र गोकर्णेश्वर तीन नगरपालिका समेटेर समानान्तर भेला आयोजना गर्न लागेको भन्ने सुनेका छौं । अरू नगरमा उपस्थिति फितलो बनेपछि जोरपाटीका तीन नगरका कार्यकर्ताला
ई एउटै हलमा उपस्थित गराउन लागेको बुझेका छौं । भेलामा ओली गुटबाहेक अरूलाई खबर छैन,” उनी भन्छन् ।

फाउन्डेसनले काठमाडौं क्षेत्रका सबैजसो स्थानीय तहमा भेला, अन्तरक्रिया कार्यक्रम गरिसकेको छ । साउन ७ गते बूढानीलकण्ठ नगरपालिकामा फाउन्डेसनले वृक्षरोपण कार्यक्रम आयोजना गरेको थियो । चन्द्रागिरि नगरपालिकामा साउन ११ गते भेला र अन्तरक्र्रिया कार्यक्रम आयोजना गरेको त्यहाँको नगर कमिटीले जानकारी दियो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, नेकपाका जिल्ला अध्यक्ष कृष्ण राई उपस्थित थिए । त्यहाँ पनि इतरसमूहलाई खबर नै नगरिएको जिल्ला तहका नेता बताउँछन् ।

साउन १७ गते टोखाले त्यस्तै प्रकृतिको कार्यक्रम आयोजना गरेको थियो । नेपाल कम्युनिस्ट आन्दोलन र लोकतान्त्रीकरण विषय विचार गोष्ठी भनिए पनि कार्यक्रममा सरकार र पार्टी नेतृत्वको प्रतिरक्षा र बचाउ गरेको सहभागीहरू बताउँछन् । कार्यक्रममा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठसहित ओली पक्षका नेतामात्रै सहभागी थिए । अर्को पक्षलाई त्यहाँ पनि बेवास्ता गरियो ।

कीर्तिपुर नगरपालिकामा पनि फाउन्डेसनका नाममा ओली समूहले समानान्तर कार्यक्रम आयोजना गरिसकेको छ । साउन २३ गते कीर्तिपुर नगरपालिकामा पनि टोखा नगरपालिकाकै शीर्षकमा विचार–विमर्श गरिएको थियो । त्यहाँ पनि केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ र काठमाडौंका जिल्ला संयोजक राई उपस्थित थिए । पूर्वमाओवादी केन्द्र समूहका अञ्जना विशङ्खेलाई निम्त्याइएको थियो ।

साउन २३ गते नै तारकेश्वर नगरपालिकामा पनि फाउन्डेसनको ब्यानरमा कार्यक्रम आयोजना भएको थियो । त्यहाँचाहिँ भिन्न प्रकृतिको, पत्रकारिता तालिम आयोजना भएको र टोखा र बुढानीलकण्ठ नगरपालिकालाई पनि समावेश गराइएको नेकपाका जिल्ला तहका नेता बताउँछन् ।

नागार्जुन नगरपालिकामा पनि त्यस्तै प्रकृतिको कार्यक्रम सकिइसकेको छ । साउन २४ गते नेपाल कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक विचार गोष्ठीका शीर्षकमा विचार मन्थन गरिएको त्यहाँको नगर कमिटीले जानकारी दियो । नागार्जुनमा पनि कृष्णगोपाल श्रेष्ठ र राजन भट्टराई नै विचार प्रस्तुतिका लागि पुगेको थिए । फाउन्डेसनको काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला छन् । काठमाडौं–५ को प्रदेशसभा सदस्य रहेका उनी नेकपाको जिल्ला कमिटीको सचिवालय सदस्य पनि हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.