मनसुन पुनः सक्रिय : यस्तो छ ३ दिनको मौसम

साउन २५, काठमाडौं । नेपालमा आगामी तीन दिन पुनः मनसुन सक्रिय भएको छ। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार शनिबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सरेकाले वर्षा हुने भएको हो ।

अब दुई÷तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुनेछ। आज बिहान जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बुलेटिनमा मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेको जनाइएको छ। हाल देशका अधिकांश भू भागहरुमा सामान्यदेखि पूर्ण बदली रहेको छ । यस्तै प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा पनि वर्षा भइरहेको छ। साथै सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षा भइरहेको बुलेटिनमा उल्लेख छ।

आज दिउसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ। भारी वर्षा हुँदा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.