फुटाउन चाहने आफैँ सकिन्छन्– पूर्वमन्त्री तामाङ

साउन २५, सिन्धुपाल्चोक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले अहिले चलिरहेको बहसले पार्टी नफुट्ने बताएका छन् ।

सिन्धुपाल्चोकको चौतारामा शनिबार आयोजित कार्यक्रममा उनले पार्टीभित्रको विवादका विषयमा छलफल र बहस भइरहेको र यस्तो बहस हुँदैमा पार्टी विभाजन भइहाल्छ भन्ने प्रचार गर्नु गलत भएको बताए । “कम्युनिष्ट पार्टीको एकता भङ्ग गराउन अन्यत्रबाट षड्यन्त्र भइरहेको छ, त्यो सफल हुँदैन”, उनले भने, “पार्टी एकता विभाजन गराउन खोज्नेहरू आफैँ सकिन्छन् ।” कार्यक्रममा नेपाली काँग्रेस र राप्रपा नेपाल परित्याग गरी जिल्लाका दुई स्थानीय तहका करीब ७० स्थानीय नेता कार्यकर्ताले नेकपा प्रवेश गरेको घोषणा गरेका छन् ।

नेकपा जिल्ला पार्टी कार्यालयमा इन्द्रावती गाउँपालिका–३ का पञ्चलाल तामाङसहित झण्डै ३५ स्थानीय नेता कार्यकर्ता नेकपा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई नेकपा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ का सांसद तामाङ, वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र नेकपा जिल्ला अध्यक्ष झम्क नेपालले स्वागत गरेका थिए।

त्यस्तै शनिबार नै बलेफी–८ कागुनेमा पनि स्थानीयवासी राजेश तामाङ र इन्द्र श्रेष्ठको नेतृत्वमा करीब ५० युवा नेकपा प्रवेश गरेको बलेफी–८ का अध्यक्ष चरीबहादुर तामाङले जानकारी दिए। नवप्रवेशीलाई बलेफी गाउँपालिका अध्यक्ष तथा नेकपा प्रदेश कमिटी सदस्य केदार क्षेत्री, नेकपा बाह्रबीसेका अध्यक्ष ज्ञानेन्द्र राउत, जिल्ला कमिटी सदस्य प्रदीप पौडेल, कार्केल लामा र बलेफी–८ का अध्यक्ष तथा पालिका कार्यालय कमिटीका तामाङले स्वागत गरेका थिए ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.