उपत्यकामा ३८ सङ्क्रमित थपिए

२५ जना विभिन्न नाकाबाट भित्रिएका थिए

साउन १६, काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा ३८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौँ उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा ३८ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ ।

काठमाडौँमा कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तर वृद्धि हुँदै गएपछि गृह मन्त्रालयले साँझ ७ बजेदेखि बिहान सात बजेसम्म उपत्यका प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले उपत्यका प्रवेशमा कडाइ गर्ने र अनावश्यक रुपमा सवारी प्रवेश अनुमति जारी नगर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा काठमाडौँका आठ जनामा सङ्क्रमणको पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पताल, टेकुमा तीन जना काठमाडौँ र दुई जना ललितपुरका बिरामीमा सङ्क्रमणको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले पाटन अस्पताल, ललितपुरमा चार जना, नेपाल प्रहरी अस्पतालमा १९ जना तथा नेपाल कोरिया मैत्री अस्पतालमा एक जना तथा वीर अस्पतालमा एक जना गरी काठमाडौँमा कुल ३८ जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुभयो । यसअघि बिहिबार काठमाडौँमा ४५ जना सङ्क्रमित थपिएको थियो । बुधबार १५ तथा मङ्गलबार ५३ जना सङ्क्रमितको पुष्टि भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.