भीम लामा ।
काठमाडौँ उपत्यकाभित्र मानव बस्तीको विकाससंगै खुम्चिएको शहरमा शान्त, सुन्दर र स्वच्छा हराभारा भएको वातावरण खोज्नेको संख्या प्रशस्तै भेटिन्छन् ।शहरको कोलाहल छल्न शान्त र मनोरम दृश्य तथा प्राकृतिक स्थलहरु रोज्नेहरु टोखा स्थित जोरमा रहेको बौडेश्वर झरना तथा मन्दिर पुग्ने गरेको पाईन्छ ।

त्यस्तै लकडाउन खुल्ने बित्तिकै युवा जोडी तथा परिवारका सदस्यहरु पर्यटकीय क्षेत्र जोर झरनामा रमाईरहेका छन् ।भिर, पहरा, छाँगा र छहराको संयोग प्राकृतिक छटाले भरिपूर्ण झरना उत्कृष्ठ पर्यटकीय गन्तब्यको रुपमा परिणत भएको छ । काठमाडौँको टोखा नगरपालिका वडा नंं १ जोरमा रहेको बौडेश्वर झरनामा पुगेका युवाहरु शरिर भिजाएर मनोरञ्जन गर्छन् ।

साँस्कृतिक, ऐतिहासिक र प्राकृतिक महत्व बोकेको बौडेश्वर झरना समाखुसीचोकबाट करिव १० किलोमिटरको दूरीमा रहेको छ । अन्य समयमा त्यहासम्म बस सञ्चालनमा रहेता पनि अहिलेको अविरल वर्षातका कारण बाटो बस चलेको छैन् । तर कार, मोटर साईकल, स्कुटर भने सहजै रुपमा पुग्न सकिन्छ ।

पहाडको माथिल्लो भागबाट झरना निरन्तर झरिरहन्छ र त्यहाँ पुग्नेहरु त्यसैमा रमाईरहेका हुन्छन् । दैनिक सयभन्दा बढि आन्तरिक तथा बाह्य पर्यटकहरु झरना हेर्ना आउने गरेको स्थानीयहरु बताउँछन् । त्यहाँ रहेको भगवान महादेवको शक्तिपीठले पनि त्यहाँ पुग्नेहरुलाई थप आकर्षित गर्छन् । झरना नजिकै रहेको अलौकिक गुफा छिरेर भगवान महादेवको पुजा गरेमा मागेको बर पाईने धार्मिक विश्वास रहेको छ । झरनासंगै पार्क र ठूला–ठूला पहाड र ढुंगामा बसेर फोटो खिच्नेहरुको भीड हुने गर्दछ ।












