साउन ५, चितवन । चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलो नजिकै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । अविरल वर्षापछि सोमबार बिहान सडकमा ठूलो पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।
उनका अनुसार हालसम्म पहिरो खसिरहेकोले तत्काल पहिरो हटाउन कठिनाइ भएको छ । पानी पर्न र पहिरो झर्न रोकिएपछि मात्रै पहिरो पन्छाउन सुरु गरिने उनले जनाकारी दिएका छन् । सडक अवरुद्ध हुँदा दुबैतर्फ सयौं सबारी साधनको लाइन लागेको छ । डीएसपी थापाले सवारी साधनहरु ओभरटेक नगरी आआफ्नो सवारीसाधन सुरक्षित स्थानमा रोक्न र सडक सुचारु भएपछि मात्रै आफ्नो पूर्ववत यात्रामा अगाडि बढ्न सवारी चालकलाई आग्रह गरेका छन् ।

