इपिजी प्रतिवेदन यसै महीना दुई प्रधानमन्त्रीलाई बुझाइने

साउन ४, काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘प्रबुद्ध व्यक्ति समूह’ (इपिजी) प्रतिवेदनको कार्यान्वयनले नेपाल र भारतबीचको सम्बन्धमा थप सुधार हुने धारणा व्यक्त गर्नुभएको छ ।

राजधानीमा आज भएको एक साक्षात्कार  कार्यक्रममा मन्त्री ज्ञवालीले भारतसँगको सम्बन्धका बारेमा समग्र पक्षमा छलफल गरी विगतमा देखिएका कमजोरीका बारेमा आत्मसमीक्षा भएको र समीक्षापछि २१औँ शताब्दी सुहाउँदो सम्बन्धलाई अगाडि बढाउनुपर्छ भनेर समझदारी बनेको बताउनुभयो । इपिजीको प्रतिवेदनले महत्वपूर्ण दिशानिर्देश दिने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपाल र भारतबीचका सन्धिसम्झौता पुनरवलोकनका लागि सुझाव दिन गठित इपिजीले तयार गरेको प्रतिवेदन यसै महिनाको अन्त्यसम्ममा दुवै मुलुकका प्रधानमन्त्रीलाई बुझाइने तयारी रहेको जानकारी उहाँले दिनुभयो । मन्त्री ज्ञवालीले तराईको डुबान समस्याका बारेमा समिति बनाई अध्ययन भइरहेको जानकारी दिँदै सीमा क्षेत्रलाई नियमनको व्यवस्था गरी थप व्यवस्थित बनाइने छ भन्नुभयो ।

उहाँले आन्तरिक मामिलाको विषय अब द्विपक्षीय छलफलको विषय नहुने बताउँदै भन्नुभयो, “राष्ट्रिय हितलाई केन्द्रमा राखेर सबैसँग मित्रता र कसैसँग वैरभाव नराख्ने नीति लिएका छौँ ।” मुलुकका आन्तरिक विषयमा मतान्तर भए पनि राष्ट्रिय हितका प्रश्नमा विभाजन हुन नहुने धारणा व्यक्त गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो, “छिमेकीसँग सौहार्द्र सम्बन्ध विस्तार, दातृ निकायसँगको सहयोगमा वृद्धि, श्रम गन्तव्य मुलुकमा श्रमिकका हकहित र संयुक्त राष्ट्र संघमा नेपालको भूमिका प्रभावकारी बनाउने नै हाम्रो विदेश नीति हो ।” प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीनको राजकीय भ्रमणले दुवै छिमेकीसँगको सम्बन्ध थप उचाइमा पुगेको बताउँदै उहाँलेरेल र जलमार्गका सम्बन्धमा उल्लेख्य प्रगति भएको जानकारी दिनुभयो । चीनसँगको हिमालय वारपार यातायातमा बृहत् साझेदारी तथा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा प्रगति भएको बताउँदै उहाँले छिमेकीसँगको सुमधुर सम्बन्धलाई मुलुकको आर्थिक विकासमा जोड्न सरकारको कूटनीति केन्द्रित छ भन्नुभयो ।

मन्त्री ज्ञवालीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तीव्र्र तयारी गरिरहेको जानकारी दिँदै झण्डै डेढ अर्ब जनसंख्या भई आर्थिक दृष्टिले गतिशील बिम्स्टेकका सहयोगका क्षेत्रमार्फत नेपाललाई सम्पर्क सञ्जालले जोडेर विकासमा योगदान पु¥याउन सकिने धारणा व्यक्त गर्नुभयो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.