कर्णालीमा १२ नयाँ सङ्क्रमित, १३ डिस्चार्ज

साउन २, सुर्खेत । पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेत, दैलेख, जुम्ला र चौरजहारी प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ७२६ पुगेको छ । नयाँ पहिचान भएकामा दैलेखका पाँच, जाजरकोट, सल्यानका दुईरदुई, मुगु, सुर्खेत र रुकुम पश्चिमका एक जना रहेका छन् । उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्लो चौबिस घण्टामा १३ जना सङ्क्रमित कोरोना निको भई घर फर्किएको बताए। प्रदेश अस्पताल सुर्खेतबाट एक, नारायण आइसोलेसन सेन्टरबाट एक, महाबु आइसोलेसन सेन्टरबाट दुई, बनगाड कुपिन्डे आइसोलेसन सेन्टरबाट नौ जना सङ्क्रमणमुक्त भई घर फर्किएका हुन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ४८८ पुगेको छ ।

हाल कर्णालीमा २३२ जनामात्र कोरोनाका सक्रिय बिरामी छन् । उनीहरुको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणका कारण छ जनाको मृत्यु भइसकेको छ । – रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.