असार २६, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली सेनाको मुख्यालय भद्रकालीमा रहेको फुटबल मैदान प्रयोग गर्ने भएको छ । कतार विश्व कप २०२२ को छनोट खेलका बेला उक्त मैदानलाई ट्रेनिङ मैदानका रूपमा एन्फाले प्रयोग गर्ने भएको हो ।
एन्फाले उक्त मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ड्रेसिङ चेन्जिङ रुम र रेफ्री रुम बनाएको थियो । त्यस्तै खेलाडीलाई आवश्यक लकर बक्स, फिजियोथेरापी बेड, मैदानलाई लेभलिङलगायतका काम एन्फाले गरिसकेको छ ।
विश्व कप छनोटका लागि होम म्याचहरू आयोजना गर्नुपर्ने भएकाले होम म्याचमा सहभागी हुन आउने मित्र राष्ट्रका फुटबल खेलाडीलाई अभ्यासका लागि एक अन्तर्राष्ट्रिय स्तरयुक्त खेल मैदान आवश्यक पर्ने भएकाले उक्त मैदानलाई स्तरयुक्त बनाएको एन्फाले जनाएको छ । उक्त काम एन्फाले करिब १५ लाखको लागतमा बनाएको र शुक्रबार सेनालाई हस्तान्तरण गरेको हो । अब उक्त मैदानलाई घरेलु भूमिमा विश्व कप छनोट खेल्न आउने विदेशी टोलीले ट्रेनिङ सेन्टरका रूपमा प्रयोग गर्नेछन् । त्यस्तै आवश्यक परेको खण्डमा सेनाको त्रिभुवन आर्मी क्लबले समेत मैदान प्रयोग गर्न पाउने छन् ।
कोरोना भाइरसका कारण स्थगित भएका बाँकी छनोटका खेल अक्टोबर ८ देखि सुरु हुने छन् । छनोटअन्तर्गत समूह बीमा रहेको नेपालले आफ्नो अन्तिम तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले बाँकी तीनै खेल घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ । सुरुका पाँच खेलमा नेपालले १ जित र ४ हारसहित ३ अंक जोडेको छ ।

