१६ विदेशीलाई नागरिकता र राहदानी दिने प्रशासकीय अधिकृत पक्राउ

असार २२, झापा । पाँच वर्ष अघि विदेशी नागरिकलाई नेपाली नागरिकता र राहदानी बनाइदिएको अभियोग लागेका झापा जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार ०७२ मङ्सिर १० गते झुठो विवरण पेश गरी १६ जना विदेशीलाई नेपाली नागरिकता दिलाएको अभियोगमा झापा जिल्ला अदालतले आचार्यसहित ४६ जना अभियुक्तविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । तत्कालीन प्रशासकीय अधिकृत आचार्यलाई झापाबाट खटिएको प्रहरी टोलीले काठमाडौँको गठ्ठाघरबाट शनिबार पक्राउ गरी झापा ल्याएको छ । आइतबार उनलाई अदालतसमक्ष पेश गरिएको प्रहरीले जनाएको छ । सो नागरिकता काण्डका आरोपितमध्ये जिल्ला प्रशासन कार्यालयका खरिदार तेजिन्द्र न्यौपाने र बिर्तामोड–८ का वडासचिव लोकराज बराल एक वर्ष अघि पक्राउ परिसकेका छन् भने विर्तामोड–५ का टेकबहादुर गुरुङ, भद्रपुर–१० का प्रेम तिम्सिना र भद्रपुर–१० का भीमबहादुर लिम्बूसमेत पहिल्यै पक्राउ परेका थिए ।

पक्राउमध्ये कतिपय धरौटीमा छुटिसकेका पनि छन् । भद्रपुर–९ का वडाध्यक्ष शनिलाल राजवंशी, विर्तामोड–८ का वडाध्यक्ष अजय कार्की, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन अधिकृत गौरव ढुङ्गेल, अर्का अधिकृत चुडाराज भट्टराई, टोली प्रमुख नारायण काफ्ले र चिरञ्जीवी अधिकारी, सुब्बा नायब मेघराज निरौला, भद्रपुर–९ का वडा सचिव अरुणा भट्टराई, बाहुनडाँगी गाविसका तत्कालीन सचिव भवकृष्ण न्यौपाने लगायतका अभियुक्त अझै फरार छन् ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.