गुरुपूर्णिमाः गुरुहरुप्रति श्रद्धाभाव व्यक्त गर्दै गुरुपूर्णिमा मनाईदै

असार २१, काठमाडौँ । असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य, सीप र प्रविधि प्रशिक्षण गराउने गुरु लगायतप्रति श्रद्धाभाव व्यक्त गर्दै गुरुपूर्णिमा मनाइँदैछ । यसै दिन गुरु वेदव्यासको जन्म भएकाले वेदव्यास जयन्ती मनाउने गरिन्छ ।

पौराणिक साहित्यमा व्यास जयन्तीको व्याख्या भए जसरी तन्त्र विद्यामा ब्रह्मा, विष्णु, महेश्वरको स्वरूपलाई गुरु मानिएको छ । पशुपतिनाथका गुरु दक्षिणामूर्तिको मन्दिर वर्षको एक दिन यसै उत्सवमा नागरिकका लागि खुला रहन्छ । सामाजिक दूरी कायम गरेर दक्षिणामूर्तिमा दर्शन गर्न सकिने व्यवस्था गरिएको पशुपतिनाथका कोतवाल पूर्णनारायण जोशी बताउनुहुन्छ ।

राजगुठी अन्तर्गतका मुलुकका सबै नाथ अखडामा गुरु गोरखनाथको अर्चना गरिँदैैछ । जुम्लामा छिप्रानाथ योगीको पूजन हुँदैछ । आर्यघाटमा रामनाथ अघोरीको प्रतिमामा अर्चना हुँदैछ । यसै दिन पशुपति मन्दिर परिसरमा रहेको कीर्तिमुख भैरवमा पञ्चवली पूजा समेतको तयारी रहेको पशुपति गुठी गोश्वाराका प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

व्यास जयन्ती

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोजिएको छ–

‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय, पापाय परपीडनम्’ ।।

अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवम् अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन् ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.