अनलाईन करातेमा नेपाललाई १० पदक

असार २०, काठमाडौं । अनलाइन कराते कातातर्फ नेपालले १० पदक जितेको छ । नेपालले आईएसकेयू इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा चार स्वर्ण तथा तीन–तीन रजत र कास्य पदक जितेको हो ।

नेपालका तर्फबाट सञ्जु देसार, दिक्षा महतरा, प्रशन्न घर्ती मगर, सत्कार घर्ती मगरले स्वर्ण जितेका हुन् । सञ्जुले महिला क्याडेट स्पर्धामा श्रीलङ्काकी एसएभी देभमिनी डी सिल्भालाई पराजित गरी स्वर्ण जितेकी हुन् । यस्तै १० वर्ष मुनिको स्पर्धामा दीक्षाले इरानकी साबा रोहीलाई हराउँदै स्वर्ण जितिन् । सात वर्ष मुनिको स्पर्धामा प्रशन्नले भारतका सात्विक खेतानलाई पराजित गरी स्वर्ण जिते भने आठ वर्ष मुनिको स्पर्धामा सत्कारले श्रीलङ्काका थरुशा लकमललाई हराएर स्वर्ण पदक हात पारेको प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिए ।

यसैगरी सो च्याम्पियनसिपमा नेपालका मनिष कार्की, स्वेता तामाङ र सृजना महतराले रजत पदक प्राप्त गरे । मनिषले पुरुष क्याडेटतर्फ, स्वेताले महिला नौ वर्ष मुनिको स्पर्धामा तथा सृजनाले १३ वर्ष मुनिको समूहमा रजत प्राप्त गरेका हुन् । यस्तै १३ वर्ष मुनिको स्पर्धामा अमृत थोकरले, १० वर्ष मुनिको स्पर्धामा ओन्तो घर्ती मगरले तथा नौ वर्ष मुनिको पुरुष स्पर्धामा मुकेश खड्काले नेपाललाई कास्य पदक दिलाए ।

इन्टरनेशनल सोतोकान कराते युनाइटेड (आईएसकेयू) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाइटेड (आईएसकेयू) को संयुक्त आयोजनामा उक्त च्याम्पियनसिप बिहीबार शुरु भएको हो । सो प्रतियोगिता आइतबारसम्म चल्नेछ । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.