असार १४, काठमाडौं । क्योकुसिन कराते तथा उसुका अन्तर्राष्ट्रिय नेपाली खेलाडी वीरमान लामा (वाइवा) को निधन भएको छ । सुतेकै अवस्थानमा आइतबार बिहान काभ्रेस्थित आफ्नै घरमा उनको निधन भएको हो ।
शनिबार मलामीबाट फर्केपछि आरामका लागि सुतेका उनी आइतबार बिहान अबेरसम्म पनि नउठेपछि परिवारका सदस्यले उठाउन खोज्दा उनी मृत अवस्थामा भेटिएका हुन् । लामा विगत दुई दशकयता नेपाली खेलकुदमा आबद्ध थिए । उनी एक दशकसम्म नेपालका राष्ट्रिय विजेतासमेत रहेका थिए ।
क्योकुसिन करातेका राष्ट्रिय विजेता रहेका उनले करातेबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागी जनाउँदै नेपालको प्रतिनिधित्व गरेका थिए । लामाले दुई वर्षअघि इन्डोनेसियामा सम्पन्न एसियाडमा पनि नेपालको चुनौती प्रस्तुत गरेका थिए ।

