नेकपाको स्थायी कमिटी बैठक १६ गतेसम्म स्थगित, २१ जना सदस्यको आयो धारणा

असार १३, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ । आइतबार मदन जयन्ती र सोमबार असार १५ रहेकाले बैठक १६ गतेका लागि राखिएको हो ।

बैठकबारे शनिबार अपरान्ह जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई दिन बैठक स्थगित गरिएको बताउनुभयो । बैठकमा राष्ट्रिय सहमति कायम गरी नेपालको नक्सामा समावेश गरिएको भूमि कूटनीतिक माध्यममार्फत भारतसँग वार्ता गरी फिर्ता ल्याउनुपर्नेमा जोड दिइएको छ । बुधबारदेखि जारी नेकपाको स्थायी कमिटीको बैठकमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रियता, सार्वभौसत्ता, अखण्डताका विषयमा कोही कसैसँग सम्झौता हुनै नसक्ने र नेपालको भूमिमाथि कुनै पनि प्रकारको गतिविधि सह्य नहुने बताउनुभएको थियो ।

केही दिनअघि मात्रै सरकारले संविधान संशोधनमार्फत मिचिएको भूमिसमेत समावेश गरी अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको अनुसूचीमै समावेश गरिसकेको छ । “संविधानले नै निदृष्ट गरेको नेपालको भूमिलाई राष्ट्रिय एकताद्वारा भूमि प्राप्त गर्ने विन्दुसम्म पु¥याउनुपर्छ भन्नेमा स्थायी कमिटी सदस्यहरुको जोडको जोड थियो ।

२१ जना सदस्यको आयो धारणा

देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, रघुजी पन्त, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईं, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत, बामदेव गौतम, योगेश भट्टराई, पुथ्वीसुब्बा गुरुङ, ईश्वर पोखरेल, विष्णुपुकार श्रेष्ठ र पुष्प कँडेलले राष्ट्रियता एवम् समसामयिक राजनीतिक विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो । शुक्रबार पनि सीमा अतिक्रमणको कार्यसूचीमा छलफल भएको थियो ।

आगामी बैठकको पहिलो चरणमा सीमासम्बन्धी तथा दोस्रो चरणमा कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण, उपचार र त्यससँग सम्बन्धित पक्षका बारेमा छलफल हुनेछ । त्यसपछि सरकार तथा पार्टीको काम कारवाहीको विषयमा प्रवेश हुने जनाइएको छ ।

संविधान संशोधनमार्फत मुलुकको सम्पूर्ण भूभाग समेटिएको नक्सा प्रकाशित गरी त्यसलाई संविधानको अनुसूचीमा समावेश गरी भौगोलिक अखण्डताको रक्षाको सन्दर्भमा ऐतिहासिक पहल भएको स्मरण गरेको प्रवक्ता श्रेष्ठले बताउनु भयो । उक्त कार्यको प्रशंसा गर्दै सदस्यहरुले मुलुकको राष्ट्रिय सार्वभौमिकता रक्षाको सन्दर्भमा कोसेढुङ्गा साबित भएको धारणा राख्नुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

ओली स्वास्थ्यस्थिति अनुकूल नरहेको जानकारी

आजको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भई स्वास्थ्यस्थिति अनुकूल नरहेको जानकारी दिएर निस्कनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । बुधबार पार्टीका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो धारणा राखेर शुरु भएको बैठकमा बिहीबार र शुक्रबार सीमासम्बन्धी विषय तथा पार्टीको आन्तरिक विषयमा छलफल भएको थियो ।

लामो समयपछि बसेको सत्तारूढ दलको स्थायी कमिटीको बैठकले पार्टीको आन्तरिक राजनीति एवम् मुलुकको समसामयिक विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । यस्तै, एमसिसी,कोरोना रोकथामलगायत विषयमा रहेको द्विविधालाई समेत सम्बोधन गर्न बैठक सफल हुने विश्वास लिइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.