असार १२, काभ्रे । काभ्रेको रोशीगाउँपालिकामा गोली चलेको छ ।
लुटेरा समूहले गोली चलाएको प्रहरीले जानकारी दिएको छ। रोशी गाउँपालिकाम ५ मा रहेको बुद्ध चित्त लुट्न आएको समूह र प्रहरीबिच जम्काभेट हुँदा गोली चलेको हो। जिल्लाको रोशी गाउँपालिका वडा नं. ५ मा अज्ञात समुहद्धारा करोडौँको बुद्धचित्त माला लुटपाट गर्न खोज्दा दुई पक्षबीच झडप समेत भएको छ । रोशीस्थित सिपाली नागबेलीमा रहेको बुद्धचित्त मालासँगैका तीनवटा घरसमेत तोडफोड गरी माला लुटेका हुन् ।
घट्नास्थलतर्फ प्रहरीको टोली गएको जानकारी आएको छ । लुटपाटको क्रममा बुद्धचित्त माला संरक्षणका लागि बसेका गाउँलेहरुसँग मध्यराति दोहोरो झडप समेत भएको थियो । झडपका क्रममा ४ जना गम्भिर घाइते भएका छन् भने एकजना सामान्य छन् । घाइते हुनेहरुमा श्याम लामा, जित बहादुर तामाङ, बाबू लामा, शेखर लामा, वाङटुब लामा छन् । घाइतेहरुको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बुद्धचित्त मालाहरुमध्येकै बहुमूल्य मालाको रुपमा परिचित यो मालाको विषयमा लामो समयदेखि विवाद थियो ।
प्रत्येक वर्ष सोही क्षेत्र र रोशीगाउँपालिकाभित्र मालाकै विवादका कारण युवाहरुवीच सामुहिक झगडा हुदै आएको छ । त्यस्तै रोशी ३ मा पनि केही वर्षअघिदेखि विवादित रहेको मालाको विषयमा जनप्रतिनिधि नै संलग्न रहदै आएको विभिन्न सञ्चार माध्यममा आएपछि केही हप्ताअघि मात्र गाउँपालिका न्यायिक समितिबाट विवाद टुंगो लगाइएको छ । तथापी वडा अध्यक्ष नै किर्ते कार्यमा संलग्न रहेको भन्दै केही स्थानीय युवाहरुले अख्तियारमा समेत मुद्ध दर्ता गराएको खुल्न आएको छ । गाउँपालिकामा मालाकै विवादका कारण हिंसात्मक कार्य तिब्र गतिमा बढेपनि गाउँपालिका प्रमुख डि.बि लामाले भने व्यवस्थापनको ठोस निर्णय लिन नसकिएको स्थानीयहरुको आरोप छ । जनप्रतिनिधिहरु आफै जनताको सेवाभन्दा व्यापारमा तल्लिन हुदैँ गएपछि उनिहरुकै आटमा उश्रृखल गतिविधि बढ्दै गएको बुझ्न आएको छ ।

