असार १०, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७÷ ७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । बुधबार महानगरपालिकाको सातौँ नगरसभामा महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले उक्त बजेट सभामा पेश गर्नुभएको हो ।
महानगरपालिकाले आर्थिक विकास क्षेत्रका लागि १७ करोड २३ लाख रुपियाँ, प्रशासनिक क्षेत्रको लागि एक अर्ब ७८ करोड, २७ लाख, ५० हजार रुपियाँ विनियोजन गरेको छ । पूर्वाधार विकासका लागि आठ अर्ब ४३ करोड ४३ लाख ७१ हजार रुपियाँ, सामाजिक विकास क्षेत्रका लागि दुई अर्ब ४९ करोड ९८ लाख रुपियाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ९६ करोड ३० लाख रुपियाँ आगामी वर्षका लागि सभामा पेश गरेको हो । आन्तरिक स्रोतबाट छ अर्ब ७६ करोड, ६५ लाख रुपियाँ र बाह्य स्रोतबाट छ अर्ब १६ करोड आठ लाख २६ हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । कुल आम्दानीमा नपुग तीन अर्ब ५० करोड रुपियाँ बैङ्क मौज्दातबाट व्यहोर्ने गरी महानगरपालिकाले योजना बनाएको छ । महानगरपालिकाले आन्तरिक स्रोतबाट कुल बजेटको ४१ दशमलब १९ प्रतिशत रकम आम्दानी हुने लक्ष्य लिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो ।
महानगरपालिकाले कोरोना भाइरसबाट सिर्जित समस्याको समाधानका लागि विशेष कार्यक्रम बजेटमा विनियोजन गरिएको आगामी वर्षको बजेटमा उल्लेख गरिएको छ । कोभिड–१९ को असर र रोकथाम न्यूनीकरणलाई प्राथमिकता महानगरपालिकाको कार्यालय भवनको निर्माण, भर्टिकल पाकिङ्ग, भवन निर्माण, पर्यटन पदमार्ग विकास, कोटेश्वर तीनकुनेमा बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा करिडोर निर्माण, सहरी यातायात व्यस्थापन लगायतका कार्यक्रमहरूलाई बजेटमा प्राथमिकतामा राखिएको छ ।
त्यस्तै समृद्धिका लागि सहरी अभियान, सामूहिक सीप विकास, मेड इन काठमाडौँ, जीवन निर्वाहका लागि पारिश्रमिक कार्यक्रम, प्रविधीमैत्री सिटी, लाइब्रेरी, महानगर महिला सहजीकरण केन्द्र स्थापना युवासँंग मेयर कार्यक्रम र वडा–वडामा मेलमिलाप शिविर सञ्चालन गर्ने योजना बजेट मार्फत सार्वजनिक गरेको छ ।
सम्पदा संरक्षणमा जोड
महानगरपालिकाले आगामी आर्थिक वर्षमा सम्पदा संरक्षणमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । महानगरबाट सञ्चालित विकास कार्यक्रमको सुनिश्चितताको लाकि सुत्रमा आधारित बजेट प्रणाली, महानगरपालिकाको प्रशासनिक सुधार, मितव्ययीता र पारदर्शीतापूर्ण कार्य प्रणाली, भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने नीति गरी बजेट सार्वजनिक गरेको हो । सार्वजनिक गर्दै उपप्रमुख हरिप्रभा खड्गीले विकासका कार्यक्रम निर्धारित समयमै सम्पन्न गर्न जनप्रतिनिधि र कर्मचारी सबैको उच्च निष्ठा र प्रतिबद्धता आवश्यक भएको बताउनुभयो । महानगरपालिकाले आगामी वर्षका लागि गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको जनाएको छ ।
महानगरपालिले कोभिड–१९ को प्रभावका कारण करदाताहरूबाट असुल हुन बाँकी रहेको आर्थिक बर्ष २०७६र०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पूरै छुट दिएको छ । त्यस्तै, आगामी पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक वर्षमा लाग्ने सम्पत्ति करमा दश प्रतिशत छुट दिने नीति लिएको तर महानगरले घर जग्गा कर वा सम्पत्ति करको बक्यौताको हकमा त्यस्तो छुट नदिने जनाएको छ ।
होटल तथा पर्यटन क्षेत्रलाई सम्पति करमा छुट
महानगरपालिकाले हाल कोभिड–१९को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा परेको असरलाई मध्यनजर गरी होटल, रिसोर्टका नाममा घर जग्गा भई वा लिजमा लिई होटेल, रिसोर्ट निर्माण गरी सञ्चालन भएको करदाताको हकमा आर्थिक वर्ष २०७६÷७७ सम्मको घरजग्गा कर र सम्पत्ति कर चुक्ता गरेमा आर्थिक वर्ष २०७७÷७८ को सम्पत्ति करमा थप ७५ प्रतिशत छुट दिने नीति लिएको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाले कोरोना भाइरसबाट प्रभावित घर भाडामा बस्ने नगरबासीहरूलाई पर्नगएको असरलाई मध्यनजर गरी कम्तीमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६र७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा वार्षिक बहाल करमा दश प्रतिशत छुट दिने बजेट मार्फत सार्वजनिक गरेको छ ।–रासस

