प्रारम्भ खबर
राजधानीसंगै जोडिएको काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका स्थित दाप्चा बजार संरक्षणको पर्खाइमा रहेको छ । प्राचीनकालदेखि ऐतिहासिक र पौराणिक रुपमा चिनिने उक्त दाप्चा बजार २० वर्ष अघि निकै व्यस्त रहे ता पनि अहिले भने सुनसानको स्थिति बनेको छ ।
२० वर्ष अगाडी पूर्वी ओखलढुंगा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक लगायतका जिल्लाको व्यापारिक केन्द्रविन्दुको रुपमा रहेको दाप्चा बजार अहिलेको बनेपा बजारभन्दा बढि व्यस्त र दैनिक उपभोग्य सामाग्री लिन आउनेहरुको ठूलो चहपहल हुने गरेको स्थानीय माधवकुमार श्रेष्ठ बताउँछन् । उक्त बस्तीमा नेवारहरुको बाग्लो बसोबासका कारण सबै घर तथा भौतिक संरचनाहरु नेवारी शैलीमा बनेका छन् । त्यहाँका मूख्य धार्मिक पाठपुजा गर्ने स्थान भनेको कृष्ण मन्दिर रहेको छ । हरेक वर्ष कृष्ण जन्मअष्टमीमा धुमधामसंग जात्रा लाग्ने स्थानीय श्रेष्ठले भनाई रहेको छ । पहिला पहिला रात्री रथ यात्रा हुने गरेको र माओवादी द्वन्द्वका कारण अहिले दिउँसोको समयमा मात्र रथ यात्रा गर्ने गरेको बताउँछ । दाप्चालाई तल्लो हटिया र मास्लो हटियाको रुपमा चिनिन्छन् । उक्त बजारमा प्रत्येक मानिसहरुको बाग्लो उपस्थितिका कारण सधै मेला जतिकै भएका कारण हटिया नामाकरण भएको पनि उल्लेख गरिन्छ ।
पहिला–पहिला बटुवाहरु धान, तोरी, मकैको व्यापार गर्न आउने गरेको र उनीहरु त्यहाँ बास बस्दाँ खुकुरीको दाप भुईमा बिसाएर आरा मगर्ने र सुत्ने गरिएकोले दाप्चा नाम रहेको स्थानीय माधव श्रेष्ठ बताउँछन् । त्यस बेलाको प्रख्यात बजार अहिले सुनसान अवस्था पुग्दा चिन्तित छन् त्यहाँका स्थानीयहरु । त्यस्तै दाप्चा बजारमा रहेका भौतिक संरचना मठ मन्दिर र घरको संरक्षणका साथै बाटोको मर्मत सम्भारको आवश्यकता रहेको स्थानियहरु बताउँछन् । उक्त बजार बाटो निर्माणका लागि पुरतत्विक विभागबाट ३३ लाख बजेट छुट्याएको जानकारी पाए पनि निर्माण कार्य कहिले सुरु हुने त्यहाँका स्थानियहरु अझै ओझेलमा छन् ।
अहिले स्थानीय निकायको निर्वाचन संगै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुदाँ पनि चुनावकै समयमा आश्वासन भाँड्ने राजनीतिक दलहरु मात्र आएकोमा चिन्ता व्यक्त गर्दै अवको पुर्ननिर्माण निर्वाचित जनप्रतिनिधिले काभ्रेको एक मात्र पौराणीक र ऐतिहासिक बस्ती अर्थात् दाप्चा बजारको संरक्षण तिब्र गतिमा निर्माण होस् भन्ने आशा त्यहाँका स्थानीयहरु व्यक्त गरिरहेका छन् ।