सातवर्षपछि मात्रै विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिन सकिने नेकपाको निष्कर्ष

असार ६, काठमाडौँ । संसद्मा विचाराधीन रहेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे नेपाल कम्युनिष्ट पार्टी नेकपाले विवाह गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिन सकिने निष्कर्ष निकालेको छ ।

नेकपा सचिवालयको शनिबार बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । “सचिवालय बैठकमा अहिले संसदमा विचाराधीन रहेको नागरिकता विधेयकको प्रावधानको बारेमा छलफल भयो । जसअनुसार नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगीकृत नागरिकताको प्रावधानबारे छलफल गरेर निष्कर्ष निकालिएको छ,” नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “त्यस्तो नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सातवर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा रहेको नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए परित्याग गर्ने कारवाही चलाएको प्रमाण पेस गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक व्यक्तिले नागरिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालियो ।”

तर सामाजिक सांस्कृतिक र आर्थिक अधिकार भने विवाह गरेको दिनदेखि नै प्राप्त गर्न सक्ने गरी आवासीय परिचयपत्रको व्यवस्था गर्न सकिने उनको भनाइ थियो । २०७५ सालेदखि संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयकमा यसअघि राज्यव्यवस्था समितिमा रहेका सदस्यहरुलाई बोलाएर नेकपाका अध्यक्षद्वयले छलफल गरेका थिए । सबै सांसदहरुले सातवर्षको अवधिपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने बताएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.