असार ३, काठमाडौं । कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ३४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ३४ हजार ७९६ पुगेको छ ।
कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल छ भने तेस्रोमा बेलायत, चौथोमा इटली तथा पाचौंमा स्पेन छ । यता, संक्रमितको संख्या भने विश्वमा ७९ लाख ४१ हजार ७९१ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका नै छ भने दोस्रो नम्बरमा ब्राजिल छ । त्यसपछि क्रमशः रुस, भारत, बेलायत, स्पेन, इटली, पेरु, इरान, जर्मनी, टर्की, चिलीलगायत देश छन् ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ । संयुक्त राष्ट्रसंघले कोरोना नियन्त्रणमा अफ्रिकाबाट अमेरिका तथा युरोपले सिक्नु पर्ने बताएको छ ।

