गण्डकी प्रदेशको बजेट रु ३४ अर्ब ८४ करोड

असार १, कास्की । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि रु ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार बजेट सार्वजनिक गरेको छ । यो चालू आर्थिक वर्षको भन्दा रु २ अर्ब ७० करोड ७३ लाख ६८ हजार बढी हो ।

गण्डकी प्रदेशसभाको सोमबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उक्त बजेटमध्ये चालू खर्चतर्फ रु १४ अर्ब ८४ करोड २६ लाख ८४ हजार (४१.२ प्रतिशत) र पूँजीगत खर्चतर्फ रु १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार (५७.४ प्रतिशत) बजेट विनियोजन गरिएको बताए। उनले वित्तीय व्यवस्थापनतर्फ ५० करोड (१.४ प्रतिशत) बजेट विनियोजन गरेको जानकारी दिए । मन्त्री गुरुङले विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका बीच बजेट ल्याइएको उल्लेख गर्दै कोरोना रोकथाम र नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताए। आगामी आर्थिक वर्षका लागि अनुत्पादक क्षेत्रको खर्च कटौती गरिएको उनले जानकारी दिए।

सरकारले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारका लागि रु ६० करोड ४० लाख विनियोजन गरेको उल्लेख गर्दै मन्त्री गुरुङले विनियोजित बजेट कोरोना महामारीविरुद्धको लडाईंमा खर्च गरिने बताए । उनले सबै जिल्ला अस्पतालमा आइसोलेशन वार्ड थप्ने, सघन उपचार कक्ष सञ्चालन गर्ने र अस्पतालको भौतिक पूर्वाधार विकास गर्नका लागि यो रकम खर्च हुने उनले बताए।

मन्त्री गुरुङले कृषि क्षेत्रको विकासका लागि सरकारले मुख्यमन्त्री जलवायु कृषि कार्यक्रमलाई रु चार करोड २६ लाख बजेट विनियोजन गरेको उल्लेख गर्दै मुस्ताङ, मनाङमा स्याउ उत्पादन कार्यक्रम, एक बाली एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिन बजेट विनियोजन गरेको जानकारी दिए। सरकारले कोरोना भाइरसबाट प्रभावित भएको नीजि क्षेत्रको राहतका लागि रु एक अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिदैं उनले ‘व्यवसाय जीवन रक्षा’ शीर्षक दिइएको उक्त कोषको रकम कोरोना महामारीका कारण ध्वस्त भएको निजी क्षेत्रको राहतका लागि खर्च गरिने बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.