असार १, जनकपुर । धनुषाको सबैला इलाका प्रहरी कार्यालयमा गत मंगलबार राति भएको एक जना थुनुवाको शंकास्पद मृत्युसम्बन्धी घटनामा दुई जना वडाध्यक्षसमेत छ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
दुई सातादेखि सवारी ज्यान मुद्दामा थुनामा रहेका सबैला १२, वरकुर्वाका २४ वर्षीय शम्भु सादा मंगलबार राति थुनुवा घरभित्रै रहेको सौचालयमा घाँटीमा पासो लगाएको अवस्थामा मृत देखिएको थियो । शम्भुले चलाउने ट्रयाक्टरले किचेर एक महिलाको मृत्यु भएपछि उनी सोही मुद्दामा थुनामा थिए । प्रहरीले उक्त घटनालाई आत्महत्या भनिरहेको छ भने मृतक परिवारले हत्यागरी झुन्ड्याइदिएको आरोप लगाउँदै आन्दोलित छन् । उनीहरुले मुद्दा दर्ता नभएसम्म शवको पोष्टमार्टम समेत हुन नदिने अडान लिएपछि घटनाको छैठौं दिन सोमबार मुद्दा दर्ता भएको हो ।
पीडित परिवारले सबैलाका वडा नम्बर १ र २ का अध्यक्ष क्रमशः पारस साह, सन्तोष साह, इलाका प्रहरी कार्यालयका इन्सपेक्टर चन्द्रभुषण यादव, ट्रयाक्टर चालक संजय साह लगायत छ जना विरुद्ध किटानी जाहेरी दर्ता गराइएको हो । दुई दिन अगाडि जिल्ला प्रहरी कार्यालयले लिन नमानेपछि सोमबार सोही जाहेरी सरकारी वकिल कार्यालयमा दर्ता गराइएको छ ।
जाहेरी दर्ता गरेपछि आवश्यक अनुसन्धानको लागि सोमबारै जिल्ला प्रहरी कार्यालयमा पठाइदिएको सरकारी वकिल कार्यालय धनुषाका प्रवक्ता शान्तिप्रसाद बरालले जानकारी दिए । सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता भएपछि इन्सपेक्टर यादवलाई तत्काल निलम्बन गर्ने कि अन्य बाटो रोज्ने विषयमा जिल्ला प्रहरी कार्यालयले कानुनी सल्लाह लिइरहेको स्रोतले जनाएको छ ।

