जेठ ३१, काठमाडौँ । प्रतिनिधिसभाको बैठकले दुई तिहाई भन्दा बढी मतका साथ संविधानको दोश्रोे संशोधन विधेयक २०७७ पारित गरेको छ ।
नेपालको सविधान दोश्रो संशोधन विधेयक २०७७ लाई दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो । प्रतिनिधिसभा नियमावलि अनुसार गरिएको मत विभाजनमा संशोधन विधेयक पास गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय ५८ मत परेको हो । संविधान संशोधन विधेयक पारित गर्नका लागि तत्काल कायम रहेको सम्पुर्ण सदस्य संख्याको दुई तिहाई बहुमत आवश्यक पर्छ । सभामा उपस्थित सबै २ सय ५८ जनाले नै प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

संशोधन प्रस्ताव पारित भएसँगै नेपाली भूभाग लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावीसहितको भूभाग नेपाली नक्सामा समेटिएको छ । संसदबाट विधेयक पारित भएपछि नयाँ नक्साले संवैधानिक मान्यता प्राप्त गरेको छ ।

लामो समयदेखि भारतले अतिक्रमण गरी राखेका नेपालका भूूमि फिर्ता गर्न सरकारले सक्रियता देखाएसंगै संविधान संशोधनको पक्षमा सबै राजनीतिक दलहरुले मत जाहेर गरेका थिए ।

नेपालीको लागि ऐतिहासिक क्षणको रुपमा सावित भएको उपलक्ष्यमा देशभर दीप प्रज्वलन गरी खुसीयालीमा मनाएको छ । त्यस्तै काठमाडौँका विभिन्न स्थानहरुमा नागरिकहरु, राजनीतिक दल तथा विभिन्न संघसंस्थाले दीप प्रज्वलन गरी खुसीयाली मनाएका छन् ।

