कोरोनाबाट थप दुईको मृत्यु, संक्रमितको संख्या ५३३५ पुग्यो

जेठ ३१, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ बाराका पाँच वर्षीय बालकको मृत्यु भएको हो ।

यस्तै डिस्चार्ज हुनेको सङ्ख्या भने ३६ पुगेको छ । हालसम्म ९१३ जना डिस्चार्ज भएका छन् । त्यसमा ८२२ पुरुष र ९१ महिला रहेका छन् । निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो । निमोनिया भएका ती बालकको आरडिटी र पिसिआर दुवै परीक्षण गर्दा दुवैमा पोजेटिभ देखिएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार ६६१ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म पिसिआर परीक्षण गर्नेको सङ्ख्या कूल एक लाख २७ हजार २८८ पुगेको छ । यस्तै आरडिटी परीक्षणको सङ्ख्या एक लाख ९० हजार ५८२ पुगेको छ । पछिल्लो २४ घण्टामा आरडिटी परीक्षण मात्रै दुई हजार ५२० को गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित भएकामा २४७ पुरुष र ३६ महिला रहेका छन् । हालसम्म कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३३५ पुगेको छ । यस्तै मोबाइल एप र मन्त्रालयको बेवसाइटमा भरिएको विवरणका आधारमा रेड जोनमा पर्नेको सङ्ख्या आज थप दुई गरी ४९७ पुगेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.