विश्वव्यापी दृष्टिले हेर्दा आजको स्कुल शिक्षा कक्षा १२ नै हो– रमेश शुभेच्छु

लकडाउनपछिको नेपाली समाजको अवस्था हिजोभन्दा भिन्न लयमा अगाडि बढ्ने सम्भावना छ । यसले शैक्षिक आर्थिक सामाजिक क्षेत्रमा निकै ठुलो प्रभाव पारिरहेको छ । हामी हाम्रो सञ्चारमाध्यमबाट यस्ता विषयलाई लिएर नियमित विचारहरु प्रकाशन गर्दै आएका छौँ । यस हप्ता रमेश शुभेच्छुका विचारलाई समेट्ने प्रयास गरेका छौँ । शुभेच्छु शिक्षा, साहित्य, संस्कृति र सामाजिक सरोकारका बहुमुखी क्षेत्रमा सक्रिय प्रखर युवा चिन्तक एवम् विश्लेषक हुनुहुन्छ । प्रस्तुत छ वर्तमान कोभिड महामारीका कारण समाज र शिक्षा क्षेत्रमा परेको प्रभाव, भावि चुनौति र सम्भावनाका बारेमा शिक्षासेवी उनै रमेश शुभेच्छुसँग प्रारम्भ खबरका लागि भीम लामाले गरेको विशेष कुराकानीको सम्पादित अंश

यहाँको लकडाउनको समय कसरी बितिरिहेको छ ?
मेरा व्यक्तिगत जीवनमा लकडाउनले उस्तो असर गरेको छैन । म बसेको ठाउँ आसपासमा पनि अहिलेसम्म यस महामारीको असर देखिएको छैन । मेरो वैयक्तिक सिर्जनयात्रामा भने यो समयले केही सघाएको छ । म केही न केही नयाँ कुरा सिकिरहेको र लेखिरहेको छु । सम्पादन गर्नुपर्ने, भूमिका लेख्नुपर्ने, आफ्नै सिर्जनाहरु संकलन सम्पादन गर्नुपर्ने धेरै काम अलपत्र थिए म तिनै काममा लागिरहेँ । लगिरहेको छु । केही थान पुस्तक थपिने भएका छन् । अरुबेला धेरै काम भ्याएर पनि जेजति लेख्न सकिन्थ्यो, विश्वमा महामारी फैलिएको यस्तो वातावारणमा घरैमा बसिरहे पनि अपेक्षित काम गर्न भने सकिँदो रहेनछ ।

व्यवहारिक जीवन चाहिँ कसरी चलिरहेको छ ?
मेरो दैनिकी चल्ने आधार मूलतः क्याम्पसबाट आउने तलब र केही लेखकस्व नै हो । गर्न त म विभिन्न संस्थामा काम गर्छु । एउटा संस्थाले भने वैशाखको आधा मात्र तलब दिएको छ । अब अरुले के गर्छन् । केही रिनमापन पनि छ । पछिको पो चिन्ता छ । यी व्यक्तिगत कुरा भन्दा तपाइँले सोध्न खोजेको मूल कुरैमा लागौँ न ।

यहाँ एक शिक्षासेवी व्यक्तित्व हुनुहुन्छ । लामो समयदेखि विद्यालय र महाविद्यालयमा अध्यापन गरिरहनुभएको छ । यस्तो महामारीको अवस्थामा समय सदुपयोगका लागि आम विद्यार्थीहरुलाई के सल्लाह दिनुहुन्छ ?
शिक्षा क्षेत्रमा यति लामो बन्द विरलै हुन्छ । हाम्रोमा हुने लामो विदा भनेको दशैँदेखि तिहारसम्मको विदा हो । हिँउँदे वर्षे विदा पनि यतिधेरै हुँदैन थियो । यस अर्थमा यो समयमा धेरै विद्यार्थीहरु तनावमा पनि हुन सक्छन् । विशेष सहरमा एउटा कोठा लिएका विद्यार्थी अभिभावकसँग भए पनि र एक्लै भए पनि तनावमा छन् । परिक्षाको तयारी गर्दै गरेका र परीक्षाको मुखैमा भएका विद्यार्थीहरु पनि तनावमा छन् । यो स्वाभाविक नै हो । यसो भन्दैमा यस्तो विपत्को घडीमा हामीले तनाव व्यवस्थापन गर्न सकिएन भने यसले दूरगामी असर पार्न सक्छ । तसर्थ आम मानवले आत्मबल बलियो बनाएर धर्यपूर्वक बस्नुपर्ने अवस्था छ ।

यस बेला अभिभावक र विद्यार्थीहरुले धेरै कुरा गर्न सकिन्छ । आफ्नो रुचिको काम गर्न सकिन्छ । चित्र बनाउने, साहित्य सिर्जना गर्ने, गाउने नाच्ने आफूभित्र कुनै पनि कला भए ती कलामा परिष्कार ल्याउने, मनपरेको पुस्तक पढ्ने, आफ्नो घरको र छरछिमेकीका पुस्तकालयमा भएको पुस्तक साटफेर गरेर पढ्ने । आफ्नो उमेर क्षमता बढाउने विचार र सिद्धान्त एवम् व्यवहारप्रधान चलचित्र हेर्ने, रेडियो सुनिरहने गर्नाले यस्तो समयलाई आफ्ना जीवनमा उपयोगी बनाउन सकिन्छ । इन्टरनेटको पहुँच भएका ठाउँमा सिक्ने कुरा धेरै भेटिन्छन् । आफूसँग कस्तो सामग्री पढ्ने वा हेर्ने भन्ने ज्ञान भएन भने अग्रजहरुलाई सोधेर थाहा पाउन सकिन्छ । अहिले पाठ्यक्रम विकास केन्द्रले धेर्रै सामग्रीहरु इन्टरनेटमा सहज बनाइदिएको छ । अरु संस्थाहरुले पनि विद्यार्थी केन्द्रित सामग्रीहरु उत्पादन र प्रसार गरिरहेका छन् । काठमाडौँमा मेट्रो एफ एमले दूरशिक्षा कार्यक्रम ल्याएको छ । त्यसरी नै काठमाडौँ बाहिर पनि स्थानीय सरकारहरु र प्रदेश सरकारहरु केही न केही प्रयत्न गरिरहेका छन् ।

यहाँ अभिभावकहरुलाई चाहिँ के कस्तो सुझाव दिनुहुन्छ ?
मेरो दृष्टिमा अभिभावकहरु पहिलो गुरु हुन् । विद्यालय केही समय बन्द हुँदैमा बालबालिकाको भविष्य बरबाद भइहाल्छ भन्ने मलाई लाग्दैन । विद्यालय सर्टीफिकट लिने ठाउँ भए पनि व्यवहारिक शिक्षाको ज्ञान लिने ठाउँ घरपरिवार हो । बाबुआमासँग सिकेका व्यवहारिक ज्ञान, हजुरबा हजुरआमा र अरु परिवारका सदस्य एवम् आफन्तसँग सिकेका व्यवहारिक ज्ञानले जीवनलाई सफल बनाउँछ । आज परीक्षामा डिस्टिङसन ल्याउनेहरु व्यवहारिक जीवनमा प्रायः असफल छन् । यसको कारण अभिभावकबाट पाउने शिक्षा बालबालिकामा कम भएको हो भन्ने बुझ्छु म । यो समय अभिभावकहरुले आफ्ना छोराछोरीहरुसँग बिताउन पाएको सुनौलो अवसर पनि हो । हिजोका दिनका बच्चा नउठ्दै हिँडेको बुबा वा आमाबाबुले साँझ पनि बच्चा सुतिसकेपछि घरमा आउने अवस्था विशेष गरी सहरीया परिवेशमा थियो र भोलि पनि यस्तै हुने हो । त्यतिबेला आफ्ना सन्तानका लागि मरिमेट्ने बाबुआमाले छोराछोरीलाई पैसाले जीवन दिएको बुझिएको थियो तर संस्कार, सभ्यता र जीवन जीउने शैली कहिल्यै पैसाले किन्न सकिने वस्तु होइनन् । तसर्थ यस घडीमा प्रत्येक अभिभावकले आफ्ना सन्तानलाई बुझ्ने राम्रो मौकाको रुपमा लिनुपर्छ ।

सन्तानका भावना रुचि क्षेत्र बुझ्ने पनि यो अवसर हो भन्ने बुझ्नुपर्छ । हुन त यो आपत्कालीन समय नै हो तर त्यसो भनेर अभिभावकमै निराशा पैदा हुन थाल्यो भने मानसिक विचलन आउन सक्छ त्यसले परिवारमा शान्ति भन्दा पनि अशान्ति बढाउँछ । त्यसैले यो समयमा अभिभावले बालबच्चासँग खेलेर, सँगै खाना पकाउने र खाने गरेर सरसफाइका कार्यमा पनि बालबालिकालाई सहभागी गराएर सँगसँगै काम गर्न सके यो समयलाई सिर्जनात्मक र बहुउपयोगी बनाउन सकिन्छ । अहिले धेरै बालबालिकामा संगीत नृत्यतर्फ रुचि र चासो देखिन्छ । त्यसका अलावा लेखन, चित्रकला, वक्तृता अन्य क्षमता विकासमा सहयोग पुर्याउन सकिन्छ । हस्त लेखन राम्रो बनाउन सहयोग गर्नु पनि विशेष शिक्षा हो । राम्रो अक्षर हुने विद्यार्थी शिक्षाको साथीहरुको प्यारो हुने र परीक्षामा राम्रो अंक ल्याउने देखिएको छ । अभिभावकले फेसबुक चलाएर, फिलिम हेरेर बसेर चाहिँ बालबालिकालाई पढाउन सकिँदैन तर आफू पनि किताब हेरेर बस्यो भने बालबालिकाले गर्ने पनि त्यही हो । सानो घरायसी पुस्तकालयको अवधारणा विकास गर्नुपर्छ । बालबच्चालाई सफल र सबल बनाउने आधार भनेको पढाइ नै हो । मनोरञ्जनका साधनले व्यक्तित्व विकासमा उति सघाउँदैनन् ।

यसका लागि वर्षमा, छ महिनामा, तीन महिनामा, एक महिनामा एक हप्तामा बाल रुचिका पुस्तकहरु किनेर घरमा ल्याइदिनु राम्रो हुन्छ । पुस्तकबाट पाएको ज्ञान नै आजसम्म सबै भन्दा उपयोगी र दीर्घप्रभावी देखिएको छ । आफू पढ्न भ्याइँदैन भने पनि बिहान बेलुका आफू पनि पढ्न बस्ने समय मिलाउनु पर्छ । बालबालिकालाई पढ्न अभिप्रेरित गर्न सकिने सूत्रहरु अनेक हुन्छन् । जस्तै,
आफैले किताब किनेर लेखकले तिम्रोलागि पठाइदिएको छ भनेर खाममा राखी उपहारका रुपमा दिएर, 
समय समयमा पुस्तक पसल वा प्रदर्शनीमा लगेर छनोट गर्न लगाएर, 
राम्रो किताब घरमा ल्याएर पढ नभनी बालबच्चाले देख्ने ठाउँमा राखिदिएर, 
अरु पढ्नमा रुचि राख्ने साथीहरुसँग बारम्बार भेटाएर, 
पढाइमा रुचि राख्ने साथीको घरमा लगिदिएर, 
पढाइमा रुचि राख्ने साथी र उनका अभिभावकलई साथी बनाएर, 
बाबुआमालगायत परिवारका अन्य सदस्यबाट पुरस्कार प्रोत्साहनको व्यवस्था गरेर, 
घरमै थरिथरिका पुस्तकको सानो पुस्तकालय बनाएर, 
पढेको जानेको कुरो सँगै बसेर सुनिदिएर, प्रोत्साहित गरेर आदि । 
यी विविध रणकौशल अपनाएर बालबालिकालाई पुस्तकप्रेमी बनाउन सकिन्छ । पढ्नु भनेको पाठ्यपुस्तकको पाठ पढ्नु मात्र होइन । अहिले इन्टरनेटको पहुँच भएका ठाउँमा सुन्ने किताब पनि पाइन्छन् । राम्रा राम्रा किताबको चलचित्रीकरण पनि भएको हुन्छ । हामीले यी विविध पक्षबाट बालबालिकालाई अभिप्रेरित गर्न सक्छौँ । बालबालिकालाई उमेरअनुसार उनीहरुको मनोविज्ञान बुझेर व्यवहार गर्नुपर्छ । सबै कुरा आफू जानिँदैन तर बुझ्ने जान्नेहरुसँग परामर्श गरेर बालबालिकाका लागि सही मार्ग निर्देश गर्न सकिन्छ । उनीहरु काँचो माटो हुन् कस्तो आकृतिको भाँडो बनाउने त्यो भूमिका अभिभावकमा र शिक्षकमा हुन्छ । शिक्षकसँग भन्दा बढी अभिभावसँग समय वित्ने भएकाले अभिभावकको भूमिका अहम् देखिन्छ ।

भरखरै नेपाल सरकारले एसइइको परीक्षा नगर्ने निर्णय गरेको छ । सरकारको यस्तो निर्णयलाई कुन रुपले हेर्नुहुन्छ ?
आजको परिस्थिति र सम्भावनालाई हेर्दा यो निर्णयलाई गलत नै भनिहाल्न मिल्दैन । यसले शताब्दी लामो स्कुल शिक्षाको नेपाली समाज मनोविज्ञानलाई चिरेको छ । यसले अहिले तनावमा रहेका विद्यार्थीको तनाव व्यवस्थापन पनि गरेको छ । आज यो ठिकै भए पनि यसका केही असरहरु पछिसम्म रहिरहनेछन् । प्रतिष्पर्धामा राम्रो हुन्छु भन्ने विद्यार्थीका लागि यो केही न केही जस्तो भयो । ग्रेडिङको हिसाबले पनि यसको विश्वसनीय हिजोको एसइइ वा एस.एल.सी जस्तो नहुने देखियो ।
मैले अलि अगाडि अन्नपूर्ण पोस्टमा प्रकाशित एउटा लेखमा पनि भनिसकेको छु ।

हाम्रामा एस.एल सी वा एस.इ .इ पास भनेको निम्न वर्गीय परिवारका सन्ततिका लागि रोजगारी गर्न सक्ने जनशक्ति तयार गर्नु पनि थियो । अब त्यो बाह्र कक्षापछि मात्र सम्भव हुने देखियो । यो अहिलेको विशेष परिस्थितिको निर्णयको टिक्का टिप्पणी गरिरहन आवश्यक छैन तर यसको दीर्घकालीन असर के हुन्छ ? शिक्षा प्रणाली, शिक्षाको व्यापारीकरण वा सेवामूलक विकासका पक्षमा यसको असर के रहन्छ भन्ने पक्षमा चाहिँ सचेत रहनुपर्छ । जुन स्कुलबाट एसइइ पास गरेको हो त्यही स्कुलमा ११ पढ्ने व्यवस्था भए यो ठुलो कुरा हुने थिएन । तर म परिस्थिति हेर्दा उही भद्रगोल हुने देखिरहेको छु ।

आन्तरिक मूल्यांकनको आधारमा विद्यार्थीलाई दिईने अंक कतिको विश्वासिलो वा भरपर्दो हुन्छ ?
विद्यालयले सेन्टप गराउँदा केही त आधार बनाएकै हुन्छ । त्यही मूल्याङ्कनलाई आधार मान्दा हिजोको जस्तो विश्वसनीय चाहिँ बन्दैन । आजसम्मको इतिहासमा यो फलामे ढोका मानिँदै आएको थियो । शिक्षा पढाइ के हो भन्ने थाहै नपाउने अभिभावकले पनि आफ्ना बालबच्चालाई पढ्ने अवसर दिने र लगानी पनि गर्ने पर्वका रुपमा यो थियो । अब यो मनोविज्ञान बाह्र कक्षामा पुग्दा कसो हुन्छ । त्यो समयले देखाउला । हाम्रो ग्रेडिङ सिस्टम विकसित मुलुकका लागि दास उत्पादन गरिदिने सिस्टम जस्तो बनिरहेको छ । त्यसमाथि विद्यालयले दिएको ग्रेडिङले भोलि प्रमाणपत्रअनुरुपको जीवन यापन नहुने सम्भावना बढ्छ । यसकुरालाई मध्यनजर गर्दै विद्यालयले कक्षा दशका विद्यार्थीको शैक्षिक मूल्याङ्कन गर्नु आजको आवश्यक छ । आफ्नो हातमा डाडुप्युन्यू छ भन्दैमा खानेकुराको सन्तुलन नमिलाउदा आफैलाई असर पार्ने काम गरेर विद्यार्थीलाई ग्रेडिङ गरेर विद्यार्थीलाई दूरगामी असर पार्ने कार्य गर्नु अनुचित हुनेछ ।

के यसमा विश्वास गर्ने प्रयाप्त आधार छ ?
हो यस्ता प्रश्न उठ्ने सम्भावनालाई हेरेर बेलामा विवेक पुर्याइनु पथ्र्यो । जब विश्वमा यो महामारी फैलँदैछ । हाम्रा छिमेकी मुलुकमा समस्या आइसकेको छ भन्ने अवस्था भइसकेपछि जसरी स्कुलका अरु परीक्षा पाँच गतेभित्र सक्ने निर्णय गरियो त्यसरी एसइइलाई पनि अलिकति समय तानेर गराइहाल्नु पथ्र्यो ।

आलोचनात्मक दृष्टिले हेर्दा कोरोनाको संक्रमण नफैलिएको अवस्थामा नै सम्पूर्ण तयारी पूरा भैसकेको एसइइ परीक्षा स्थगित गर्ने निर्णय अदूरर्दर्शी थियो । त्यो पनि एक दिन अगाडि मात्र स्थगन गर्नु अझ ठुलो कमजोरी थियो । यसको अर्थ हाम्रामा जोखिम न्युनीकरणको क्षमता कम छ । हाम्रामा विज्ञ एवम् अनुभवी सल्लाहकारविनाका मन्त्रालय छन् । हाम्रामा विज्ञ विनाका विभागहरु छन् । अहिले आएर परीक्षा गराउँछु भन्दा पनि दसैँ बित्ला जस्तो भएपछि विद्यार्थी र अभिभावकमा हुने तनावलाई केही कम गर्न यो कदम चालिएको छ । यसका फाइदा वेफाइदा क्रमशः देखिँदै जान्छन् ।

निकै मिहिनेत गरी परीक्षामा उत्कृष्ठ अंक ल्याई सबैको लोकप्रिय बन्न चाहाने विद्यार्थीका लागि त यो बालुवामा पानी खन्याएझै भएन र ?
हो नि । उनीहरुले यो मिहिनेतलाई वेकार मान्न सक्छन् । वास्तवमा पढेको ज्ञान खेर जाँदैन । वेकार मानिहाल्नुपर्ने अवस्था हुँदैन । प्रतिष्पर्धाबाट टप टेनमा आउने थिएँ भन्ने विद्यार्थीले यो घटनालाई सधैँ तितो रुपमा सम्झने छन् । कमजोर विद्यार्थीले अवसरका रुपमा सम्झने छन् । विश्वाव्यापी दृष्टिले हेर्दा आजको स्कुल शिक्षा कक्षा १२ सम्म नै हो । १२ कक्षाको बोर्ड परीक्षालाई नै विद्यालय स्तरको पछिल्लो परीक्षा मानिने भएको हुँदा राम्रो पढ्ने विद्यार्थीका लागि १२ कक्षाको नतिजाले हौसला दिने छ । अरु विद्यार्थीहरुलाई पनि राम्रो गरेर विद्याथय स्तरको परीक्षा उतीर्ण गर्ने धेरै समय रहेको छ । यसलाई अहिले माथिल्लो कक्षा पढ्नका लागि राज्यले दिएको अवसरका रुपमा दिनु नै राम्रो हुन्छ ।

एसइइसँंगै कक्षा ११ मा पनि परिक्षा नहुने कुरा छ नि यस विषयमा चाहीँ यहाँको धारणा के छ ?
कक्षा ११ को परीक्षा पालिका स्तरको संयन्त्र बनाएर लिए पनि हुन्छ वा विद्यालयलाई नै लिन दिए पनि हुन्छ । अब विद्यालय शिक्षा कक्षा १२ सम्म हुने भन्ने वित्तिकै कक्षा ११ पुरानो कक्षा नौ जस्तै त भयो नि । अहिले इसइइकै निर्णयले कति खुशी छन् कति दुः खी पनि । अहिलेको समय परिवेष यस्तै छ । यसो गर्दा लामो समयदेखी तनाब खेपिरहेका विद्यार्थी भाइबहिनीहरुलाई राहत चाहिँ मिल्छ तर ११ र १२ को नतिजालाई आधार मानेर प्रमाणपत्र दिइने परम्परामा यसले असर गर्छ । यदि कक्षा ११ को परीक्षा आन्तरिक हुन्छ भने ती विद्यार्थी कक्षा १२ मा पुगेपछि उनीहरुको १२ कक्षाको बोर्ड परीक्षाको अङ्कका आधारमा मात्र शैक्षिक प्रमाण पत्र दिने व्यवस्था गरिनुपर्छ ।

यो नियम नियमित कक्षामा सहभागी विद्यार्थीको हकमा त लागू होला तर आंशिक विद्यार्थीहरुका लागि चाँहि कसरी मापन गर्ने ?
यसमा धेरै समस्या छन् । ती समस्याका समाधान त्यति सजिलो कुरा होइन । परिस्थितिअनुसार चल्नै पर्दा त्यस्ता विद्यार्थीहरुलाई गत वर्षको नतिजालाई हेरेर विवेक पुर्याइनुपर्छ । अहिलेको शिक्षा नीतिमा ग्रेड वृद्धिलाई महत्व दिएको छ । ती विद्यार्थीलाई पनि भवितव्यले सिर्जना गरेको अवसरमा विजयी गराउनु नै उत्तम हुन्छ । तर अर्को वर्ष पुनः एसइइ गर्ने हो भने यस वर्षको असर दीर्घकालीन हुन्छ । अब खारेजै गर्ने हो र कक्षा १२ को कोर्सअनुसारको प्रमाणपत्र दिने हो भने केही फरक पर्दैन ।

अहिले विश्व आधुनिकतासंगै विद्यार्थीका लागि नेपालमा पनि अनलाईन कक्षा सञ्चालन गरिने भन्ने कुरा बाहिर आएको छ यसले नेपाली विद्यार्थीलाई कतिको सहज बनाउँछ ?
अनलाइन कक्षा विश्वविद्यालय र महाविद्यालयको शिक्षामा ठुलो कुरा होइन । प्रयोग गर्न थालेका संस्थामा हामी प्रयोग गरिरहेका छौँ र सफल पनि भइरहेका छौँ । विद्यालयका हकमा यो जटिल कुरा हो । यसले समग्र विद्यार्थीको दश प्रतिशत समेट्न कठिन छ । गाउँठाउँमा दुरी मिलाएर बिहान दिउँसो कक्षा फुटाएर पढाउनै पर्छ होला । सहरमा चाहिँ यसलाई पनि शिक्षाको माध्यम बनाउन सकिने देखिन्छ तर एउटै कोठामा परिवारसहित बस्ने बालबालिका, शिक्षक, अभिभावक सबैलाई समस्याको विषय हो यो । सबैले इन्टरनेट चलाउन सक्तैनन् भन्ने पनि बुझ्नुपर्छ तर यो स्वप्न दृष्टिबाट पछाडि हट्नुभने हुँदैन ।
म यस विषयलाई गम्भीरतापूर्वक सुनिरहेको, पढिरहेको बुझिरहेको र प्रयोग पनि गरिरहेको छु । यसका लागि इन्टरनेटको पहुँच, गुणस्तरीयता, बिजुलीको उपलब्धता र आवश्यक प्रविधिको ज्ञान सीप आदि अनेक पक्ष जोडिएर आउँछन् । यी विविध पक्षको अभाव हुँदाहुँदै विश्वविद्यालय, क्याम्पसदेखि स्कुलसम्मले सुरु गरेको अनलाइन कक्षा देखावटी र लहड बनिरहेका छन् । सरकारी स्कुलले सुरु नै गरेका छैनन् । निजी स्कुलले व्यवसायिक धर्मअनुरुप सुरु गर्दैछन् तर यसले सबैका पहुँचमा शिक्षालाई पु¥उने बाटो दिन सकेको छैन ।

काठमाडौंका कतिपय निजी स्कुलले वैशाखको पहिलो हप्तादेखि नै अनलाइन कक्षा सुरु गरे । निजी विद्यालयको छाता संस्था प्राइभेट एन्ड बोर्डिङ स्कुल अर्गनाइजेसन नेपाल (प्याब्सन) ले लकडाउन सुरु भएकै दिन ११ चैतमा अनलाइन माध्यमबाट पढाउन विद्यालय र अभिभावकलाई आग्रह ग¥यो । उसले भन्न त भन्यो तर अनलाइनका लागि चाहिने पूर्वाधारबारे केही ख्याल गरेन । कुनै तालिम गोष्ठी, प्रविधि सम्मेलन आदि गरेन । यता निजी शिक्षण संस्थाले ‘मार्केटिङको टुल’ नै अनलाइन कक्षालाई बनाए । उनीहरुले शैक्षिक सत्रलाई निरन्तरता दिएको देखाउन पनि अनलाइनबाट शिक्षा सुरु गरे ।

केही विद्यालयका क्लस्टरहरुले तालिममो व्यवस्था पनि गरे । तर त्यसले आमा शिक्षामा खास टेवा पुर्याउन सक्तैन । यहाँ सहर र पहुँचवालाको मात्र कुरा आउँछ । नेपाल भनेको गाउँठाउँको मुलुक हो । मैले उपत्यकामा बसेर अनलाइन कक्षा सफल छ भन्नु मैलाई अन्याय गर्नु हो । मेरो जन्मभूमिमा अहिलेसम्म इन्टरनेट पहुँच छैन । त्यो ठाउँ दुर्गम भनेर परिभाषित भने हुँदैन । म मेरा मावली र आफन्तहरुसँग इन्टरनेटमा जोडिइसकेको छैन । नेपाल इन्टरनेतको पहुँचमा पुग्न समय लाग्छ ।

विश्वविद्यालयको कुरा गर्दा नेपालको जेठो विश्वाविद्यालय त्रिभुवन विश्वविद्यालयले पनि वैशाख ८ गते हो क्यारे सूचना निकाल्दै मातहतका विभाग र क्याम्पसलाई अनलाइन कक्षा सञ्चालनको वातावरण बनाउन परिपत्र ग¥यो । उसले सम्बन्धन प्राप्त निजी क्याम्पसमा अनलाइन कक्षा धमाधम सुरु हुन थालेपछि त्रिविले ‘अनलाइन कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७’ तयार पार्यो । त्यसलाई कार्यकारी परिषद्बाट स्वीकृत पनि ग¥यो । निर्देशिकामा त्रिविका पूर्णकालीन अध्यापकलाई त्रिविबाहेकका स्कुल, कलेजका अनलाइन कक्षामा सहभागी हुन नपाइने उल्लेख छ । यसअघि त्रिविका शिक्षकले अनुगमन निर्देशनालयको अनुमति लिएर अन्य कलेजमा पनि अध्यापन गराउँदै आएका थिए । यो पाटो पनि छँदैछ । त्रिभुवन विश्वविद्यालयले सबै कक्षा चलाउन सकेको छैन । विशवाविद्यालयका प्राध्यापकलाई अन्य संस्थामा काम गर्नबाट रोक्न पनि सकेको छैन् । मैले पढाएका कक्षामा पनि स्नातकमा स्नातकोत्तरमा जति प्रभावकारी बन्न सकेको छैन । यो स्वप्न दृष्टि भने राम्रो छ । विद्यालयमा भन्दा माथिल्लो तहका लागि राम्रो हुन्छ । यसले शिक्षण पेसालाई मर्यादित बनाउने र प्रविधि मैत्री बनाउने सम्भावनालाई भने हामीले बिर्सनु हुँदैन ।

के त्रिविले जारी गरेको निर्देशिकाअनुसार पठनपाठन भएको छ त ?
छैन नि । अनलाइन कक्षाका समयमा शिक्षक विद्यार्थीले औपचारिक पोसाक लगाउनुपर्ने, विद्यार्थी, शिक्षक र कर्मचारीले आचारसंहिता उल्लंघन गरेमा कारबाही गर्ने प्रावधान निर्देशिकामा छ । सञ्चालित अनलाइन कक्षालाई नियमित कक्षासरह पाठ्यभारमा गणना गर्ने निर्णय कार्यकारी परिषद् र प्राज्ञिक परिषद्ले गरिसकेको छ । शिक्षक तथा विद्यार्थीको हाजिरीसमेत राख्न विश्वविद्यालयले निर्देशन दिएको छ । त्रिविका अधिकांश विभाग र क्याम्पसले जुमबाट अनलाइन कक्षा चलाउँदै आएका छन् । कक्षा र हाजिरीको प्रमाणित सम्बन्धित विभागीय प्रमुखले गर्नुपर्ने व्यवस्था गरिएको छ । सोही हाजिरीका आधारमा शिक्षकलाई पारिश्रमिक र विद्यार्थीलाई परीक्षामा सहभागी गराउने व्यवस्था गरिने निर्देशिका छ तर कार्यान्वयन भएको छैन । यो परम्परित चल्दै आएको विश्वविद्यालय हुँदा तत्काल प्रविधिमा जान कठिन हुनु स्वाभाविकै हो । प्राविधिक क्याम्पसहरु र खुल्ला विश्वविद्यालयले गरेका प्रयास भने ठिकै भएको बुझिन्छ ।  एक किसिम हेर्दा यो प्रविधि र शिक्षा नीति नै परिवर्तन गर्ने अवसर पनि हो । हेरौँ नेपाल सरकारले कसरी लिन्छ ।

शहर तथा इन्टरनेटको पहुँचमा हुनेहरुका लागि त अनलाई कक्षा उपयुक्त होला तर ग्रामिण क्षेत्रका विद्यार्थीका लागि त यो अलि उपयुक्त नहोला कि ?
मैले भनि पनि सकेँ । गाउँमा समस्या छ । बिजुली छैन । इन्टरनेट छैन । म जन्मिएको गाउँमा इन्टरनेटको पहुँच छैन । कर्णलीतिर पाँच प्रतिशत विद्यार्थी समेट्न सकिने देखिँदैन । केही महिना अलमलिएर केही हुँदैन । शैक्षिक सत्र नविग्रने गरी कक्षा चलाउनुपर्छ र अनलाइन कक्षाको प्रयासलाई पनि जारी राख्नुपर्छ । अनलाइनका नाममा पहुँचवालाका लागि शिक्षा भन्ने चाहिँ हुनुहुँदैन । भारतमा एउटा विद्यालयकी बालिकाले इन्टरनेट शिक्षा सुरु भएपछि इन्टरनेट चल्ने फोन नकिनिदिएकामा आत्महत्या गरिन् । यो अवस्था हाम्रामा पनि आउन सक्छ । एउटा इन्टरनेट चल्ने फोन किन्ने वा ल्यापटप किन्ने पैसा वर्षभरि कमाउन नसक्ने अभिभावक छन् र उनैका पाँच सात जना बालबच्चा छन् । समस्या यो मात्र होइन अरु पनि छन् । हाम्रामा इन्टरनेटको प्रयोग पनि सदुपयोग भन्दा बढी दुरुपयोग र आर्थिक भारका रुपमा भइरहेको छ ।

लकडाउनले प्रभाव पारेको शिक्षण क्षेत्रलाई पहिलाको जस्तै अवस्थामा फर्काउन राज्य तथा सम्बन्धित क्षेत्रले कस्तो भूमिका खेल्नु पर्ला ?
पुरानो अवस्थामा फर्काउने होइन नेपाली शिक्षामा आमुल परिवर्तनको खाँचो छ । हाम्रै छिमेकी भुटान जस्तो राजतन्त्रात्मक मुलुकामा समेत शिक्षा र स्वास्थ्य निशुल्क छ । हाम्रो सरकार समाजवादी व्यवस्था भन्छ । सर्वहाराको सरकार भन्छ अनि यस्तो शिक्षा चलाउँछ । नेपाली समाजमा सहज उन्नति हुन नसक्नुको कारण, भ्रष्टाचार बढ्नुको कारण र अधिकांश विद्यार्थी विदेश मोहमा फस्नु र गैरधन्दामा लाग्नुको कारण शिक्षा क्षेत्रको व्यापक व्यापरीकरण देखिन्छ । राज्यले र राज्य चलाउने पाटीले आफ्नो घोषणापत्रअनुसार र देशको मूल कानुन संविधानले निर्दिष्ट गरेअनुसार शिक्षालाई चलाउन सकेको छैन । शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको निजीकरण र व्यापारीकरणको असर अन्य धेरै क्षेत्रमा छ । यसको मैले संकेत मात्र गरेँ ।

शिक्षाको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिएको भन्ने कुरा कसरी लागू भएको देख्नुहुन्छ ?
स्थानीय तहलाई शिक्षा दिने कुरा राम्रो हो । यो स्थानीय तहलाई शिक्षा जिम्मा दिएको भन्ने कुरा पनि व्यवहारतः लागू भएको छैन । एउटै टोलमा चारसय देखि ४० हजारसम्म फिस लिने विद्यालय छन् । स्थानीय पाठ्यक्रम पनि प्रभावकारी बन्न सकेको छैन । गाउँमा स्थानीय साधन स्रोतलाई उपयोग गरेर शिक्षा चेतनाका रुपमा त्यसको विकास गर्न सकिएको छैन ।

नेपालको समग्र शिक्षा व्यवस्थालाई चाहिँ यहाँले कसरी हेरिरहनुभएको छ ?
आजसम्म हामीले हामीलाई चाहिने जनशक्ति उत्पादन गर्ने शिक्षा दिएकै छैनौँ । हाम्रो शिक्षा प्रणालीमा आम परिवर्तनको खाँचो छ । कुनै क्षेत्रमा राष्ट्रिय योगदान गर्ने व्यक्तित्वहरु विश्वविद्यालयबाट डिग्री लिएका भन्दा स्वान्त सुखाय लागिरहेका व्यक्तिहरु बढी सफल देखिएका छन् । निजी विश्वविद्यालयले सेवा भन्दा व्यवसाय गरिरहेका छन् । यो सानो मुलुकमा बहुविश्वविद्यालयको अवधारणा आयो । हाम्रामा पढाइ भइरहेका कानुन, मानविकी, शिक्षा, व्यवस्थापन, विज्ञान आदि संकायमा उच्चशिक्षा हासिल गरेका विद्यार्थीले लोकसेवाको परीक्षा दिँदा आफूले अध्ययन गरेकोभन्दा विल्कुल भिन्न पाठ्यक्रमको आधारमा परीक्षा दिनुपर्ने अवस्था छ । औषधी विज्ञानको शिक्षा सेवामूलक शिक्षा नभई व्यापारिक शिक्षा बनिरहेको छ । लोकसेवा परीक्षामा प्रतिष्पर्धामा आउनको लागि काठमाडौंमा र प्रमुख सहरमा खुलेका निजी क्षेत्रका ट्युसन सेन्टरमा धाएर ठुलो धनरासी खर्चेर पढ्नै पर्ने अवस्था छ ।

अधिकांश निजी विद्यालयले शिक्षा सेवा गरिरहेको भने पनि अतिरिक्त आयका लागि त्यहाँ बिहान सातबजेदेखि साँझ सातबजेसम्म विद्यार्थीलाई इनगेज गराइरहेका छन् । कक्षामा पढाएर होइन ट्युसन पढाएर विद्यार्थी अब्बल बनाएको दावी गरिरहेका छन् । अनेक पुस्तकको भारी बोकाएका छन् । शिक्षकले न्यून तलबमा काम गर्नु पर्ने अवस्था छ । यता सरकारी विद्यालयहरुमा शिक्षकको तलब ठिकै छ तर उपलब्धी ज्यादै कमजोर छ ।

उच्च शिक्षाको कुरा गर्नुहुन्छ भने हाम्रो शिक्षा प्रणालीले दिएको डिग्री लिएपछि जापानिज भाषा, कोरियन भाषा, जर्मन भाषा , हिब्रु भाषा आदि सिकेर विदेसमा मजदुरी गर्न पुगिरहेका छन् । डिग्री त के विद्यावारिधि सकेको व्यक्तिलाई पनि राज्यले सही जिम्मेवारी दिन सकेको छैन । अलि होसले सुन्नुभयो भने अमेरिकन सञ्चार माध्यमहरु जोनहप्किन्स विश्वविद्यालयका अनुसार भनेर कोरोनाको डाटा दिन्छन् । चाइनिज सञ्चारमाध्यमहरु आफ्ना विषयगत विश्वविद्यालयका रिपोर्टका आधार लिन्छन् । जापानिज, कोरियन र अरु मुलुकका सञ्चार माध्यमले पनि आआफ्नो क्षेत्रका विश्वविद्यालयका रिपोटलाई महत्वसाथ सार्वजनिक गर्छन् र विश्वविद्यालयका अध्येताहरुलाई सन्दर्भ बनाउँछन् । हाम्रामा विश्वविद्यालयको कुन निकायले विज्ञहरुलाई अनुसन्धान गरायो ? हाम्रा सञ्चारमाध्यमले कहाँ अनुसन्धातालाई चिन्यो ? खोइ हाम्रामा अनुसन्धानहरु । खोइ अनुसन्धानहरुको समाज परिवर्तनमा प्रभाव । दुरदराजमा रहेका, आर्थिक रुपले विपन्न विद्यार्थीहरु अवसरबाट वञ्चित हुनु स्वाभाविकै हो । पहुँच हुनेलाई पनि सही ठाउँमा सही जिम्मेवारी दिइँदैन । यही शिक्षाको बाटो लथालिङ्ग भएकाले देशको बाटो पनि राजनीतिको बाटो पनि लथालिङ्ग भइरहेको छ ।

नेपालको शैक्षिक इतिहासमा लक्ष्मीप्रसाद देवकोटा र मोदनाथ प्रश्रित शिक्षामन्त्री भएका बेला केही ठोस काम भएका थिए । अहिले हुँदै गरेका काम पनि केही नयाँ छन् तर केही वर्ष यताको अभ्यासले शिक्षा क्षेत्र अस्तव्यस्त बनिरहेको छ । यहाँ शिक्षा सेवा गर्नेहरु छायामा र व्यापार व्यावसाय गर्नेहरु पर्दामा छन् ।  अहिलेको अवस्थामा मानिस कोरोनाभन्दा भोकमरीले मर्न थाले, ।भोलि जीवनको बाटो कसरी होला भन्ने चिन्ताले मर्न थाले भनिन्छ । यो विषयमा केही जानकारी पाऊँ न ।
हो । अहिले समाजमा अनेक समस्या देखिँदैछन् । भोकमरीले के कति नेपालीको मृत्यु भयो भन्ने डाटा छैन । विश्वमा यसको डाटा अपडेट भइरहन्छ । सम्भवतः नेपालमा प्रत्यक्ष भोकमरीले मान्छे मरेका छैनन् । अप्रत्यक्ष रुपमा भने भोकमरीले पनि मारिरहेको छ । अप्रत्यक्ष भनेको आत्महत्या हो । हालैको प्रहरी प्रतिबेदन अनुशार लकडाउन अबधिमा नेपालमा आत्महत्या गर्नेको संख्या ११०५ जना पुगेका छन् । झुन्डिएर मर्नेको संख्या ९३८ रहेको छ । बिष सेवन १४५ मरिसके । डुबेर ९ मरिसके । हतियार बाट ६ हाम फालेर ५ आगो बाट १ र करेन्ट बाट १ को मृत्यु भइसकेको छ । ती सबै मृत्यु आत्महत्या हुन् । यसको अर्थ समाजमा विभिन्न प्रकारको चिन्ता र उदासिनता छ भन्ने हो । चिन्ता र उदासिनताले आत्महत्या निम्त्याउँछ । ऋयखष्म ज्ञढ को पीडा संगै सरकारले यस क्षेत्रमा पनि ध्यान दिनु पर्दछ । यो विषय शिक्षा क्षेत्रसँग पनि जोडिएको छ । सानो बच्चा हुने शिक्षिकाहरु, साँघुरो कोठमा बस्ने विद्यार्थी र परिवारका सदस्यलाई अनलाइन कक्षाका क्रममा परिवारपरिवा भित्रै तनाव बढेको पनि देखिन्छ । यस्ता पक्षहरुबारे लामो छलफल गर्न सकिन्छ ।

अन्त्यमा विद्यार्थीको पढाइप्रतिको अभिरुचि र सिर्जनसिलता बारेमा यहाँले के सुझाव तथा जानकारी दिनुहुन्छ ?
विद्यार्थीलाई दिने सुझाव भनेको अघिल्लो प्रश्नमा अभिभावकलाई दिने सुझाव जस्तै हो । आफ्नो समयलाई आफ्नो रुचिको काम गरेर बिताउनु राम्रो हुन्छ । पढ्नुभनेको पाठ्यपुस्तक मात्र पढ्नु होइन । हामी अन्य सामग्री पनि पढ्न सक्छौँ । पत्रपत्रिका पढ्ने बानी लाग्यो भने पनि ठुलो कुरा हो । रेडियोमा समाचार सुन्ने बानी लाग्यो भने पनि ठुलो कुरा हो । अभिभावकलाई काम सघाउने र आफ्नो काम आफै गर्ने बानी लाग्यो भने पनि ठुलो कुरा हो । अबको पढाइ विदेशमा भासिने नभई यही केही उद्यम गर्ने हुन आवश्यक छ । म के गर्ने भनेर सोच्ने बेला पनि हो । यो ठुला कक्षाका लागि । साना कक्षाका लागि मैले अघि भनेको अभिभावक केन्द्रित सल्लाह वा उपाय उपयोगी हुन सक्छ । विश्व सन्दर्भ र इतिहासलाई हेर्दा यस्ता महामारीले विशेष प्रतिभाहरु जन्माएको पनि देखिन्छ । आफ्नो रुचिक्षेत्रमा लागिरहने अवसरका रुपमा लिने हो भने यो प्रतिभाहरुको उन्नयनको अवसर पनि हो ।

हवस् त सर, यहाँलाई विचारका लागि अनेक धन्यवाद ।
मेरो पनि धन्यवाद । अन्तर्वार्ता लिन योग्य देख्नु भएकामा थप धन्यवाद । तपाईँको सञ्चारमाध्यम अझ विकसित बन्न सकोस् । मूलधारको सञ्चार मध्याम बन्न सकोस् । यी कामनाका साथ अनेक धन्यवाद ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.