जेठ २९, काठमाडौं । गृहमन्त्रालयले पछिल्लो समय भइरहेका प्रदर्शनप्रति ध्यानाकर्षण भएको बताउँदै लकडाउनको पालना नगरे कारबाही गर्ने चेतावनी दिएको छ । गृह प्रवक्ता सह–सचिव केदारनाथ शर्माले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
गृहको विज्ञप्तिमा भनिएको छ, “केही दिन अगाडिदेखि विभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरुलाई सहभागी बनाउने, ज्ञापन पत्र दिन जाने आदि जस्ता कामका नाममा अनावश्यक भीडभाड गरी अप्रत्यक्ष रुपमा बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाएको प्रवृत्तिप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”
काम नपरी हिँडडुल गर्न नहुने, हिँडडुल गर्न वा आवागमन गर्नै पर्ने भएमा पनि न्यूनतम भौतिक तथा सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क लगायत स्यानिटाइजरहरु प्रयोग गर्नुपर्ने, अनावश्यक भीडभाड नगर्ने, नगराउने सरकारले भन्दै आएको भए पनि ती क्रियाकलाप लकडाउन विपरीत भएको गृहको ठहर छ ।
गृहले लकडाउनको पालना नगरे अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन,२०२० को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले १०० देखि ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्न सक्ने प्रावधान रहेको स्मरण गराएको छ । लकडाउन विपरीतका कुनै पनि काम कारबाही नगर्न आग्रह गर्दै सरकारले जारी गरेको आदेशको अवहेलना गरे प्रमुख जिल्ला अधिकारीले उक्त ऐनले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न बाध्य हुने चेतावनी पनि गृहले दिएको छ ।

