जेठ २५, काठमाडौं । काठमाडौंसहित मुलुकका विभिन्न जिल्लाबाट लागूऔषधसहित आठजना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका १५, चौमती बस्ने ४० वर्षीय नवीन शाहीलाई एक केजी चरेससहित प्रहरीले पक्राउ गरेको छ । घरमा लागूऔषध लुकाई राखेको चरेससहित महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै सर्लाही, मलंगवा नगरपालिका ८ बाट ८ केजी चरेससहित ३७ वर्षीय रामदुलर रायलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले शंकास्पद रूपमा मलंगवा बजारबाट भारतको सोनवर्षातर्फ जाँदै गरेको अवस्थामा फेला पारी छानबिन गर्दा निजले बोकेको बोराभित्र चरेस फेला परेको हो । उनकै बयानका आधारमा ज. १च १४०७ नम्बरको एम्बुलेन्स चालक मोहन राय यादव र नथुनी ठाकुरले सो चरेस भारत पुर्याइदिने बताएकाले उनीहरूलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ज.१च १४०७ नम्बरको एम्बुलेन्ससमेत नियन्त्रणमा लिई तलासी गर्दा एम्बुलेन्समा १३५ ग्राम चरेससमेत फेला पारेको छ ।
यसैगरी सर्लाही, धनकौल गाउँपालिका ३ बागमती नदी छेउबाट नियन्त्रित लागूऔषध वालटेक्स २ सय ६९ थानसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका १ का ३४ वर्षीय सुनील ठकुरी र बरहथवा नगरपालिका ५, हाथीडन्डा बस्ने २२ वर्षीय इन्दल राम छन् । बलराबाट राजघाट शंकरपुरतर्फ जाँदै गरेको ज.४प २०७४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस्तै पर्सा, वीरगन्ज महानगरपालिका १६, रजन्ती चोकमा ना.७ख ९७४४ नम्बरको ट्याङ्करबाट नियन्त्रित लागूऔषध कोरक्स १० बोतलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट तेल लोड गरी वीरगन्जतर्फ जाँदै गरेको ट्याङ्कर शंका लागि जाँच गर्दा लागूऔषध बरामद गरेको हो । ट्याङ्करसहित चालक र सह–चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

