असार ३१, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिँचाइमन्त्री एनपी साउदले महासमिति बैठकबाट राष्ट्रिय राजनीति र आन्दोलनका एजेण्डाहरु निर्धारण गरेर सशक्त ढंगले अघि बढ्नुपर्ने बताएका छन् ।
मुलुकमा भएका ठूला–ठूला परिवर्तनको नेतृत्व गर्दै आएको कांग्रेसका सामु फेरि आन्दोलनको नेतृत्व गर्नुपर्ने अवस्था आएको भन्दै उनले आन्दोलनको दृष्टिकोण बनाउन महासमिति बैठकबाट निक्र्यौलमा पुगेर सशक्त ढंगले अगाडि बढ्नुपर्ने बताए । ‘‘कांग्रेसजस्तो भाइटल शक्तिले अरु पार्टीको आन्दोलनमा चाहे त्यो मधेश आन्दोलन होस् चाहे त्यो डा। केसीको आन्दोलन होस्, त्यसमा प्रतिक्रिया दिने तहमा मात्रै नभएर समग्र रुपमा आफै आन्दोलनको नेतृत्व गर्नुपर्ने अवस्था छ,’’ नेता सावदले बाह्रखरीसँगको कुराकानीमा भने, ‘‘त्यसैले यसका बारेमा दृष्टिकोण बनाउन बहस चलाएर महासमिति बैठकबाट निक्र्यौलमा पुगेर सशक्त किसिमले अगाडि बढ्नु पर्दछ ।’’ कांग्रेस अहिले प्रमुख प्रतिपक्षी दलमात्रै नभएर नेपालको समग्र परिवर्तनकारी आन्दोलनसमेत भएको जिकिर गर्दै उनले राणा शासनदेखि नै कांग्रेसले मुद्दाहरु निर्धारण गरेर राष्ट्रिय राजनीतिलाई नयाँ बाटोमा डोर्याएको स्मरण गरे ।
माओवादीदेखि एमालेसँगको सहकार्यमा कांग्रेसले धेरै पटक एजेण्डाहरुसँग सम्झौता गरेको बताउँदै सावदले नेपालका समस्याहरु समाधानका लागि कांग्रेसले अव पार्टीको मार्गचित्र र एजेण्डा तय गरेर आन्दोलन सिर्जना गर्नुपर्ने अवस्था देखिएकोतर्फ संकत गरे । उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि लामो समयदेखि आन्दोलनरत डा। गोविन्द केसीको आन्दोलनलाई कांग्रेसले संसद र सडकबाट सघाए पनि त्यसको प्रत्यक्ष लाभ विवकशिल साझा पार्टीले लिने उल्लेख गरेका छन् । ‘‘हिजो संसद र सड़कमा हामीले मधेश आन्दोलनलाई साथ दियौ तर मधेशमा अधिकांश मत मधेश केन्द्रीत क्षेत्रीय दलहरूले पाए । अहिले हामीहरू डा। गोविन्द केसीको आन्दोलनलाई संसद र सडकमा साथ दिदैछौ, जसले विवेकशील साझा पार्टीको संगठन बिस्तारको अभियानलाइ मद्दत पुग्दैछ,’’ कांग्रेस
केन्द्रीय सदस्य सावदले सामाजिक सञ्जालमा लेखेका छन् । उनले अगाडि भनेका छन्, ‘‘तसर्थ नेपाली कांग्रेसको आजको चुनौती भनेको उत्पन्न तत्कालिक राजनीतिक घटनाक्रमहरूमा संसद र सडकबाट प्रतिक्रिया दिनु या अरूले गरेका आन्दोलनहरूमा सहभागिता जनाउनु मात्र होइन, बरू स्वयं आगामी महासमितिको बैठकबाट राष्ट्रिय राजनीति र आन्दोलनका मुद्दा (एजेण्डा) हरू निर्धारण गरेर सशक्त रूपमा अगाडि बढ्नु हो ।’’ नेता सावदले महासमितिबाट पार्टीले आगामी दिनमा अवलम्बन गर्ने एजेण्डाका बारेमा आन्तरिक रुपमा छलफल भइरहेको र कांग्रेस केन्द्रीय समिति बैठकले निर्धारण गरेको समयभित्रै महासमिति बैठक बस्ने दावी गरे । कांग्रेसले आगामी भदौमा महासमिति बैठक बोलाउने निर्णय यसअघि नै गरिसकेको छ ।