एजेन्सी । विश्वकप फुटबलको तेस्रो स्थानका लागि बेल्जियमले इंग्ल्यान्डविरुद्ध सुरुवाती अग्रता बनाएको छ । बेल्जियमले खेलको चौथो मिनेटमा नै गोल गर्दै अग्रता बनाएको हो ।
बेल्जियमका लागि थोमस म्युनियरले गोल गर्दै अग्रता दिलाए । उनले खेलको चौथो मिनेटमा पाएको अवसरलाई सहि सदुपयोग गर्दै इंग्ल्यान्ड पोष्टको जाली चुमाए । रसियाको सेन्ट पिटर्सबर्ग रंगशालामा सुरु भएको खेलमा दुबै टिम जित हात पार्दै विश्वकपको तेस्रो स्थान हाशिल गर्ने लक्ष्यमा रहेका छन् । इंग्ल्यान्ड क्रोएसियासँग २–१ गोलअन्तरले पराजित हुदै विश्वकपको उपाधि दौडबाट बाहिरिएको हो । ५२ वर्षपछि विश्वकपको फाइनल नजिक रहेको इंग्ल्यान्डले आफ्नो सुरुवाती अग्रता जोगाउन नसक्दा सेमिफाइनलबाटै यात्रा टुंगिएको हो । त्यस्तै, फ्रान्ससँग १–० गोलअन्तरले पराजित हुदै बेल्जियमले पहिलो पटक विश्वकपको फाइनलमा पुग्ने अवसर गुमाएको थियो ।
यी दुबै टिम समूह जि मा रहेका थिए । समूह चरणको अन्तिम खेलमा एकआपसमा प्रतिस्पर्धा गरेका यी दुबै टिमले विश्वकपको तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेको हो । समूह चरणको खेलमा भने बेल्जियमले इंग्ल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेको थियो । बेल्जियमको जितमा एडनान जानुजाजले गोल गरेका थिए ।