जेठ १२, काठमाडौं । कोरोना भाइरसबारे बुझाइ र यसले पारेको प्रभावबारे जानकारी लिन काठमाडौँ महानगरपालिकाले गुगल फर्ममार्फत सर्वेक्षण थालनी गरेको छ।
कामपाको सहरी योजना आयोगले यस कार्यको शुरु गरेको हो । यसका लागि तीन वटा क्षेत्र छुट्याइएको छ । कोभिड–१९ सम्बन्धी बुझाइ र यसले पारेको प्रभावको अवस्थालाई तथ्याङ्कमा लैजान उक्त अभ्यास गरिएको हो । सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार जनसाधारणलाई पहिलो क्षेत्रमा राखिएको छ ।
जनसाधारणलाई १३ वटा प्रश्न र तीनका वैकल्पिक उत्तरबाट बुझाइ र प्रभावका बारेमा जानकारी लिन खोजिएको छ । प्रश्नावलीमा कोरोना भाइरसको बुझाइ, सङ्क्रमणका बारेमा जानकारी प्राप्त गर्ने माध्यम, लकडाउनका समयमा के गर्दै हुनुहुन्छ ? परिवारका सदस्य कसैलाई सङ्कट पर्यो कि ? कोठा भाडा कुन–कुन महिनाको तिर्नुभयो ? जस्ता प्रश्न रहेका छन् ।

