असार ३०, काठमाडौं । काठमाडौँ महानगरपालिकाले उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । यात्रु चापको व्यवस्थापनका साथै वातावरणीय हिसाबले उपयुक्त हुने भएकाले विद्युतीय बस सञ्चालन गर्ने तयारीमा रहेको महानगरपालिकाले जनाएको छ ।
चीन सरकारको अनुदानमा त्यस्ता बस ल्याउने तयारी भइरहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतीय बस ल्याउने विषयमा अहिले चीनसँग निरन्तर छलफल भइरहेको छ । उपत्यकामा साना सार्वजनिक सवारी साधनभन्दा ठूला बसहरू सञ्चालन गर्दा यात्रु्लाई सहज हुनुका साथै ट्राफिक व्यवस्थापनमा सजिलो हुने भन्दै महानगरले ठूला बस सञ्चालनमा लगानी गरिरहेको छ । महानगरले साझा यातायातको बस थप गर्नका लागि अहिलेसम्म १५ करोड रुपियाँ लगानी गरिरहेको छ । सञ्चालनमा रहेका साना सार्वजनिक सवारी साधनहरू माइक्रोबस, ट्याम्पोलगायतको व्यवस्थापन गरेर मात्र ठूला बस सञ्चालन गर्नुपर्ने अवस्था रहेको प्रवक्ता कार्कीले बताउनुभयो । साना सवारीलाई उचित विकल्प दिएर सही व्यवस्थापन गर्न सके मात्र जाम कम हुने र यात्रुलाई पनि सहज हुन्छ, उहाँले भन्नुभयो । साना सार्वजनिक सवारी साधनको नयाँ दर्ता कार्य रोक्नुपर्ने महानगरले जनाएको छ ।
पछिल्लो समय संस्थागत रूपमा साझा यातायात, महानगर, सिटी मेट्रो, धुमबराही, मयुरजस्ता ठूलो बसहरू सञ्चालनमा छन् तर साना सवारीको व्यवस्थापन हुन नसक्दा सडक जाम झन् बढेको छ । कार्यालय समयमा यात्रुले बस नपाएर घण्टौँ कुर्नुपर्ने तथा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता नहटेको महानगरपािलकाले जनाएको छ । साना सवारीलाई विस्थापन गरी ठूला सवारी साधन सञ्चालन गर्ने भनिए पनि नीतिगत रूपमा यसको व्यवस्थापन अर्थात् कार्ययोजना भने बनाइएको छैन । महानगरपालिका, यातायात व्यवस्था विभागलगायतका निकायहरूले ठूला बस सञ्चालनमा जोड दिए पनि साना बसको व्यवस्थापनमा भने खासै चासो दिएका छैनन् । उपत्यकामा विद्युतीय बस सञ्चालन गर्दा चौतर्फी फाइदा हुने महानगरपालिकाले जनाएको छ । प्रवक्ता कार्कीका अनुसार यसले वातावरणीय प्रदूषण नगर्ने, यात्रुको चापलाई न्यूनीकरण गर्नुका साथै पेट्रोलियम पदार्थ हुने लगानीमा कम हुन्छ । पेट्रोलियम पदार्थको ढुवानी, तथा चुहावटको समस्यालाई पनि विद्युतीय बस सञ्चालनपछि रोकिने महानगरले जनाएको छ ।
लोडसेडिङ हटिसकेको र नेपाललाई आवश्यक पर्ने विद्युत् अबको एक वर्षमा आपूर्ति हुने सम्भावना रहेकोले महानगरले विद्युतीय बस सञ्चालनको योजना अघि सारेको हो । भाडादर पनि पेट्रोलियम पदार्थबाट चल्ने सवारीको विद्युतीय बसमा सस्तो पर्ने महानगरले जानकारी दिएको छ । विद्युत् नभएका कारणले विद्युतीय बस सञ्चालन हुन नसक्ने अवस्था अब नरहने महानगरपालिकाको अनुमान छ ।
–गोरखापत्र दैनिक

