जेठ ५ काठमाडौँ । काठमाडौँको कपन क्षेत्रमा आज विहानबाट गरिएको सिल फिर्ता भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९, को संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनलाई थप व्यवस्थित पार्न बुढानीलकण्ठ नगरपालिका अन्र्तगत कपन क्षेत्रमा रहेको तेन्जिङ चोकदेखि फैकाचोकसम्म सिल गर्ने भनिएको निर्णय उल्टिएको छ ।
आज विहान ८ बजेबाट सिल गरिएको उक्त क्षेत्रमा स्थानिय स्तरबाट आलोचना आएको र प्राविधिक कठिनाईका कारण सिल गर्ने निर्णय फिर्ता भएको हो । तर त्यस क्षेत्र अति जोखिमा रहेको भन्दै नगरपालिका अन्र्तरगत ४ वडाका अध्यक्षहरुको आकस्मिक बैठक बसी लकडाउनको स्वरुप परिमार्जन गरिएको छ ।
वडा १०, ११, १२ र १३ का अध्यक्षहरु क्रमशः नवराज भट्टराई, राजु अधिकारी, शम्भु प्रसाद भट्टराई, श्रीकृष्ण श्रेष्ठ र कपन प्रहरी चौकीका प्रहरी प्रमुख लगायतको उपस्थितमा बसेको सो बैठकले एक प्रेस विज्ञाप्ति जारी गर्दै लकडाउनलाई थप कडाई र प्रभावकारी बनाउन निर्णय गरिएको छ ।
छलफलको निर्णयबाट कपन क्षेत्रभित्रका निम्न स्थानहरुमा भिडभाड तथा व्यवसाय गर्न रोक लगाइएको छ ।
१. मिलनचोक तरकारी बजार एरिया, वडा नं. १०
२. आकाशेधारा ह्याण्डबल ग्राउण्ड एरिया, वडा नं. १०
३. बालुवाखानी चोकदेखि निखिलेश्वर पुलसम्म वडा नं. १०
४. रुद्रमति चोक÷भण्डारी गार्मेन्ट एरिया, वडा नं. १०
५. आर्दशनगर गेट, वडा नं. १२,
६. राधाकृष्ण मन्दिर वडा नं. १२
७. खरीबोट चोक वडा नं. १२
साथै खुल्ला स्थानमा तरकारी बजार तथा गाढामा तरकारी विक्रि वितरण र मासु पसलहरु पूर्ण रुपमा बन्द गरिएको छ । खाद्यान्न, पानी, औषधी तथा तरकारीको ढुवानी गर्ने गाडीहरुले अनाधिकृत रुपमा मानिसहरु ओसारप्रसार गरेमा कारवाही गरिने वडा अध्यक्षहरुको भनाई छ । वडाभित्र बाहिरी जिल्लाबाट आएका व्यक्तिहरुको सूचना नदिई लुकाई छिपाई गरेमा त्यस्ता व्यक्ति तथा घरधनीलाई कारवाही गर्ने र सूचना दिने व्यक्तिलाई रु. ५०० प्रोत्साहन स्वरुप पुरस्कार दिने निर्णय गरिएको छ ।
त्यस क्षेत्रमा विना काम घरबाहिर निस्किएको तथा हिडडुल गरेमा रु. ५०० जरिवानासहित कारवाही गरिने बताएको छ । साथै नगरपालिकाले तोकिए बाहेकका व्यवसाय तोकिएको समय बाहेक संचालन गरेमा कानुनबमोजिम कारबाही तथा रु. १००० जरिवाना गरिने प्रेस विज्ञाप्तिमा उल्लेख छ ।

