ट्रम्पले गरेको विदेश मन्त्रालयका उच्च अधिकारीको बर्खास्तीबारे तत्काल छानविन हुने

जेठ ४, वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्रालयका आइजी (इन्सपेक्टर जनरल) स्टिभ लिनिकलाई बर्खास्त गरेको घटनाको छानबिन हुने भएको छ ।

अमेरिकी सदनका शीर्ष डेमोक्रेटहरुले ट्रम्पले नियामक निकायका अधिकारीलाई निहित स्वार्थका लागि बर्खास्त गरेको आरोप लगाउँदै छानबिन गर्ने बताएका हुन् । स्टिभले विदेशमन्त्री माइक पोम्पेओले शक्तिको दुरुपयोग गरेको भन्दै अनुसन्धान सुरु गरेका थिए । सोही कारण ट्रम्पले उनलाई बर्खास्त गरेको हुनसक्ने अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनी बर्खास्त हुनुभन्दा अघि तल्लो सदनको विदेश सम्बन्ध समितिका अध्यक्षले स्टिभले विदेशमन्त्री पोम्पेओले शक्तिको दुरुपयोग गरेको भन्‍ने विषयमा अनुसन्धान थालेको बताएका थिए। शुक्रबार बर्खास्त गर्दै ट्रम्पले आफ्नो पूर्ण विश्वास उनमा नरहेको बताएका थिए । ट्रम्पको कार्यले डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुलाई आक्रोशित बनाएको छ । ट्रम्प कर्मचारीविरुद्ध लागि परेको उनीहरुले बताएका छन् ।

स्टिभलाई पूर्वराष्ट्रपति बाराक ओबामाले नियुक्त गरेका थिए । उनले विदेश विभागमा हुने गरेका खर्च तथा व्यवस्थापनमा हुने कमजोरीमाथि निगरानी गर्ने गरेका थिए । तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभ र माथिल्लो सदन सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टिभलाई बर्खास्त गरिएको समयमा गम्भीर चासो व्यक्त गर्दै तत्काल अनुसन्धानको घोषणा गरेको हो ।

यसैबिच शनिबार ह्वाइट हाउसले स्टिभलाई बर्खास्त गर्ने सम्बन्धी प्रस्ताव विदेश मन्त्री पोम्पेओबाट आएको र राष्ट्रपति ट्रम्पले त्यसमा सहमति जनाएको बताएको छ । अमेरिकी कंग्रेसका सदस्य इलिओट इङ्‌जेल र सिनेटोर बब मेनेन्डेजले ह्‍वाइटहाउस र विदेश मन्त्रालयलाई आगामी शुक्रबारसम्म स्टिभको बर्खास्तीका सम्पूर्ण विवरण पेश गर्न आग्रह गरेका छन् । – बीबीसी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.