नेपाली भूमि अतिक्रमणविरुद्ध तत्काल कदम चाल्नुपर्छ : प्रवक्ता श्रेष्ठ

बैैशाख २७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नु पर्ने बताएका छन् ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता श्रेष्ठले भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमाक्षेत्रमा सडक बनाएकामा आपत्ति प्रकट गर्दै सो माग गरेका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा आज ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले भने, “नेपाली भूमिमा सडक बनाई शुक्रबार उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भत्र्सना गर्दछु ।” उनले हामी सबै कोरोनाविरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणविरुद्ध सरकारले तत्काल कदम चाल्नु पर्ने धारणा व्यक्त गरेका छन् ।

भारतले एकतर्फीरूपमा नेपालको भूगोलमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्रबीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ । भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका थिए ।

नेपाल सरकारले नेपाली भूमिमा सडक निर्माण गरिएकोबारे स्पष्ट विवरण दिन दूतावासमार्फत आग्रह गरिएको स्पष्ट पारेको छ । यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गर्दै आएको छ । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्सा सार्वजनिक गरेपछि सरकारले केही अघि आपत्ति जनाएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.