भक्तपूरमा नयाँ मानिसको प्रवेश निषेध, गाउँगाउँका नाकाबन्द

बैशाख १७, भक्तपूर । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधिमा पनि गाउँगाउँमा नयाँ मान्छे आउन थालेपछि विभिन्न ठाउँका नाका बन्द गरिएका छन् ।

सूर्यविनायक नगरपालिकाको परोपकार शहरी स्वास्थ्थ केन्द्रबाट दधिकोट जाने मुख्य सडकमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ । सडकमा बाँसको तगारो राखेर सूचना टाँस गर्दै नयाँ मान्छेलाई प्रवेश निषेध गर्नुका साथै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । यो सडकमा दुई सातादेखि नै रोक लगाइएको हो । नयाँ मान्छेको ओहोर दोहोर बढेपछि कोरोना सङ्क्रमणको जोखिम पनि बढेको भन्दै स्थानीयवासीले लकडाउनका समयमा नयाँ मान्छे र जथाभावी सवारीसाधनको आवतजावत रोक्न यस्तो व्यवस्था गरिएको स्थानीयवासी सुरेश खड्काले जानकारी दिए ।

त्यसैगरी सूर्यविनायक नगरपालिका–५ कटुञ्जे लामडाँडा, भुजुटोल, सुशीला भैरवका स्थानीयवासीले लकडाउनलाई उल्लङ्घन गर्नेको सङ्ख्या बढेको भन्दै नाका बन्द गरेको छ । एम्बुलेन्स, दमकल लगायत अत्यावश्यक सवारी साधन र प्रेसबाहेक अन्य सवारी साधन चलाउन नपाइने र बाहिरका मानिसलाई गाउँमा प्रवेश निषेध गर्नेगरी बाटो बन्द गरेको स्थानीयवासीको भनाइ छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलको विभिन्न नाकामा स्थानीयवासीले बन्द गराएको वडाध्यक्ष किरण थापाले जानकारी दिए । उनले लकडाउनको व्यापक उल्लङ्घन भएको र नयाँ मान्छेको आवतजावत बढेको भन्दै स्थानीयवासीले आफ्नो गाउँटोलमा बाहिरका मानिसलाई प्रवेश निषेध गर्नुका साथै सवारी साधन बन्द गराएको बताए।

लकडाउनलाई कडारुपमा कार्यान्वयन गराउन वडा कार्यालयले समेत प्रत्येक टोलमा १०र१० जनाका दरले स्वयंसेवक परिचालन गरेको वडाध्यक्ष थापाले जानकारी दिए । गुण्डुको भित्री टोल जाने सडकमा पनि तगारो हालेर बाटो बन्द गरिएको छ । सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको धेरै टोलमा नयाँ मान्छेको प्रवेशमा रोक लगाउनुका साथै सवारीसाधन प्रवेशमा रोक लगाएको छ ।

त्यसैगरी चाँगुनारायण नगरपालिका–९ सौडोलमा पनि बाहिरका मानिसलाई आवतजावतमा रोक लगाइएको छ । सौडोलबाट खड्का गाउँ हुदै जाने सडकमा एकतर्फीरूपमा जान दिए पनि फर्कन भने नदिने गरेका छन् । सञ्चारकर्मीको टोली समाचार सङ्कलनका क्रममा पुग्दा जान दिए पनि सोही मार्ग भएर फर्कन भने नदिएको हो । मध्यपुरथिमि नगरपालिका–१ जडीबुटीस्थित बिपी आँखा अस्पताल क्षेत्र आसपासमा काठमाडौँ र भक्तपुर जोड्ने हनुमन्ते खोलाको फलामे पुलमा स्थानीयवासीले तगारो राखेर आवतजावतमा रोक लगाएपछि यसको व्यापक विरोध भएको छ । विरोधका कारण आठ दिनपछि प्रहरीको सक्रियतामा स्थानीयवासीले उक्त तगारो हटाएर आवतजावत सहज बनाएका छन् ।

अपरिचित नयाँ मान्छेको आगमन हुँदा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने जोखिम भएकाले स्थानीयवासीले आफ्नो गाउँ टोल छिर्ने नाकामा यसरी तगारो राखेर सडक बन्द गराई प्रवेश निषेध गरिएको छ । सिपाडोलका अंशुम कार्कीले कोरोना सङ्क्रमति एक जना नयाँ मान्छे गाउँ पसेमा सिङ्गो गाउँमा नै सङ्क्रमण फैलिन सक्ने जोखिम भएकाले आफ्नो गाउँका बासिन्दाको स्वास्थ्य सुरक्षाका लागि बाटो बन्द गराउनुपरेको बताइन् ।

स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर नै बाटो बन्द गराएको स्थानीयवासीको दाबी छ । सरकारले लकडाउन गरेको बेलामा यसै पनि आवतजावत रोकिनु पर्ने हो तर लकडाउनको उल्लङ्घन गर्दै बाहिरबाट अपरिचित व्यक्तिको आवतजावत देखिन थालेपछि बाटोमा तगारो राखेर बन्द गराएको स्थानीयवासीको भनाइ छ । यसले सरकारले लागू गरेको लकडाउनको कार्यान्वयनमा सहज बनाएको उनीहरुको दाबी छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय तहलाई जानकारी नदिई यसरी सडक बन्द गराउनु गैरकानूनी काम हो । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सडक बन्द गराएको कसैले उजुरी नदिएको जनाएको छ । सडक अवरोधले समस्या पर्यो भनेर स्थानीय तहमा पनि गुनासो आएको छैन ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.