नयाँ वर्ष २०७७को आगमनले यस प्रारम्भ खबर डटकमका सम्पुर्ण पाठक, शुभ चिन्तक, विज्ञापनदाता र देश बिदेशमा रहनुभएका नेपाली दाजुभाइदिदिबहिनीहरुमा सुख, सु-स्वास्थ्या एवम् सामाजिक समृद्धिको कामना गर्दछौं ।
नयाँ जोश, उमंग र आत्मविश्वासले प्रगतिका पाईलाहरु अगाडि बढ्न र सामाजिक उत्तरदायित्वबोधको विकास कायम गर्न सकोस् ।
।
मुलुक राजनीतिक, सामाजिक पक्षमा रूपान्तरित भई आर्थिक प्रगतिको आधार खुट्किलो चढ्दै थियो । व्यवस्थापकीय संरचना निर्माण भई व्यवहारिक अभ्यासमा गईरहेको परिपेक्षामा केही स्थानीय तहमा नौलोपन र क्षमताको अभावले जनताको कामकाजमा केही अप्ठ्यारो वातावरण सिर्जना भइरहेको सबैलाई सर्वविधितै छ, तर पछिल्लो समयमा विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) का कारण केन्द्र र स्थानीय तहका सरकारले गरेको अपरिपक्व र कार्यशैलीले आम नागरिकलाई असन्तुष्ट तुल्याएको छ ।
दिनप्रतिदिन कालोबजारी र भ्रष्टाचार मौलाएको बेला संकटको समयमा समेत यो गति रोक्न सकिएन । मानविय सम्वेदनशिललाई समेत कुठाराघात गर्दै आम नागरिकको मनोबलमा असर पुर्याउने कार्यले सारा नेपाली दुखी छन । गरिव जनता र परिश्रमी हातहरुको रगत र पसिनालाई समेत चुस्दै आफू मोटाउने प्रवित्तिका शासक र भ्रष्ट नेतृत्वले गर्दा अझै मुलुकलाई धुमिल पारिएको छ । राजनीतिक वृत्तमै गलत मनसायले चुर्लुम्मा डुबिसकेको हाम्रो नेपालमा एकपछी अर्को दलले सरकारलाई कमजोर बनाउने र आफू सत्तामा कसरी जाने भन्ने विषयमै समय बेथित गरिरहेका छन । यहाँ न त सरकारले गतिला काम गरेका छन न त प्रतिपक्ष दलहरूले नै । सबै आ-आफ्नो तरिकाले डम्फु बजाउदै स्वार्थको नालीमा डुबिरहेका छन् । चुनावी माहोल तताउन खर्चिएको ती अनगिन्ती रकम असुल्नै व्यस्त जनप्रतिनिधि र राजनितिक दलका गतिविधिले आजित बनेका नागरिक अब यतिकै चुप लागेर बस्ने दिन गएको छ । सार्थक समाजको निर्माणमा आफ्नो सामाजिक उत्तरदायित्व भुमिकालाई आत्मसात गर्न जरुरी देखिन्छ। भ्रष्टाचार र आर्थिक अनिमियतता गर्ने जुनसुकै दलका व्यक्तिलाई आफुले समर्थन गरेको छ भन्दै उन्मुक्ति दिने समय छैन ।
हरेक विकास निर्माण कार्यमा जनसहभागिता अनिवार्य रहने गरि जनताकै उच्च निगरानीमा कार्य सम्पादन गर्ने परिपाटीको विकास गर्नु आवश्यक छ । विकास निर्माण कार्यमा जनताको सहभागितालाई हस्तक्षेप गर्ने तत्वलाई परास्त गर्दै नागरिक स्वयम् अग्रपंक्तिमा उभिन सके मात्र खराब आचारणका व्यक्ती र व्यवस्थाहरुमा सुधार आउन सकिने छ । नागरिक दलहरुभन्दा माथी उठेर समाजको सामुहिक भावनाअनुरूप काम गर्नु महत्त्वपूर्ण विषय हो । समाजभन्दा माथी व्यक्ति हुदैनन् । समाजको साख जोगाउने दायित्व समाजमै बस्ने नागरिकले मनन गर्नु पर्छ ।
सार्वजनिक चासोको विषयमा सूचना माग्ने तपाईं सम्पुर्ण नागरिकको अधिकार रहेता पनि सूचना माग्ने अभ्यासबाट हाम्रो समाज निकै पछाडी नै रहेको हाम्रो ठम्याइ छ । सूचनाको हक नेपालको संविधानले नै मौलिक हकभित्र राखिएको छ तर पनि अभ्यास र चासोको कमजोरीका कारण थुप्रै सूचनाबाट नागरिक अन्योलमा परिरहेका छन यो एउटा भ्रष्टाचार गर्नेहरुको लागि खुशिको कुरा हो । जुन सूचना पाउनुपर्ने त्यसलाई लुकाएर जनभावना विपरीत काम गर्न पल्केका ब्वासोहरु दिनप्रतिदिन कागजी प्रक्रिया मिलाउदै देशलाई खोक्रो पारिसकेको छ । यसको एक मात्र औषधि उपचार अब जनताले सूचना माग्ने हिम्मत र आफ्नो अधिकार प्रयोग गर्नु हो । सहि सूचनाले खबरदारी गर्न आत्मविश्वास पैदा गराउछ । सरकारको नेतृत्व गर्ने व्यक्ती र कर्मचारीलाई समेत सजग गराउने सक्ने तपाईं नागरिक अबको नयाँ वर्षले खबरदारीका आवाजलाई बुलन्द पार्दै समाज र राष्ट्र परिवर्तनमा सहयोगी भुमिका खेल्न प्रारम्भ खबर आग्रह गर्दछ ।
अहिले कोरोनाको कहरमा विश्व नै त्रासमा छन । हाम्रो देश नेपाल पनि उच्च जोखिममा रहेको विश्व जनस्वास्थ्य संगठनले सूचना सार्वजनिक गरेको छ, कोरोना रोगको संक्रमणबाट हामी टाढा बस्न तथा यसको रोकथामका लागि सरकारले देशभर सामाजिक दुरि कायम राख्न आम नागरिकलाई घर बाहिर निस्किन रोक लगाएको छ । त्यसकै परिपालना गर्दै सुरक्षितसंग सबै जना घरभित्र बस्दै आएको पनि छ । लकडाउनको प्रवाह नगरी रातरात मजदुरहरु पैदल हिड्दै आफ्नो गन्तव्यतर्फ लागेको समाचार पनि आईरहेको छ । यस विषम परिस्थितिमा सरकार गम्भीर भइ विवेकपुर्वक कार्य सम्पादन गर्नु उचित देखिन्छ । सरकारले घोषणा गरेको लकडाउनको पनि उत्तिकै पालना गरि यो महामारीसंग लड्न सबै जना एकजुट हुन आवश्यक छ । स्वस्थ रहे सबै रहन्छ त्यसैले सम्पुर्ण महानुभावहरु सुरक्षित र सरसफाइमा विशेष ध्यान दिई आफ्नो कर्तव्य पूरा गराउन पनि अनुरोध छ ।
अन्त्यमा खोज , अनुसन्धान र पारदर्शी सञ्चारका लागि प्रारम्भले सत्य, तथ्यमा रहि पत्रकारिताको मूल्य र मर्मअनुरुप सहि सूचना सम्प्रेषण गर्ने विश्वास व्यक्त गर्दै जनप्रिय सञ्चार मध्यम बनाउने वाचासहित नयाँ वर्ष २०७७ ले तपाईं सम्पुर्णको मनमनमा खुशी, हर्ष र समृद्धि छाओस हार्दिक मंगलमय शुभकामना !!!
भिम लामा
प्रधान सम्पादक
एवम्
प्रारम्भ खबर परिवार ।

