विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार जो जहाँ छन्, त्यहीँको सरकारले व्यवस्थापन गर्नुपर्ने हुन्छ । “त्यहीअनुसार नै सीमापार रहेकालाई भारत सरकारले हेर्ने र वारि रहेका भारतीयसमेतलाई नेपाल सरकारले व्यवस्थापन गर्ने उच्चस्तरीय सहमति भएको छ”, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भन्नुभयो । उहाँका अनुसार माथिल्लो तहमा र स्थानीय तहमा कुराकानी भएको छ ।
यसअनुसार सीमापार रहेका नेपालीलाई भारत सरकारले व्यवस्था गर्ने र नेपालमा रहेका भारतीयलाई नेपाल सरकारले हेर्नेछ । घरभित्रै रहने र बाहिर ननिस्कने सरकारको कडा निर्देशनअनुसार दुवै देशका नागरिक घरभित्रै छन् । जथाभावी सीमा खुला गर्दा र नागरिक आवतजावतलाई बढावा दिँदा कोरोना सङ्क्रमणको जोखिम उच्च रहने भएकाले सीमा नखोल्ने र जहाँ छन् त्यहीँ व्यवस्थापन गर्ने रणनीति अपनाइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो ।
नेपालभित्र रहेकालाई शुक्रबारदेखि नै क्वारेन्टाइनमा राखिएको छ । पारि रहेकाको हकमा भारत सरकारले नै व्यवस्थापन गर्ने भनिए पनि हालसम्म नेपालकै तर्फबाट खानपानमा सहयोग भइरहेको छ ।

