१ सय १८ वर्षीय जेष्ठ नागरिक बाटुली लामेछानेलाई नागरिक अभिनन्दन

काठमाडौं, चैत ११ । नुवाकोट ककनी गाउँपालिका वडा नं. ८ कि १ सय १८ वर्षीय जेष्ठ नागरिक बाटुली लामेछानेलाई हिजो नागरिक अभिनन्दन गरिएको छ ।

चैत १० गते लामिछानेको १ सय १८ औं जन्म दिनको अवसरमा राष्ट्रिय नागरिक विकास समाजले लामिछानेलाई घरमै गएर अभिनन्दन गरेको हो । राष्ट्रिय नागरिक विकास समाजका अध्यक्ष महेशजंग कुँवरको सभापतित्व, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्र्तगतको जेष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यको प्रमुख आतिथ्यता र शिव तान्त्रिक गुरु बुद्धिकुमारको विशिष्ठ आतिथ्यता तथा सामाजिक अभियन्ता राजेश्वरी श्रेष्ठ र वातावरण अभियन्ता प्रकाश कुँवरको आथिथ्यतामा अभिनन्दन पत्र हस्तान्तरण गरिएको थियो ।

नागरिक अभिनन्दन पत्र हस्तान्तरण गर्नु हुँदै आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति महेशजंग कुँवरले ११० औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा १ सय १८ वर्षीय बाटुली लामिछानेलाई नागरिक अभिनन्दन गर्न पाएकोमा खुशि व्यक्त गर्नु हुँदै उहाँ सभ्भवतः विश्वकै जेष्ठ नागरिक हुन सक्ने भएकोले गिजिन बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सबैले पहल गर्नु पर्ने बताउनु भयो । विश्वव्यापि कोरोना प्रकोपको कारणले नागरिक अभिनन्दन कार्यक्रम भव्य बनाउने उदेश्य भए पनि संस्थागत रुपमा अतिथि सहित ७ जना र परिवारका केही सदस्यहरुको उपस्थितीमा मात्र कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

जेष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले संछिप्त मन्तव्य राख्नु हुँदै बाटुली लामिछाने विश्वकै जेष्ठ नागरिक हुन सक्ने भएकोले गिजिन बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन मन्त्रालयसँग सहकार्य समन्वय गर्ने कार्य कोषले गरिरहेको बताउनु भयो । उहाँले बाटुली लामिछाने फाउन्डेसन स्थापनाका लागि पनि कोषले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । शिव तान्त्रिक गुरु बुद्धिकुमारले १ सय १८ वर्षीय आमाको हातबाट आशिर्वाद लिन पाउँदा जीवनधन्य भएको बताउनु भयो । सामाजिक अभियन्ता राजेश्वरी श्रेष्ठले सो अवसरमा बाटुली लामिछाने फाउन्डेसन स्थापनार्थ ११ हजार १ सय नगद हस्तान्तरण गर्नु भयो ।

अभिनन्दन कार्यक्रम चैत ८ गते गर्ने निर्धारित कार्यक्रम राखिए पनि सो दिन रानीपौवा क्षेत्रमा परेको असिना सहितको ठूलो वर्षाको कारण यातायातको साधन रानीपौवाबाट जेष्ठ नागरिक बाटुली लामिछानेको घरमा जान नसकेपछि नागरिक समाजका प्रतिनिधि फर्किएका थिए । बाटुली लामिछानेको जन्म वि.सं. १९५९ चैत १० गते सिन्धुपाल्चोकको गिरानचौरमा भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.