आजदेखि नेपाल-भारतको ४ वटा नाका मात्रै खुला

चैत २, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणका लागि भारतले आजदेखि नाकाहरूमा कडाइ गर्ने भएको छ । भारतले नेपाल, बंगलादेश, भुटान र म्यानमारसँग जोडिएका २० वटा सीमा नाका मात्रै खुला गर्ने र त्यसमा पनि कडाइ गर्ने निर्णय गरेको हो ।

नेपाली र भारतीयहरुको आउजाउका लागि भने चार वटा नाकाहरुको प्रयोग गर्न दिइने छ। नेपालसँग सीमा जोडिएको उत्तराखण्ड राज्यको बनबासा-भिमदत्त महेन्द्रनगर, उत्तर प्रदेशसँग सीमा जोडिएको सुनौली-बेलहिया, विहार राज्यको रक्सौल-वीरगंज र पश्चिम बंगालको रानिगंज-काकरभिट्टा नाकाबाट मात्र नेपालीहरु भारत प्रवेश गर्न पाउने छन्। यी नाकामा स्वास्थ्य जाँचको बन्दोबस्त गरिएको पनि भारतीय सूचनामा उल्लेख छ।

बंगलादेश र म्यानमारका नाकाबाट त्यहाँका नागरिकको आवागमनलाई भने भारत सरकारले पूर्ण रुपमा बन्देज लगाएको छ।   यो व्यवस्था आइतवारदेखि अर्को सूचना जारी नगर्दासम्म कायम रहने भारतीय गृह मन्त्रालयले जनाएको छ।

भारतले यसअघि सबै विदेशी नागरिकहरुका लागि पर्यटक भिसा रद्द गर्ने जनाएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.