फागुन २१, ललितपुर । यौनहिंसाको आरोप लागेका पूर्वडीएसपी राजकुमार खिउजू पक्राउ परेका छन् । उनलाई महानगरिय प्रहरी परिसर ललितपुर प्रहरीले पक्राउ गरेको हो ।
उनी पक्राउ परेको ललितपुर प्रहरी स्रोतले जानकारी दिएको हो । पूर्वडिएसपी खिउजूलाई आज बेलुका उनकै गृह जिल्ला भक्तपुरबाट नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त, चापागाउँमा प्रहरी प्रमुख रहेका बेला पूर्वडीएसपी खिउजूले आफूमाथि पटकपटक यौनहिंसा गरेको एक युवतीको आरोप छ।
ती युवतीका अनुसार सुरक्षा गार्डको जागिर खान नजिकको प्रहरीबाट सिफारिस आवश्यक परेकाले खिउजुको सम्पर्कमा पुगे । चापागाउँमा डेरा गरी बस्ने ती युवतीले सोही समय खिउजुले आफ्नै कार्यकक्षमा जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरेकी छिन्। त्यसयता आफ्नो डेरामा पुगेर र आफ्नो नग्न तस्वीर र भिडियो खिची धम्क्याउँदै पटकपटक यौनशोषण गरेको युवतीको दाबी छ। ललितपुरकी २२ वर्षीया युवतीलाई पटकपटक करणी गरेको उजुरी परेपछि जिल्ला अदालत ललितपुरले खिउजूविरुद्ध २३ माघमा पक्राउ पुर्जी जारी गरिएको थियो ।

