काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सरकार मानवअधिकारप्रति पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयले आयोजना गरेको मानव अधिकार संरक्षण र नेपाल प्रहरी विषयक कार्यक्रममा गृहमन्त्री थापाले संविधानमै मानवअधिकारको संरक्षणबारे उल्लेख भएको बताए ।
गृहमन्त्री थापाले नेपाल प्रहरीमा कहिलेकाहीँ मानवअधिकारको प्रत्याभूतिमा कमी भएको प्रश्न उठ्ने गरेको भए पनि प्रहरीले विधि र पद्धतिमा रहेर काम गरिरहेको बताए । अपराधको जालो अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएकाले मानव अधिकार संरक्षणमा चुनौती थपिएको उनको भनाइ थियो ।
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी मानअधिकारको पक्षमा दृढ रहेको बताए । प्रहरी अनुसन्धान वस्तुनिष्ठ हुनुपर्ने र त्यसैबाट मानवअधिकारको पनि संरक्षण हुने उनले बताए । उनले भने, “व्यावसायिक निष्ठा, इमान्दारीता र राष्ट्रप्रतिको समर्पण भावले काम गर्ने हो भने मानवअधिकारको सम्मान स्वतः हुन्छ ।”