विक्रम श्रेष्ठ
असार २०, काठमाडौं । काठमाडौँको गोकर्नेश्वर नगरपालिकामा रहेको राष्ट्रिय सहिद तथा शान्ति पार्क स्मारक क्षेत्रको बेथितीबारे हामीले अघिल्लो हप्ता बास्तविक अवस्था सार्वजनिक गरेका थियौँ । त्यसको ठिक एक हप्ता पछि हामी पुनः सो क्षेत्र पुगेका छौँ ।
पार्क न पार्क जस्तो छ न पुरानै हरियाली जंगल जस्तो छ । यद्यपी अघिल्लो हप्ता भन्दा पार्क व्यवस्थापन समितिको घैँटोमा घाम लाग्न खोजे जस्तो देखियो । केही कामदारहरु पार्क भित्र सरसफाइ गर्दै थिए । अघिल्लो हप्ता पुग्दा यहाँ झार उम्रिएर हरियाली थियो, तर अहिले फुल रोपीएको रहेछ । यो राम्रो पक्ष हो तर अधिकांश फुलका यी विरुवाहरु पानीको अभावमा ओइलाउँदै मर्ने तरखरमा थिए ।
लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न १९ दिने जनआन्दोलनमा हाँसी हाँसी राज्यलाई बलि चढाएका महान् सहिदहरु र २०६३ साल असोज ७ गते ताप्लेजुङ घुन्सा हेलीकोप्टर दुर्घटनामा ज्यान गुमाएका २३ जना सहिदहरुको सम्झनामा राज्यले यहाँ पार्क निर्माण गर्ने जनाएको थियो । यसका लागि राज्यले करिव ४७ करोड रकम उपलब्ध गराएको छ । तर दृश्य स्वयम बोलीरहेको छ, भ्रष्टहरुको चंगुलमा कसरी फस्यो यो मोटो रकम ?
होइन भने ठेक्केदार किन बेपत्ता भयो ? यो ठेक्केदार कार्यक्षेत्रमा आउनै नसक्ने वातावरण कस्ले बनायो रु हरेक नेता र पार्टीलाई प्रतिशतका हिसावमा गोजी भर्ने सस्कारकै कारण यी ठेक्केदार कार्य क्षेत्रमा जान नसक्नुको एउटा बलियो कारण हो । भएको पैसा जति नेतालाई चन्दा बुझाउने गलत सस्कृतीले गोकर्णको यो पार्कलाई तहसनहस गरिदै छ ।
कामदारहरु विगत ४० दिन देखि काम गरिरहेका छन् । ठेक्केदार आउने आशमा बाटो बनाउने काम गरिरहेका छन् । तर अहिलेसम्म ठेक्केदारले नाक मुख देखाएको छैन । उनीहरु परिश्रमिक नपाउदा निराश छन् । आफुले गरेको श्रमको ज्याला पाएन भने पुनः निर्मित पार्क संरचना नै भत्काइदिने आक्रोश व्यक्त गरे । निर्दोष र मेहनति कामदारहरुको पारिश्रमिक माथि मनपरी गर्न पाइन्छ रु अझ पटक्कै चित्त नबुझ्ने कुरा त हरेक दिन प्राविधिक यही बसेर कामको गुणस्तरको निगरानी गर्नु पर्ने हो । तर यहाँ प्राविधिक नगएको कति दिन भयो यी कामदारहरुले समेत विर्सिसके । राज्यको सुविधा लिएर राज्यलाई यसरी ठग्नेहरुलाई कार्बाही हुनु पर्दैन र? ४६ करोड यसरी नै ठगी खानेहरुको पोल्टामा पुगेको छ । र पार्कको दुर्दशा यस्तो छ । न पार्क पार्क जस्तो छ, पुरानै हरियाली जंगल जस्तो छ । ठेक्दार सम्पर्क विहिन हुँदाको मार्का स्थानिय व्यवसायीलाई पनि परेको छ । रड्, सिमेन्ट जस्ता हार्डवेयरको सामान लगेका ठेक्केदार अहिले सम्पर्कमै नआउँदा ६ लाख रुपैयाँ घाटामा परेका छन् यी स्थानीय व्यवसायी लक्ष्मण श्रेष्ठ ।
अविभावक विनाको नाबालक जस्तो टुहुरो बनेको छ यो पार्क । पार्क भित्रको अनैतिक हर्कतहरु ऋझै रोकिएको छैन । कामदारहरु भन्छन्, यहाँ हेर्नै नसकिने आपत्तिजनक दृश्यहरु हरेक दिन देख्न विवश छौँ । पार्क त घुमघाम र शान्त बाताबरणका लागि हो । साथीसंगीहरु घुम्नकै लागि हो । तर यस्तो अश्लील हर्कतका लागि होइन । एक हप्ताका अन्तरालमा यहाँ यस्तो विकृती झन बढेको छ ।