फागुन ७, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको गागलमा पाँचौँ कागेश्वरी पर्यटन महोत्सव सम्पन्न भएको छ ।
फागुन ५ गतेबाट सञ्चालन भएको महोत्सवको आज अन्तिम दिन विशेष कार्यक्रम गरि सम्पन्न गरिएको छ । बाग्मति प्रदेश सरकार र कागेश्वरी मनोहरा नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको महोत्सवका प्रमुख अतिथि समेत रहेका नेकपा वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नवनियुक्त बाग्मति प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयाँललाई बधाई तथा शुभकामना दिएका छन् ।
नेता नेपालले ११ वर्ष अघि आफूँ सोही ठाउँमा पुगेको स्मरण गराउँदै कागेश्वरीधाम र गागल क्षेत्रमा पुनः उपस्थित हुन पाएकोमा खुशी व्यक्त गरे । गागल क्षेत्र पर्यटकीय सम्भावना बोकेको र प्रचारप्रसारको अभावमा ओझेल परिरहेको उल्लेख गर्दै त्यसै निर्वाचन क्षेत्रबाट निर्वाचित मन्त्री फुयाँललाई पर्यटन विकासलाई प्रर्वद्धन गरी स्थानीयहरुको आयअर्जनमा परिवर्तन ल्याउन सुझाए ।
बाग्मति प्रदेशले भौतिक पूर्वाधार तथा विकास मन्त्री पाएको छ अव प्रदेशको निर्माण कार्यले तिब्रता पाउनेमा विश्वास व्यक्त गर्दै पर्यटन प्रर्वद्धनका लागि आवश्य बाटो तथा सडक निर्माणमा स्थानीय जनताको पनि चासो हुन आवश्यक रहेको नेता नेपालले बताए ।

त्यस्तै महोत्सवका आयोजक समेत रहेका बाग्मति प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयाँलले राजधानीकै कर्णली र ओझेलमा परिरहेको स्थानको प्रचार तथा पर्यटकीय सम्भावनाको खोजीनीतिका लागि महोत्सवले सहयोग पु¥याएको बताए । विगत ४ वर्ष अघिदेखिको निरन्तरताको अभ्यास भएको उल्लेख गर्दै नेपाल भ्रमण वर्ष सफल पार्ने अभियानअन्र्तगत कागेश्वरी पर्यटन महोत्सवले सकारात्मक शन्देश प्रवाह गरेको बताए । मन्त्री फुयाँलेले विकास निर्माणको काममा जनताको विश्वास जित्ने काम गर्ने बताउँदै जनताकै साथ र अभियानमा लाग्ने प्रतिबद्धता गरे ।

वडा १ का अध्यक्ष मकुन्द गजुरेल सभापति रहेको उक्त कार्यक्रममा नगरप्रमुख, उपप्रमुख लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु अतिथि रहेका थिए । साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम समेत भएको त्यस महोत्सवका दोस्रो दिन भएको कविता लेखन तथा वाचन प्रतियोगीतामा उत्कृष्ठ प्रतियोगी र सहभागी विद्यार्थी, कवि एवम् साहित्यकारहरुलाई समेत प्रमाणपत्र वितरण गरेका थिए । महोत्सव क्षेत्रका स्टलहरुमा स्थानीय फापरको रोटी, दुध, दही, च्याउँ लगायत हस्ता कलाहरु पनि प्रर्दशन तथा विक्रिमा राखेका थिए ।

