प्रारम्भ खबर ।
फागुन ५, काठमाडौँ । पटक–पटक मन्त्री भएको समाचार तथा बधाईका पात्र बनिरहेका नेकपा बाग्मति प्रदेशका संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँल यो पालि भने मन्त्री पदमा नियुक्त भएका छन् ।
यसअघि दुई पटक मन्त्री भएको हल्ला विभिन्न सञ्चारमाध्यममा आए पनि पार्टीभित्रका आन्तरिक कारण देखाई मन्त्री बन्न रोक्ने प्रयास भएका थिए । आज भने तीनै फुयाँल औपचारिक रुपममा भौतिक पूर्वाधार तथा विकास मन्त्री भएका छन् । मन्त्री फुयाँलले आजै सपथ लिई कार्यभार समेत सम्हालेका छन् ।
यसअघि सो मन्त्रालय सम्हालेका केशव स्थापितलाई मुख्यमन्त्री डोरमणिले हटाएका थिए । स्थापित र मुख्यमन्त्रीबीच विवाद भएपछि उनी हटाइएका हुन् । स्थापितलाई हटाएसँगै मुख्यमन्त्री डोरमणिले सो मन्त्रालय सम्हाल्दै आएका थिए । रामेश्वर मन्त्री बनेसँगै प्रदेश संसदीय दल प्रमुख सचेतकको जिम्मेवारी अर्का सांसद् दीपक निरौलालाई दिने नेकपाको तयारी रहेको छ ।
काठमाडौंको क्षेत्र नम्बर ३ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका फुयाँल नेकपा केन्द्रीय सदस्य तथा हाल प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक हुन् । फुयाँल ०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा पनि विजयी भएका थिए । २०५४ मा काठमाडौंको जिल्ला विकास समिति उपसभापति बनिसकेका फुयाँल साविक आलापोट गाविसको पूर्वअध्यक्षसमेत हुन् ।

